दाङमा पहिलो पटक राष्ट्रिय खोखो प्रतियोगिता हुँदै

नारायण खड्का
दाङ, २५ वैशाख । तुलसीपुरमा खुल्ला पुरुष राष्ट्रिय खोखो प्रतियोगिता हुने भएको छ । खोखो संघ दाङले बुधवार तुलसीपुरमा पत्रकार सम्मेलन गरी वैशाख २६ देखि २८ गतेसम्म जिल्लामा पहिलो पटक खुल्ला राष्ट्रिय खोखो प्रतियोगिता हुन लागेको जानकारी दिएको हो ।
संघका जिल्ला अध्यक्ष बालकृष्ण शाहले प्रतियोगितामा सातवटा प्रदेशका टिम र एउटा नेपाल आर्मीको विभागीय टिमको सहभागिता हुने बताए । लिगकम नकआउट सिस्टमबाट खेल खेलाइने हुँदा हरेक टिमले हरेक टिमसँग खेल्ने छन् । आयोजकका अनुसार प्रतियोगिताका विजेताले ५० हजार, उपबिजेताले २५ हजार र तृतीय हुने टिमले १० हजार रुपैयाँ पुरस्कारका साथै प्रमाणपत्र पाउने छन् । प्रतियोगिताका लागि नेपाल आर्मी, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको टिम बुधवार नै तुलसीपुर आइपुगेका छन् ।
प्रत्येक टिममा १२ खेलाडी र एक जना रेफ्री आउने आयोजकले जानकारी दिएको छ । ती बाहेक थप १२ जना रेफ्री रहने छन् । यसैगरी राष्ट्रिय प्रतियोगिता सकिएको दोस्रो दिन वैशाख २९ गते नेपाल र भारतबिच खेल हुनेछन् । भारतको एउटा टिम र नेपालका दुई टिमबिच प्रतियोगिता हुने छ ।
खोखो संघकी केन्द्रीय सदस्य तथा प्रशिक्षक उषा मगर कँवरले भारतसँगको प्रतिस्पर्धाका लागि नेपाली दुई टिमको छनोट गरिने बताइन् । प्रतियोगितामा आउने खेलाडीको वासस्थान र खाना खर्च आयोजक संस्थाले बेहोर्ने भएको छ । दाङ रहँदासम्म रेफ्री र खेलाडी तथा अफिसियललाई भत्तासमेत दिने बताइएको छ । त्यसका लागि झन्डै २७ लाख बढी खर्च हुने अनुमान गरिएको छ । हालसम्म संघले करिब १० लाख रुपैयाँ स्रोत सुनिश्चितता भएको बताएको छ ।
चार लाख तुलसीपुर उपमहानगरपालिकाबाट, पाँच लाख लुम्बिनी प्रदेश खेलकुद परिषद्बाट बजेट सुनिश्चिता भएको छ । यसैगरी तुलसीपुर क्षेत्रका व्यवसायी र वडा कार्यालयहरूबाट थप एक लाख रुपैयाँ जम्मा भएको जिल्ला अध्यक्ष शाहले बताए । ‘हामीले पाउने बजेट भनेको प्रतियोगिता पुरा भएपछि मात्रै हो’, उनले भने, ‘अहिले त हामीले आपसमै ऋण खोजेर कार्यसमितिबाट मिलेर रकम सङ्कलन गरेका छौँ ।’
गत जनवरीमा भारतमा भएको विश्व खोखो प्रतियोगितामा नेपाली पुरुष र महिला दुवै टिम उपविजेता बनेको हुँदा नेपालमा खोखोको चर्चा परिचर्चा सुरु भएको छ । सोही उत्साहलाई जोगाइराख्न आपसमा मिलेर खोखो संघ दाङले ऋण खोजेर भए पनि पहिलो पटक जिल्लामा पुरुष खुल्ला राष्ट्रिय प्रतियोगिता आयोजना गर्न थालेको खेल पत्रकार लक्ष्मण बस्नेतले कार्यक्रममा बताए । प्रतियोगिताको लागि सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ ।