बुद्धको उपदेश हरेक मानवले पालना गर्न आवश्यक
घोराही, २९ बैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर १५ काठेकोलस्थित भीमसेन मन्दिर परिसरमा रहेको सभाहलमा २५६९औँ बुद्ध जयन्ति मनाईएको छ ।
बुद्ध जयन्ति मूल आयोजक समिति संयोजक नारायणप्रसाद शर्माको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको प्रमुख आतिथ्य एवम् पूर्व सांसद सुजिता शाक्यको विशिष्ट आतिथ्यमा सोमबार बुद्ध जयन्ति मनाईएको हो ।
बुद्ध जयन्तिका अवसरमा आयोजित कार्यक्रममा मन्दिर परिसरमा बैशाख २३ गते स्थापना गरिएको बुद्धको मूर्तिमा फूलमाला, अबिर अर्पण गर्दै दीप प्रज्वलन गरेर बुद्धको महिमागान गरिएको थियो ।
सो अवसरमा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी लम्सालले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता भित्र एकता भएको राष्ट्र भएको हुँदा नेपाली संस्कृति भित्रको अभिन्न अंगका रूपमा बौद्ध दर्शनलाई सबैले अनुशरण गर्न सक्नुपर्ने बताउनुभयो ।
नेपालको भूमिमा जन्मिएर मानव कल्याणका लागि ठूलो योगदान दिनुहुने गौतम बुद्धका उपदेशहरू विश्वमै लोकप्रिय रहेको बताउँदै उहाँले बुद्धका उपदेश र मार्गदर्शनलाई शिरोपर गरी अगाडि बढ्नसके हर मानवलाई सभ्य एवम् सुसंस्कृत बन्न प्रेरित गर्ने बताउनुभयो ।
विशिष्ट अतिथि शाक्यले बुद्धको सन्देशलाई हरेक मानिसमा पुर्याउँदै व्यवहारमा लागु गर्नुपर्ने बताउनुभयो । बुद्धको जन्मस्थल लुम्बिनी आफैमा पवित्र ठाउँ रहेको हुँदा सरकारले बुद्ध सर्किटलाई हरेक क्षेत्रसँग जोडेर अघि बढाउन ध्यान दिनुपर्ने बताउनुभयो ।
बुद्धका सम्पूर्ण उपदेशहरू र बौद्ध वाङ्मयको विशाल भण्डार नै ४ आर्यसत्यको व्याख्यामा केन्द्रित रहेको भन्दै वक्ताहरुले आर्यसत्य भनेका दुःख, दुःख समुदय, दुःख निरोध र दुःख निरोध मार्ग रहेको बताउनुभयो । पहिलो संसार दुःखमय छ । दोस्रो दुःखको कारण छ । तेस्रो दुःखलाई हटाउन सकिन्छ वा दुःखको निरोध हुन्छ र चौथो दुख निरोधको मार्ग छ भन्ने रहेको छ । सारा बौद्ध वाङ्मय दुःख निरोधको बाटो देखाउनमा नै केन्द्रित छन् भन्ने सन्देशलाई हरेक मानवजातिले आत्मबोध गर्न सके सुख, शान्ति खोज्न कहीँ जान नपर्ने वक्ताहरुको धारणा थियो ।
गौतम बुद्धले विश्वभर फैलाएको शान्ति र सहिष्णुताको मार्गमा हिँडेर शान्ति, अहिसा र सद्भावका उदाहरण बन्न सबै लाग्नुपर्नेमा सहभागी वक्ताहरुको जोड थियो । विपश्यना ध्यान केन्द्र घोराही, नागरिक समाज दाङ, गुरुकुल एकेडेमी, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय दाङ, नेवार सेवा समिति घोराही र राप्ती साहित्य परिषदको संयुक्त आयोजनामा भएको कार्यक्रममा पतञ्जली योग समितिका लक्ष्मी आचार्य, गुरुकुल एकेडेमीका प्रधानाध्यापक डा. कृष्णराज डिसीलगायतले बुद्धको महिमासँगै कविता सुनाउनु भएको थियो ।
बुद्ध जयन्तिका अवसरमा आयोजित कार्यक्रममा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका ब्रह्माकुमार शिवलाल महताराले आधार पत्र प्रस्तुत गर्नुभएको थियो ।
गौतम बुद्धको शिक्षाले मानव जीवनमा शान्ति, आत्मबोध, करुणा र मुक्तिको मार्ग सँग जोडिएको सन्देश बारे जानकारी गराउनु भएको थियो । कार्यपत्रमा विपश्यना के हो, यसको इतिहास, विधि, बुद्धका मूल शिक्षासँग यसको सम्बन्ध र अहिलेको अवस्थामा यसको प्रयोगबारे चर्चा गर्नुभएको थियो ।
नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठको स्वागत मन्त्रव्यबाट शुरु भएको कार्यक्रममा सहभागीलाई धन्यवाद पतञ्जली योग समिति दाङका महासचिव माधव सुवेदीले दिनुभएको थियो भने सहजीकरण नेवार सेवा समिति घोराहीका सचिव विवेक श्रेष्ठले गर्नुभएको थियो ।