मेयर कप क्रिकेटको उपाधिका लागि वडा नम्बर ६ र १३ भिड्ने

घोराही, १५ बैशाख । घोराहीमा जारी अन्तर वडा स्तरीय मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि वडा नम्बर ६ र १३ भिड्ने भएका छन् ।
घोराही खेलकुद विकास समितिको आयोजना तथा दाङ क्रिकेट संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिता अन्तरगत सोमबार भएको पहिलो सेमिफाईनल खेलमा वडा नम्बर १३ ले वडा नम्बर १५ लाई ८ विकेटले र दोस्रो सेमिफाईनलमा वडा नम्बर ६ ले वडा नम्बर २ लाई ९ रनले जित्दै फाईनलमा प्रवेश गरेका हुन् ।
घोराही १७ गुलरियास्थित घोराही क्रिकेट मैदानमा भईरहेको प्रतियोगिता अन्तरगत पालिकाभरमा १० वटा वडाको सहभागीतामा बैशाख १२ गतेदेखि खेल शुरु भएको हो । जस अनुसार समुह ‘ए’ बाट वडा नम्बर ६ र समुह ‘बी’ बाट वडा नम्बर १३ उपाधि नजिक पुगेका हुन् ।
पहिलो सेमिफाईनलमा टस जितेर पहिले ब्याटिङ गरेको वडा नम्बर १५ सस्तैमा समेटियो । ९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै वडा नम्बर १५ ले जम्मा ३२ रन बनायो । वडा नम्बर १५ लाई सस्तैमा समेट्न मजोज पुनले ६ विकेट र सुभम खनालले ३ विकेट लिनुभयो । वडा नम्बर १३ ले ३३ रनको सामान्य लक्ष्य १० ओभरमा २ विकेट गुमाउँदै सहजै पूरा गर्यो ।
यसैगरी, दोस्रो सेमिफाईनलमा वडा नम्बर ६ ले टस जितेर पहिले ब्याटिङ गर्दै १८ ओभरमा सबै विकेट गुमाएर १ सय १० रन बनायो । १ सय ११ रनको विजयी लक्ष्य पछ्याएको वडा नम्बर २ ले २० ओभर खेल्दै ७ विकेटको क्षतिमा मात्रै १ सय १ रन बनाएपछि वडा नम्बर ६ ले ९ रनको जीत हासिल गरेको हो । अब उपाधिका लागि मंगलबार दिउँसो १ बजेपछि घोराही क्रिकेट रंगशालामा वडा नम्बर ६ र १३ भिड्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टीमले नगद ४० हजार, शील्ड मेडल र प्रमाण पत्र पाउने छ भने उपविजेता टीमले नगद २० हजारसहित शिल्ड मेडल र प्रमाण पत्र पाउने छन् ।
प्रतियोगितामा म्यान अफ द सिरिजलाई नगदसहित ट्रफी प्रदान गरिने छ भने म्यान अफ द म्याच, बेष्ट बलर, बेष्ट ब्याट्स म्यानलाई ट्रफी प्रदान गरिने अन्तर वडा स्तरीय टी–२० क्रिकेट प्रतियोगिता संयोजक देवबहादुर भण्डारीले जानकारी दिनुभयो । प्रतियोगिताका लागि जिल्लाभित्रका जिल्ला स्तरको प्रतियोगिता खेली सकेका अनुभवी खेलाडीलाई वडाको टीममा समावेश गरेर टीम बनाईएको छ ।