दाङमा दुई सय बढी सवारी दुर्घटना, ६७ जनाको मृत्यु

चालु आर्थिक बर्षको नौ महिना
लीलाधर वली
घोराही, २३ वैशाख । दाङमा चालु आर्थिक बर्ष २०८१÷०८२ को नौ महिनाको अवधिमा सवारी दुर्घटनामा परेर ६७ जनाको मृत्यु भएको छ । चालु आर्थिक बर्षको साउनदेखि चैतमहिनासम्म जिल्लाका विभिन्न स्थानमा भएका दुई सय ५७ सवारी दुर्घटनामा ६७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५१ जना पुरुष, ११ जना महिला र पाँच जना बालबालिका रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।
गतआर्थिक बर्ष २०८०÷०८१ को सोही अवधिमा जिल्लामा एक सय ५८ वटा सवारी दुर्घटनामा ७६ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिएका छन् । प्रहरी निरीक्षक शाहीका अनुसार चालुआर्थिक बर्षको नौ महिनाको अवधिमा सवारी दुर्घटनामा तीन सय ७४ जना घाइते भएका छन् । जिल्लामा सवारी दुर्घटनामा बृद्धि भएपनि मृतकको संख्यामा कमी आएको बताए ।
विगतका बर्षहरुमा सवारी दुर्घटना हुँदा पनि प्रहरी कहाँ नपठाउने अवस्था रहेको भन्दै प्रहरी निरीक्षक शाहीले भने,‘अहिले दुर्घटना भएपछि तत्काल प्रहरीलाई सम्पर्क गर्ने अवस्था भएको छ, जस्ले गर्दा विगतका बर्षहरुको तुलनामा सवारी दुर्घटनाको संख्या बढेको देखिएपनि मृतकको संख्यामा कमी आएको देखिन्छ ।’ त्यससँगै चालकको लापरवाही, कमजोर सडकको अवस्था, क्षमताभन्दा बढी यात्रु बोक्ने, तिब्र गतिमा कुदाउने र भौगोलिक अवस्थाका कारण पनि जिल्लामा सवारी दुर्घटना हुने गरेको बताए । सडक दुर्घटना कम गराउन नियमित चेकजाँचसँगै ट्राफिक सचेनाका कार्यक्रमहरु सञ्चालन गर्दै आएको र नौ महिनाको अवधिमा जिल्लामा एक हजार दुई सय १५ वटा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको बताएका छन् ।
दुर्घटना हुनेमा दुईपाङ्ग्रे सवारीसाधन बढी
जिल्लामा सवारी दुर्घटना हुनेमा दुई पाङ्ग्रे सवारीसाधन बढी देखिएका छन् । चालु आर्थिक बर्षको नौ महिनाको अवधिमा भएका सवारी दुर्घटनाको तथ्याङ्कलाई हेर्दा दुई पाङ्ग्रे सवारीसाधन बढी दुर्घटना हुने गरेका छन् । जिल्लामा साउनदेखि चैत महिनासम्म भएका दुई सय ५७ वटा दुर्घटनामा मोटरसाइकल तथा स्कुटरको संख्या दुई सय २४ रहेको छ ।
त्यसैगरी जिप÷कार ३८ वटा, अटो २२ वटा, बस १९ वटा, ट्याक्टर १८ वटा, ट्रक तथा ट्यांकर १२ वटा, टिप्पर १० वटा र माइक्रो दुई वटा दुर्घटनामा पर्दा ६३ करोड ८३ लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ । ट्राफिक प्रहरीले जिल्लामा मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने आठ सय ४७ जना चालकलाई कारवाही गरेको छ । जसमा सवैभन्दा धेरै दुई पांग्रे सवारीासधन मोटरसाइकल चालकहरु रहेको प्रहरी निरीक्षक शाहीले बताए ।
त्यसैगरी ट्राफिक सचेतना सम्वन्धी जानकारीका लागि जिल्लामा सात सय ७८ वटा सवारीसाधनमा स्टिकर टाँस गरेको छ । प्रहरी निरीक्षक शाहीका अनुसार यो अवधिमा मोटरसाइकल मोडीफाइ गरेर चलाउने ५ वटा सवारीसाधनलाई थप कारवाहीका लागि यातायात व्यवस्था कार्यालय तुलसीपुर र ३१ वटा ध्वनी प्रदुषण गरि चलाउने मोटरसाइकललाई नियन्त्रणमा लिएर साइलेन्सर परिवर्तन गर्न लगाएको बताए ।
साथै घोराहीमा तीन पाङ्गे सवारीसाधनलाई व्यवस्थापनका लागि कार्यविधि निर्माणका लागि पहलद भइरहेको, घोराहीमै अटो रिक्सा व्यवस्थापनका लागि बजारमा विभिन्न स्थानमा पार्किङस्थल तोकेर अव्यवस्थीत रुपमा बजारमा जहाँ पायो त्यही पार्किङ गर्ने व्यवस्थीत गर्नेदेखि प्रतिष्ठानको अगाडी हुने ट्राफिक जामलाई हटाउन सफल भएको बताएका छन् ।