Ad Area

घोराही मेयर कप क्रिकेटको उपाधि वडा नम्बर १३ ले उचाल्यो


घोराही, १६ बैशाख । घोराहीमा भएको अन्तर वडा स्तरीय मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर १३ ले उचालेको छ ।
घोराही खेलकुद विकास समितिको आयोजना तथा दाङ क्रिकेट संघको प्राविधिक सहयोग एवम् समन्वयमा मंगलबार भएको फाईनल खेलमा वडा नम्बर १३ ले वडा नम्बर ६ लाई ५ विकेटले हराउँदै उपाधि जितेको हो ।

घोराही १७ गुलरियास्थित घोराही क्रिकेट मैदानमा भएको उपाधि भिडन्तमा वडा नम्बर ६ ले दिएको ८८ रनको मध्यम लक्ष्य वडा नम्बर १३ ले पाँच विकेटको क्षतिमा पूरा गर्दै उपाधि हात पारेको हो । टस जितेर पहिले व्याटिङ गरेको वडा नम्बर ६ ले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ८७ रन मात्रै बनायो । वडा नम्बर ६ का लागि भावेश अधिकारीले सर्वाधिक १४ रन जोड्नुभयो । गिरीराज नेपाली १० रनमा अविजित रहँदा आकाश पाण्डेले रन बनाएर आउट हुनुभयो । किशन भारतीले ११ रन, वीरबहादुर घर्तीले ८ रन जोड्नु बाहेक अरु खेलाडी सस्तैमा समेटिए ।

वडा नम्बर ६ लाई थोरै रनमा समेट्न सुशान्त सिंह थापाले चार विकेट लिँदा अमृत घर्तीले २ विकेट लिनुभयो । शुभम खनाल, मनोज पुन र दिनेश बोहराले समान १–१ विकेट लिनुभयो । ८८ रनको विजयी लक्ष्य पछयाउँदै ब्याटिङ गरेको वडा नम्बर १३ ले १५ ओभरमा पाँच विकेटको सहज जीत निकाल्यो ।

वडा नम्बर १३ का लागि शुभम खनालले अविजित ३८ रन बनाउँदै जीत दिलाउनुभयो । सुशान्त सिंह थापाले ११ रन, मनाृेज पुन र अमृत घर्तीले ७–७ रन बनाउँदा कैलाश घर्तीले ८ रन बनाउनुभयो ।

वडा नम्बर ६ का वीरबहादुर घर्ती, दक्ष ठाकुर, किशन भारती र केशव शर्माले समान १–१ विकेट लिनुभयो । प्रतियोगितामा १ विकेटसहित अविजित ३८ रन बनाउँदै वडा नम्बर १३ लाई उपाधि दिलाउन महत्वपूर्ण योगदान दिनुभएका शुभम खनाल प्लेयर अफ द म्याच हुनुभयो । प्रतियोगिता समापनका अवसरमा एक कार्यक्रम गरी विजेता टीम वडा नम्बर १३ लाई नगद ४० हजार, शील्ड मेडल र प्रमाण पत्र प्रदान गरिएको छ भने उपविजेता बनेको वडा नम्बर ६ को टीमलाई नगद २० हजारसहित शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । वडा नम्बर १३ ले यसअघि मेयर कप फुटबलमा वडा नम्बर १५ लाई हराउँदै उपाधि जितेको थियो ।

यसैगरी, प्रतियोगितामा प्लेयर अफ द टुर्नामेन्ट वडा नम्बर १३ सुशान्त सिंह थापा हुनु भएको छ । उहाँलाई नगदसहित ट्रफी प्रदान गरिएको छ भने बेष्ट बलर वडा नम्बर १३ शुभम खनाल, बेष्ट ब्याटर वडा नम्बर ६ का आकाश पाण्डे, इमर्जिङ प्लेयर वडा नम्बर १५ का प्रिन्स थापा हुनुभएको अन्तर वडा स्तरीय टी–२० क्रिकेट प्रतियोगिता संयोजक देवबहादुर भण्डारीले जानकारी दिनुभयो ।

वडा तहबाटै प्रतिष्पर्धा गरी खेलाडी उत्पादन गर्न र क्रिकेटको विकासका लागि घोराही खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गर्दै आएको समिति संयोजक नरेन्द्र पुनले बताउनुभयो ।

प्रतियोगिता अन्तरगत पालिकाभरमा १० वटा वडाको सहभागीतामा बैशाख १२ गतेदेखि खेल शुरु भएको हो । जस अनुसार समुह ‘ए’ बाट वडा नम्बर ६ र समुह ‘बी’ बाट वडा नम्बर १३ फाईनलमा पुगेका हुन् । फाईनलमा पुग्न वडा नम्बर १३ ले वडा नम्बर १५ लाई ८ विकेटले र वडा नम्बर ६ ले वडा नम्बर २ लाई ९ रनले सेमिफाईनलमा हराएका थिए ।

प्रतियोगिताका लागि जिल्लाभित्रका जिल्ला स्तरको प्रतियोगिता खेली सकेका अनुभवी खेलाडीलाई वडाको टीममा समावेश गरेर टीम बनाईएको थियो । गत संस्करणको मेयर कप क्रिकेटमा वडा नम्बर १५ ले वडा नम्बर १८ लाई हराउँदै उपाधि उचालेकाे थियो ।