बैशाख १९ गते प्रदेश स्तरीय भाषिक तथा सांस्कृतिक सङ्गोष्ठी हुने

घोराही, ११ बैशाख । राप्ती साहित्य परिषद् केन्द्र, दाङले बैशाख १९ गते आफ्नो ४८ औँ स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेश स्तरीय भाषिक तथा सांस्कृतिक सङ्गोष्ठीसहित स्रष्टा सम्मान, पुरस्कार वितरण र १५ औँ अधिवेशन गर्ने भएको छ ।
परिषद्का केन्द्रीय अध्यक्ष डा. टीकाराम उदासीको अध्यक्षतामा बसेको बैठकले परिषद्को स्थापना दिवससँगै लुम्बिनी प्रदेश स्तरीय भाषिक तथा सांस्कृतिक सङ्गोष्ठीसहित स्रष्टा सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न विभिन्न उपसिमितसमेत गठन गरि जिम्मेवारी बाँडफाँड गरेको छ ।
परिषद्को ४८ औँ स्थापना दिवस तथा २५ औँ साधारणसभा र १५ औँ अधिवेशन भव्य रुपमा सम्पन्न गर्न उपसमिति गठन गरि जिम्मेवारी बाँडफाँड गरेको हो ।
जस अनुसार, कार्यक्रम व्यवस्थापन उपसमिति संयोेजकमा परिषद्का वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा, आर्थिक व्यवस्थापन उपसमिति संयोजकमा टीकाराम उदासी, भोजन तथा आवास उपसमिति संयोजकमा गोपाल भुसाल अभिलाषी, प्रचारप्रसार उपसमिति संयोजकमा आदिम केसी, अतिथि सत्कार उपसमिति संयोजकमा पुरुषोत्तम खनाललाई जिम्मेवारी तोकिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजना तथा राप्ती साहित्य परिषद्को सहकार्यमा बैशाख १९ गते हुने लुम्बिनी प्रदेश स्तरीय भाषिक तथा सांस्कृतिक सङ्गोष्ठीका लागि प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीलाई प्रमुख अतिथि बनाउने निर्णय भएको परिषद्का केन्द्रीय अध्यक्ष उदासीले बताउनुभयो ।
स्रष्टा सम्मान एवम् पुरस्कार वितरणमा २४ जना स्रष्टा पुरस्कार र केही साहित्यिक संस्थालाई सम्मान गरिने भएको राप्ती साहित्य परिषद्ले जनाएको छ ।
पुरस्कृत हुनेमा प्रा.डा. बाबुराम आचार्यसहित २४ जना श्रष्टा रहेका छन् । २०८१ सालको राप्ती साहित्य पुरस्कारबाट दाङका प्राध्यापक डा. आचार्य, २०८० सालमा प्रकाशित १८ थुङ्गा नामक जीवनी विधाको कृतिका लागि दाङका पद्मप्रसाद शर्मा राप्ती साहित्य सिर्जना पुरस्कारबाट पुरस्कृत हुन लाग्नु भएको छ ।
यसैगरी, नन्दहरि साहित्य पुरस्कारबाट दाङका सुरेशकुमार पाण्डेय, डोमादेवी साहित्य पुरस्कारबाट दाङका शशीधर भण्डारी, दीलसरी दल अतिरिक्त साहित्य पुरस्कारबाट रोल्पाका मोहित श्रेष्ठ पुरस्कृत हुन लाग्नु भएको छ ।
परिषद्ले देवीचन्द्र साहित्य पुरस्कारबाट बाँकेका डा. हरिप्रसाद तिमिल्सेना, अयामुकुन्द प्रज्ञा पुरस्कारबाट प्युठानका नारायण गौतम, गोपाल चन्द्र प्रज्ञा पुरस्कारबाट दाङका हरिप्रसाद पाण्डेय, हरिप्रसाद मिना पाण्डेय कला साहित्य पुरस्कारबाट दाङका केबी चौधरी, खोबिलाल हुकुमादेवी छन्द पुरस्कार दाङका गिरीराज खनाललाई पुरस्कृत गर्न लागेको छ ।
पद्मप्रसाद रुपसा प्रज्ञा पुरस्कारबाट दाङका अभि क्षेत्री समर्पण, तिलका तुलसीराम आचार्य स्मृति पुरस्कारबाट बुटबलमा प्रा.डा. कपिल लामिछाने, चक्रपाणि लोकेश्वरी छन्द पुरस्कारबाट दाङका कपिलकिशोर घिमिरे, नित्यानन्द प्रज्ञा पुरस्कारबाट प्युठानका सुमन सुवेदी, चन्द्रमधु गीत संगीत पुरस्कारबाट दाङ देउखुरीका यादवनाथ योगी, ओपेन्द्र रत्नशोभा साहित्य पुरस्कारबाट रुकुम पश्चिमका भुपेन्द्रा मल्ल, प्रेमनारायण सावित्रा हेमकुमारी प्रज्ञा पुरस्कारबाट रोल्पाका अमर अधिकारीलाई पुरस्कृत गरिने भएको परिषदले जनाएको छ ।
श्रीबहादुर दीलमाया साहित्य पुरस्कारबाट रुकुमपूर्वका कर्णबहादुर बुढा मगर, टेकबहादुर सुवर्ण राजभण्डारी साहित्य पुरस्कारबाट बाँकेका महानन्द ढकाल, जीवनचक्र साहित्य पुरस्कारबाट सल्यानका हिरालाल केसी, पं. कपिलमुनि भक्तकुमारी शिवादेवी स्मृति स्रष्टा सम्मानबाट सल्यानकी बिनु बुढाथोकी, ऋषि लक्ष्मी साहित्य पुरस्कारबाट पश्चिम रुकुमका खेमराज खड्का, गोमादेवी स्मृति कला पुरस्कारबाट दाङकी दीपा बुढा र विष्णुनुमा साहित्य पुरस्कारबाट दाङका मनिष गिरी ‘ऋतु’लाई पुरस्कृत गरिने भएको छ ।
यसैगरी, दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान तुलसीपुर, कवि धर्मराज बैरागी देउखुरी, अग्रज साहित्यकार मधुसुदन गौतम दाङ र नारी श्रष्टा बसन्ता शाह हापुरलाई सम्मान गर्न लागिएको छ ।