प्रतिष्ठानले थप १७ वटा शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने

दाङ,२४ बैशाख । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी आर्थिक बर्ष २०८२÷०८३ देखि थप ४ वटा स्नातक तहका र १३ वटा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरु थप गर्ने तयारी गरेको छ । चालु आर्थिक बर्षमा एमविविएस सुरु गरेपछि आगामी आर्थिक बर्षमा थप कार्यक्रम सञ्चालनको तयारी गरेको हो ।
जसअनुसार स्नातकोत्तर तहमा एमडी÷ एमएस र एमएस्सि नर्सिङ गरेर १३ वटा शैक्षिक कार्यक्रम सञ्चालन गरिनेछ । प्रतिष्ठानले आगामी आर्थिक बर्षदेखि स्नातकतर्फ पब्लिक हेल्थ, विएससी एमएलटी, विएसस्सी एमआइटी, विओपिटी शुरु गर्ने तयारी गरेको प्रतिष्ठानका रजिष्ट्रार प्रा.श्याम लम्सालले जानकारी दिएका छन् ।
यसैगरेर प्रतिष्ठानले आगामी आर्थिक बर्ष २०८२÷०८३ देखि स्नातकोत्तर तहमा रेडियोलोजी, फिजियोलोजी, वायोकेमेष्ट्रि, प्याथोलोजी, पेडीयाट्रिक, नर्सिङमा थप ३ वटा, एमडी एमएसतर्फ ७ वटा सुरु गर्ने तयारी गरेको हो । ती शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्न प्रतिष्ठानले आफ्नै पाठ्यक्रमहरु विकास गर्नुपर्ने भएकाले विहिवार र शुक्रवार गरेर दुई दिने पाठ्यक्रम विकास गोष्ठि सञ्चालन गरेको छ ।
गोष्ठीको उद्घाटन राष्ट्रिय योजना आयोग सदस्य प्रा.डा आरपी बिच्छालेले गरेका थिए । रजिष्ट्रार लम्सालले प्रतिष्ठानको गति अव रोकिन सम्भव नरहेको र विस्तारै यसले विश्वविद्यालयको आकार ग्रहण गर्दै जाने बताएका छन् ।