ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा निशुल्क दन्त शिविर

घोराही, २७ बैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर १५ उत्साह टोलमा रहेको ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
उप्रेती समाज सेवा दाङका शोभाकर उप्रेतीको अध्यक्षता तथा घोराही १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यमा शनिबार दिवा सेवा केन्द्रमा आउने ज्येष्ठ नागरिकहरुको दाँतको उपचारसहित स्वास्थ्य सेवा प्रदान गरिएको छ ।
सञ्जिवनी डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा संचालित निशुल्क दन्त शिविरमा सेवा लिएका ज्येष्ठ नागरिकहरुको उच्च रक्तचापको समस्या, दाँतमा किरा लागेको, हल्लिएको, खानपीनमा समस्या भएको, दाँतको संक्रमण भएकोलगायत समस्या देखिएको उपचारमा संलग्न सञ्जिवनी डेन्टल क्लिनिकका दन्तरोग विशेषज्ञ डा. आशिष उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार, शिविरमा ४२ जना ज्येष्ठ नागरिकले सेवा लिएका छन् । समस्या पहिचान भएकाहरुलाई निशुल्क औषधीसमेत प्रदान गरिएको छ ।
शिविर कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष पाण्डेले सामाजिक संघ संस्थाहरुले समुदायको हीतमा काम गर्ने दायित्वलाई उप्रेती समाज सेवाले गरेर उदाहरणीय काम गरेको बताउनुभयो । ज्येष्ठ नागरिकहरुमा दाँतको समस्या बढी हुने हुँदा यस प्रकारको कार्यक्रमले धेरैलाई राहत मिल्ने बताउनुभयो ।
घोराही १५ उत्साह टोलस्थित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रका संयोजक नारायणप्रसाद श्रेष्ठले समाजका सबैको हातेमालोबाट ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र संचालनमा सहज हुने बताउनुभयो ।
उप्रेती समाज सेवाले यसअघि मानव सेवा घर नारायणपुरमा खाद्यान्न सहयोग, ज्येष्ठ नागरिक सरोकार केन्द्र तेरौटेमा चैते दशैमा खाद्यान्न र फलफूल सहयोग तथा गत असारमा रक्तदान कार्यक्रम गरेको समाजका अध्यक्ष उप्रेतीले बताउनुभयो ।
उहाँका अनुसार, घोराही १२ को हापुर रतनपुरमा कुल देवताको मन्दिरसँगै सूर्य पाञ्चायन मन्दिरको शिलान्यास गरिएको छ । विभिन्न दाताको सहयोगमा प्राप्त १ कट्ठा जमिन सो मन्दिर निर्माण हुन लागेको अध्यक्ष उप्रेतीले बताउनुभयो ।
ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रका सदस्य खगराज न्यौपानेको स्वागत मन्तव्यबाट शुरु भएको शिविर उदघाटन समारोहको सहजीकरण सचिव पार्वती रानाले गर्नुभएको थियो ।