सिकलसेल प्रभावितहरुलाई मनोसामाजिक परामर्श प्रदान

घोराही, २६ बैशाख । ग्रामीण महिला उत्थान केन्द दाङको पहलमा पहिचान भएका सिकलसेल प्रभावितहरुलाई मनोसामाजिक परामर्श दिईएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ स्थित फत्तेपुरमा सिकलसेल प्रभावितहरुलाई मनोसामाजिक परामर्श प्रदान गरिएको हो ।
संस्थाकी अध्यक्ष आसमानी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा मनोसामाजिक परामर्श भेरी अस्पतालका मनोसामाजिक परामर्शकर्ता उषा वलीले सिकलसेल रोगका बारेमा अभिमुखीकरण, सिकलसेलका बिरामीले अपनाउनुपर्ने सावधानी, उपाय, सिकलसेलका बिरामीहरुलाई सरकारले उपलब्ध गराएको सेवा सुविधालगायत विषयमा जानकारी गराउनुका साथै प्रभावितहरुलाई हौसला प्रदान गर्नुभएको थियो ।
फत्तेपुर स्वास्थ्य चौकीका ईन्जार्च मनोज कुमार मिश्रले सिकलसेल खासगरी थारु जातिमा देखिने एक प्रकारको वंशाणुगत रोग भएको हुँदा यसको बेलैमा गर्न सके रोग न्यूनीकरणमा सघाउ पुग्ने बताउनुभयो । यसका लागि ग्रामीण महिला उत्थान केन्द्रले सिकलसेल एनिमिया रोगको सम्भावित क्षेत्रमा शिविरमार्फत प्रभावित पहिचान गरी समस्या समाधानमा केन्द्रित रहेको बताउनुभयो । उहाँले रोग पहिचान हुन नसक्दा धेरैले धनजनको क्षति व्यहोर्न परेको उदाहरण दिँदै आगामी दिनमा थप समस्या निम्तिन नदिन सचेतना फैलाउनु आवश्यक रहेको बताउनुभयो ।
खासगरी, थारु जातिमा देखा परेको सिकलसेल एनिमिया भएकाहरुमा शरिरमा रगतको मात्रा कम भई रक्तअल्पता हुने, जण्डिस रोग देखापर्ने, असह्य रुपमा हातखुट्टा दुख्ने र ज्वरो आईरहने हुँदा यस प्रकारका समस्याबाट बच्न समयमै स्वास्थ्य जाँच गराएर उपचार सेवा लिनु राम्रो हुने बताउनुभयो ।
शिविरमा सहभागी भएकाहरुमा पोजेटिभ देखिए पश्चात सो घरका सबैजना परिवारले सिकलसेल एनिमिया सम्बन्धी जाँच गरेर स्वास्थ्य अवस्था पहिचान गरी ढुक्क हुन पनि सबैमा अनुरोध समेत गर्नुभएको थियो ।
गत पुष १६ गते ग्रामीण महिला उत्थान केन्द्रको आयोजनामा निशुल्क सिकलसेल जाँच शिविरमा आयोजना गरिएको थियो । सो शिविरमा ६सय २१ जनाको स्क्रिनिङ गर्दा ७७ गर्दा पोजेटिभ देखिएको थियो ।
पोजेटिभ देखिएकाहरुमा पनि अस्पतालको रिपोर्टबाट रोगी, वाहक र थालसेमिया छुट्याईएको थियो । सिकलसेलबाट प्रभावित उनीहरुले अबका दिनमा अपनाउनुपर्ने सावधानीका विषयमा समेत मनोसामाजिक परामर्श कार्यक्रम मार्फत जानकारी गराईएको छ । अविवाहितहरुले विवाह गर्दा विवाह कुण्डलीको प्रयोग गरेर मात्र विवाह गर्न सक्ने अवस्था रहेको हुँदा सो विषयमा पनि फत्तेपुर स्वास्थ्य चौकीका ईन्जार्च मिश्रले जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरीले आत्मनिर्भर र सशक्त समाजको सिर्जना गर्ने परिकल्पना अनुरुप स्थापना भएको संस्थाले महिलाहरुको आयआर्जन, आत्मनिर्भरता, सशक्तिकरण, कृषि, सुशासनलगायत स्वास्थ्यको क्षेत्रमा पनि विविध किसिमका कार्यक्रमहरु समुदायमा संञ्चालन गर्दै आएको बताउनुभयो ।
उहाँले यो कार्यक्रम अन्तरगत संस्थाले दाङ र बाँकेमा निशुल्क सिकलसेल शिविरको आयोजना गरी सिकलसेल एनिमिया प्रभावितहरु पहिचान गरी स्वास्थ्य सचेतना जगाउन र उनीहरुलाई आयआर्जनमा जोड्ने लगायत काम भईरहेको बताउनुभयो । प्रभावितहरुलाई आगामी दिनमा विभिन्न किसिमका तालिमहरुमा सहभागी गराई शरिरलाई कुनै भार नपर्ने कार्यक्रमहरु संञ्चालन गरी आय आर्जनमा जोड्ने बताउनुभयो । उहाँले प्रभावित भएका ७७ जना मध्ये स्कुले बालबालिकाहरुका लागि छात्रबृत्ति प्रदान गर्ने योजना रहेको पनि बताउनुभयो ।
गतवर्ष दाङमा शिविर संचालन गर्दा ४१ जना सिकलसेलका प्रभावितहरु पहिचान गरिएको थियो । पहिचान भएकाहरुलाई सिलाईकटाई, ब्युटीपार्लर तालिम, व्यावसायिक उत्पादनमुखी तरकारी खेति तालिम, पशु तथा स्रोतको उचित व्यवस्थापन सम्बन्धी तालिम र छात्रबृद्धि वितरण गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा सिकलसेल फोकल पर्सन कालुराम चौधरी, पशुस्वास्थ्य शाखा प्रमुखलगायत संस्थाका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो । संस्थाकी कोषाध्यक्ष मिरा चौधरीले स्वागत र कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको कार्यक्रमको सहजीकरण सूचना अधिकारी पार्वती बस्नेतले गर्नुभएको थियो ।