सडक स्तरोन्नतिले स्थानीयलाई सहज

दाङ, २७ वैशाख । घोराहीको सिमलतारा–मुलाबारी–हाँसीपुर–बाङ्गेसाल हुँदै लुम्बिनी प्रदेशको राजधानी जोड्ने बीपी मार्ग स्तरोन्नति भएसँगै स्थानीयलाई सहज भएको छ ।
सडक विस्तारसँगै खोलामा कल्भर्ट निर्माण भएपछि ठुलो पानी पर्दासमेत स्थानीयलाई सिमलतारा–मुलाबारी–हाँसीपुर सडकखण्डमा हिँडडुल गर्न सहज भएको हो । भौगोलिक विकटतासँगै राम्रो सडक नहुँदा बर्सेनि दुःख पाउने गरेका बंगलाचुली गाउँपालिका अन्तर्गत वडा नं. ३, ४, ६ र ८ नम्बर वडाबासीले वीपीमार्ग अन्तर्गत सिमलतारा–मुलाबारी–हाँसीपुर सडकखण्ड स्तरोन्नति भएसँगै नियमित बस सञ्चालन हुन थालेपछि सहज ह्ुँदै गएको छ ।
साँघुरो सडक विस्तारसँगै ग्राभेल भएपछि सडकको अवस्थामा सुधार भएको बंगलाचुली गाउँपालिका–४ मुलबारी निवासी चुमा राना बताउँछिन् । सडक राम्रो हुँदा गाडी नियमित गाउँसम्मै आउने गरेको र स्थानीयलाई बजारसम्म पुग्न पैदल हिड्नुपर्ने बाध्यताको अन्त्य भएको बताइन् । सडक स्तरोन्ति नहुँदा हिउँदमा गाडी चल्ने पनि वर्षादमा सिमलतारासम्म हिड्नुपर्ने बाध्यता अहिले हटेको राना बताउँछिन् ।
सडक निर्माणसँगै अप्ठेरो ठाउँमा सडक ढलान गरिएपछि पानी परेको बेला पनि बस आउन सक्ने भएको भन्दै उनले भनिन्, ‘सडक विस्तारसँगै अप्ठेरो ठाउँमा सडक ढलान गरिएको छ । जसले गर्दा पानी परेको बेला पनि बस चल्छ ।’ तर सुका खोला र अर्जुन खोलामा पुल नहुँदा ठुलो खोला आयो भने समस्या हुने गरेको बताइन् । सिमलतारासम्म सडक कालोपत्रे भएकाले वर्षाको समयमा स्थानीयलाई त्यहाँसम्म हिड्नुपर्ने बाध्यता अहिले हटेको उनले बताइन् ।
सडक निर्माणसँगै मुलाबारी, हाँसीपुरलगायतका स्थानीयको वर्षाैँदेखिको दुःख हटेको बंगलाचुली गाउँपालिका–८ खैरेनी निवासी तिलक घर्ती बताउँछन् । जङ्गलमा साँघुरो र अप्ठेरो सडकका विगतमा धेरै दुःख भोगे पनि अहिले त्यो हटेको बताए । स्थानीयको सबैभन्दा ठुलो आवश्यकतामा रहेको सडक सुधार हुँदै जाँदा स्थानीयलाई सहज भएको भन्दै घर्तीले भने, ‘सडक राम्रो नहुँदा स्थानीयले धेरै दुःख पाएका थिए । अहिले पिचै नभए पनि सडक ग्राभेल भएर राम्रो भएको छ ।’
सडक सुधारसँगै सुका खोला र अर्जुन खोलामा पुल निर्माण भइदिए बाह्रै महिना गाडी चल्ने उनी बताउँछन् । सिमलतारा–मुलाबारी–हाँसीपुर–बाङ्गेसाल सडक खण्ड अन्तर्गतको सिमलतारादेखि हाँसीपुरसम्मको करिब १७ किलोमिटर सडकको स्तरोन्नतिको काम सकिएसँगै यातायात सञ्चालका लागि सडक सहज बनको हो । सडक विस्तारसँगै नाला, पर्खाल निर्माण, खोलामा कल्भर्ट निर्माणसँगै ग्राभेल गर्ने काम गरिएको सडक पूर्वाधार कार्यालय दाङले जनाएको छ ।
सडक निर्माणले जिल्लाको मुलाबारी, हाँसीपुरलगायतका बस्तीका स्थानीयलाई सहजतासँगै दाङ उपत्यकालाई देउखुरीको भालुबाङमा रहेको लुम्बिनी प्रदेशको राजधानीसँग जोड्ने वैकल्पिक मार्गका रूपमा लिने गरिन्छ । सडक स्तरोन्नतिको काम वाइला एन्ड लामा तिरुपाते सिद्धान्त जेभीले २७ करोड ७० लाख ६५ हजार तीन सय ४३ रुपैयाँको लागतमा भएको सडक पूर्वाधार कार्यालय दाङका प्रमुख मनिष अर्यालले जानकारी दिएका छन् ।
उनका अनुसार सडक अन्तर्गत भैँसाहीदेखि सिमलतारासम्म कालोपत्रे भइसकेको र अब बजेटको व्यवस्था भए बाँकी सडक पनि कालोपत्रे गरिने बताए । उनका अनुसार सुका खोलामा पुल निर्माणका लागि बजेट परेको र आगामी वर्षदेखि काम हुनेसमेत बताए । खोलाहरूमा कल्भर्ट नहुँदा हिउँदमा गाडी चल्ने गरे पनि वर्षाको समयमा पानीले बाटो बिगार्दा सवारीसाधन सञ्चालनमा समस्या हुने गरेको थियो । गाडी नचल्दा स्थानीयलाई हिँड्नुपर्ने बाध्यता थियो ।