नारायणपुर सडक महोत्सवमा विद्यार्थीले खुवाए स्थानीय परिकार

छबि पुरी
घोराही, २६ बैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर ९ बकुलाहीस्थित ज्ञानकुञ्ज ईङ्गिस स्कुलमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुका हातमा शुक्रबार पाठ्यपुस्तक थिएन । उनीहरु विद्यालय पोशाकमा आएपनि सँधै जसोको किताबी ज्ञान भन्दा फरक अभ्यासमा थिए ।
‘सडकमा जाऔँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ वडा कार्यालयदेखि दक्षिणतर्फ रहेको बुद्ध सपिङ सेन्टर परिसरमा नारायणपुर उद्योग वाणिज्य संघले आयोजना गरेको सडक महोत्सवमा सहभागी हुन आएका उनीहरुले आफैले बनाएका विभिन्न थरीका परिकार बिक्रि गरे । विभिन्न प्रकारका खाने परिकार बनाएर बिक्रि गरेर आम्दानी पनि गरे ।
स्थानीय थारु समुदायको खानपान तयार पारेर बिक्रि गर्न आएका उनीहरुले घोँघी, मार, ढिक्री, आलुको अचार, टमाटरको अचार, खुर्मा बनाएर आकर्षक रुपमा सजाएर बिक्रि गरे । विद्यार्थी सुविधा शाहले पहिलो पटक खानेकुरा तयार पारेर सडक महोत्सवमा बिक्रि गर्न आउँदा उत्साहित भएको बताउनुभयो । खानेकुरा बिक्रि गरेर आम्दानी गर्न पाउँदा विद्यार्थीहरु निकै खुशी भएका छन् । विद्यालयकी शिक्षक नमा पौडेलले कक्षामा दिईने किताबी ज्ञानलाई व्यवहारमा कसरी लागू गर्नुपर्छ भनेर सडक महोत्सवमा विद्यार्थीहरुलाई खानेकुरा पकाएर बिक्रिमा लागि लिएर आएको बताउनुभयो ।
नारायणपुरकै ग्रेट बुद्ध एकेडेमीका विद्यार्थीहरुले पनि खानेकुरा पकाएर सडक महोत्सवमा बिक्रिका लागि स्टल राखेका थिए । उनीहरुले अनदीको रोटी, सेल रोटी, आलुको अचार, पुरी, काक्रा, आलु चिप्स, ढिक्री, स्विट कर्नलगायत खानेकुराका परिकार बनाएर बिक्रि गरेका थिए । कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई पाक शिक्षाको ज्ञान दिँदै उनीहरुलाई बस्तु बिक्रिको ज्ञान पनि दिन सहभागी भएको विद्यालयकी सुष्मा शर्माले बताउनुभयो ।
विद्यार्थी अञ्जली गुरुङले खानेकुरा बनाउन र बजार ल्याएर बिक्रि गर्न निकै चुनौति हुने गरेको अनुभव संगाल्नुभयो । कक्षा कोठामा लिएको ज्ञानभन्दा यो ज्ञानले निकै उत्साहित बनाएको उहाँ जस्तै सडक महोत्सवमा सहभागी विद्यार्थीहरुको भनाई छ ।
झारबैरामा रहेको युुनिक मिडवेष्टर्न एकेडेमीका विद्यार्थीहरुले पनि ढिक्री, सेल, अचार, योमरी, क्वाटीलगायत खानेकुरा बनाएर बिक्रिका लागि ल्याएका थिए । स्टलमा सजाएर राखिएका खानेकुरा बिक्रि गर्न उनीहरुलाई भ्याई नभ्याई थियो । कक्षा ९ र १० मा अध्ययनरत उनीहरुले मिलेर तयार पारेको खानेकुरालाई बजारसम्म ल्याएर कसरी बिक्रि गर्ने भन्ने राम्रो ज्ञान पाएका बताएका छन् ।
जमुना रावत, ऋतु गिरी, गंगा रावतलगायत विद्यार्थीहरुले ‘सडकमा जाऔँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ आयोजित सडक महोत्सवमा सहभागी भएर खानेकुरा बिक्रि गर्दा धेरै कुराको शिक्षा मिलेको बताएका छन् । शिक्षक सिमा अधिकारीले बालबालिकाहरुमा सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक शिक्षा आवश्यक पर्ने हुँदा सडक महोत्सवमा विद्यार्थीहरुलाई सहभागी गराएको बताउनुभयो । उहाँहरु जस्तै सो क्षेत्रमा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले पनि विभिन्न प्रकारका खानेकुरा तयार पारेर बिक्रिका लागि ल्याएका थिए ।
घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरकी मनकुमारी चौधरी पहिलो पटक घर छेवैमा आफ्नो जातिको खाने परिकार तयार पारेर बिक्रि गर्न आउनुभयो । मनकुमारीसँगै जिउरख्नी चौधरीलगायत ७ जना थारु पोशाकमा सजिएर थारु परिकार तयार पारेर बिक्रि गर्न आएका थिए ।
उनीहरुले तयार पारेको ढिक्रि, सिध्राको चटनी, आलुको अचार, भालेको मासु, मौवाको रक्सी, जाँडको झोललगायत खानेकुरा थारु समुदायको खानपान र संस्कृतिलाई उजागर गरिरहेको थियो । थारु पहिरनसहित थारु परिकारले सडक महोत्सवको रौनक बढाएको थियो ।
सडक महोत्सवमा स्थानीय खानेकुराका साथै दाङमा उत्पादन हुने सिमठारो धानको चामल, तिलकीको चामल, मह, तोरीको तेल, सिन्कीलगायत थुप्रै बस्तु बिक्रिका लागि राखिएको थियो । सडक महोत्सवमा नारायणपुर क्षेत्रमा संचालित विद्यालयबाट विद्यार्थीहरुको सांस्कृतिक प्रस्तुति पनि देखाएका छन् । विभिन्न जातिका भेषभूषामा सजिएर सहभागी भएका विद्यार्थीहरुको सांस्कृतिक प्रस्तुति देखाएका नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल बस्नेतले जानकारी दिनुभयो ।
उहाँले स्थानीय उत्पादन उपयोगसँगै प्रवद्र्धन गर्न र स्थानीय अर्थतन्त्र चलायमान बनाउन सडक महोत्सव आयोजना गरिएको बताउनुभयो । नारायणपुर उद्योग वाणिज्य संघले पहिलो पटक आयोजना गरेको सडक महोत्सव स्थानीय कलासंस्कृतिको प्रवद्र्धन, स्थानीय उत्पादन तथा स्थानीय खानापरिकारको प्रवद्र्धनका लागि गरिएकोमा निकै उत्साहका साथ सफल भएको अध्यक्ष बस्नेतले बताउनुभयो । नयाँ अभ्यासले स्थानीय उत्पादन तथा स्थानीय कलासंस्कृति प्रवद्र्धनमा निकै सघाउ पुगेको उहाँले बताउनुभयो ।
सडक महोत्सवमा सहभागी हुन प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सना, स्थानीय राजनीतिक दलका प्रतिनिधि, टोलबासी, व्यवसायी, नागरिक, लगायतको उपस्थिती रहेको थियो ।