अपाङ्गताहरूका लागि गुडिया तालिम शुरु

घोराही, ११ बैशाख । अपाङ्गता भएका व्यक्तिहरूका लागि पाँच दिने गुडिया तालिम शुरु भएको छ । नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी शाखा दाङको आयोजना तथा घोराही उपमहानगरपालिका वडा नम्बर ९ को आर्थिक सहयोगमा बिहीबारदेखि गुडिया बनाउने तालिम शुरु भएको हो ।
संघका सभापति रूपावलीको अध्यक्षता तथा वडा नम्बर ९ का अध्यक्ष चैतुकुमार चौधरीको प्रमुख आतिथ्यमा शुरु भएको तालिममा सहभागीलाई सीप सिकेर आयआर्जनमा जोडिन आग्रह गरिएको छ ।
सीप सिकाउँदै आत्मनिर्भर बनाउन वडा कार्यालय लक्षित समुहलाई पहिचान गरेर तालिम आयोजना गरेको भन्दै वडा अध्यक्ष चौधरीले अवसरको अधिकतम उपयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा सदस्य पूर्णबहादुर डाँगी र टोल अध्यक्ष विराज क्षेत्री लगायत बोल्नु भएको थियो । नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी शाखा दाङका विक्रम तामाङले सहजीकरण गर्नुभएको तालिमको प्रमुख प्रशिक्षक विष्णु थापा रहनु भएको छ ।