Ad Area

सीप सिक्दै उद्यममार्फत आत्मनिर्भर बन्दै महिला


छबि पुरी
घोराही, २३ बैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ ललौराकी उर्मिला चौधरी अहिले व्यावसायिक रुपमा कुखुरापालनमा व्यस्त हुनुहुन्छ । उहाँले लोकलदेखि गिरिराज प्रजातिका कुखुरा पालन गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ । हिजोका दिनमा घरको काम गरेर यत्तिकै समय बिताउनुभएकी उर्मिलाको दैनिकी अहिले फेरिएको छ ।

उर्मिलालाई मुक्त कमलरी विकास मञ्चले संचालन गरेको मुक्त कमलरी सशक्तीकरण परियोजना अन्तरगत दोस्रो चरणको कार्यक्रममार्फत प्रगति पशुपालन महिला समुहमा आवद्ध हुने अवसर मिलेपछि कुखुरापालनसम्बन्धी तालिम लिएर अहिले यसलाई व्यावसायिक बनाउनु भएको छ ।

सीप हातमा लिनुका साथै समुहमार्फत परियोजनाबाट गत वर्षको असोजमा घुम्ती कोषबाट ३० हजार रुपैयाँ सहयोग प्राप्त भएपछि लगानी थप्दै लग्नु भएको छ भने आम्दानी पनि बढाउनु भएको छ । ५ जना परिवारको घर खर्च उर्मिलाको कुखुरापालन व्यवसायबाट धानि रहेको छ ।

लमही नगरपालिका वडा नम्बर ८ असानीकी राजकुमारी चौधरीको दैनिकी पनि अहिले व्यावसायिक व्यस्ततामा बित्ने गरेको छ । सामान्य खेती किसानी गरेर गुजारा चलाउँदै आएको राजकुमारीको परिवारलाई अहिले व्यावसायिक सफलता मिलेकाे छ । मुक्त कमलरी विकास मञ्चले नै अघिल्लो वर्ष नायफ संस्थामार्फत प्रदान गरेको खाजा नास्ता बनाउने तालिमबाट अहिले उहाँले आफुमा आत्मविश्वास बढाउँदै लग्नु भएको छ भने आयआर्जनको आधार पनि बलियो बनाउनु भएको छ ।

१० दिने निशुल्क तालिमसँगै उहाँले २५ हजार रुपैयाँ बराबरको खाजा नास्ता बनाउने सामग्री निशुल्क पाउनुभयो । त्यसमा आफुले थप १० हजार बराबरको लगानी गरेर व्यवसाय थालनी गर्नुभएको छ ।

१० दिने खाजा नास्ता बनाउने तालिम लिएर व्यवसाय शुरुवात गर्नु भएकी राजकुमारीले दैनिक कम्तिमा पनि ७ हजार रुपैयाँको कारोबार गर्नुहुन्छ । १ वर्षअघि गृहिणी राजकुमारीले खाजा नास्ताको व्यापारबाट आम्दानी गर्दै आउनुभएको छ भने त्यही आम्दानीबाट उहाँको ५ जनाको परिवारको गुजारा पनि सहजै चलेको छ । खेतीपाती गरेको बचेको समय अत्तिकै खेर जाने अवस्थाबाट अहिले उद्यमी बन्न पाउँदा आफुलाई निकै खुशी लागेको र उत्साहित भएको राजकुमारीले बताउनुभयो ।

घोराही उपमहानगरपालिका वडा नम्बर १२ हापुरकी बिमला चौधरीको दैनिकी पनि अहिले फेरिएको छ । मुक्त कमलरी सशक्तीकरण परियोजनाले गठन गरेको त्रिवेणी महिला कृषक समूहमा आवद्ध भएर उद्यमी बन्न आवश्यक ज्ञान, सीप लिएर उहाँले आयआर्जन गर्न थाल्नु भएको छ । उहाँले तरकारी किनेर बिक्री गर्ने गरेको बताउनुभयो ।

गाउँघरमा उत्पादन हुने तरकारी खरीद गरेर बजारीकरणमार्फत राम्रो आम्दानी गर्दै आउनु भएकी बिमलाले यसअघि समुहमार्फत नै व्यवसाय सम्बन्धी तालिम लिनु भएको थियो । पाँच जनाको परिवार रहेको बिमलाको घर खर्च धान्ने यही पेशा बनेको छ ।

मुक्त कमलरी सशक्तीकरण परियोजनामार्फत गठिन समुहमा आवद्ध महिलाहरुले आफुलाई आत्मनिर्भर बनाउन कृषि, पशुपालन, व्यवसायलगायत काम गर्दै आएका छन् । सिकेको सीपलाई व्यवहारमा उतार्दै उद्यमी बनेर आत्मनिर्भर हुने अभिलाषाका साथ काम गर्दै आएकाहरुको क्षमता विकाससँगै आगामी व्यावसायिक योजना र मार्गदर्शनको काममा परियोजनाले सघाउँदै आएको छ ।

मुक्त कमली विकास मञ्चले परियोजनामार्फत मुक्त कमलरी, सिमान्तकृत, जनजाति, हिंसा पीडित, एकल महिलाहरुको उत्थानका लागि आयआर्जनमा आधारित कार्यक्रम गर्दै आएको छ । समुहमा आवद्ध लक्षित महिला तथा युवा क्लबका सदस्यहरुलाई अहिले आफ्नो व्यवसाय शुरु तथा सुधार सम्बन्धि ५ दिने तालिम दिन थालेको छ ।

मुक्त कमलरी विकास मञ्चको आयोजनामा मंगलबारदेखि घोराहीमा मुक्त कमलरी सशक्तीकरण परियोजनाको दोस्रो चरण अन्तरगत परियोजना लागू भएको घोराही, तुलसीपुर र लमहीका कृषक तथा पशुपालक समुहमा आवद्ध सदस्यहरुलाई व्यवसाय शुरु तथा सुधार सम्बन्धि तालिम दिन थालिएको हो ।

लमही क्षेत्रबाट ५ जना, घोराही क्षेत्रबाट ६ जना र तुलसीपुर क्षेत्रबाट १८ जना गरी २९ जना कृषक तथा पशुपालकहरुलाई उनीहरुको क्षमता विकाससँगै गर्दै आएको काममा थप सुधार ल्याउन तालिम प्रदान गरिएको मुक्त कमलरी विकास मञ्चकी अध्यक्ष हीरामोती चौधरीले जानकारी दिनुभयो ।

तालिम दिनु पनि आफैमा कार्यक्रमको सफलता हुने भन्दै यसबाट लिएको ज्ञान सीप व्यवहारमा उतारेर सफल उद्यमी बन्न सहभागीहरुलाई उहाँले अपिल गर्नुभएको छ ।

व्यवसायको शुरुवात गर्दा अपनाउनु पर्ने सावधानी, पूर्व तयारी र ज्ञान आवश्यक पर्ने हुँदा परियोजनामार्फत आवद्ध सदस्यहरुलाई व्यवसाय शुरु तथा सुधार सम्बन्धि तालिम दिने काम भईरहेको उहाँले बताउनुभयो ।

तालिमको प्रशिक्षकमा घोराही उपमहानगरपालिकाका उद्योग प्रवद्र्धन शाखाका चन्द्र बुढा र सोसेक नेपालका द्रोर्ण जिसी रहनु भएको छ ।कमलरी सशक्तीकरण परियोजनाले परियोजना लागु भएको घोराहीमा २० वटा समूह, लमहीमा १० वटा समुह र तुलसीपुरमा १० वटा समुह गरी ४० समुहमार्फत कार्यक्रम गर्दै आएको छ । २०२१ देखि लागू भएको उक्त परियोजनाबाट हालसम्म १२ सय बढी लाभान्वित भएका मुक्त कमलरी विकास मञ्चले जनाएको छ ।