Ad Area

ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको संयोजकमा पुनः श्रेष्ठ चयन


घोराही, ३० बैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर १५ उत्साह टोलस्थित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको संयोजकमा नारायणप्रसाद श्रेष्ठ दोस्रो कार्यकालका लागि पुनः सर्वसम्मत चयन हुनुभएको छ । दिवा सेवा केन्द्रको मंगलबार भएको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

दिवा सेवा केन्द्रको सहसंयोजकमा दधीराम खनाल, सचिवमा पार्वती राना, सहसचिवमा उत्तरकुमार न्यौपाने चयन हुनुभएको छ । यसैगरी, सदस्यहरुमा पद्मप्रसाद शर्मा, खगराज न्यौपाने, केशव भण्डारी, टोपाराम भण्डारी, तारादेवी अधिकारी, रिमा रोका र उत्साह टोल विकास संस्थाका अध्यक्ष पदेन सदस्यमा चयन गरिएको छ ।

दिवा सेवा केन्द्रका संयोजक नारायणप्रसाद श्रेष्ठको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्य एवम् वडा नम्बर १५ का वडा सदस्य माधव श्रेष्ठ र टोल विकास संस्थाका अध्यक्ष गणेश दाहालको विशिष्ट आतिथ्यमा साधारण सभा तथा अधिवेशन गरिएको हो ।

सो अवसरमा प्रमुख अतिथि डिसीले ज्येष्ठ नागरिक अनुभव र ज्ञानको खानी भएकाले यसको अधिकतम उपयोगमा सबैले ध्यान दिन आवश्यक रहेको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकलाई पनि आफुसँग भएको सीप र ज्ञानलाई सिर्जनात्मक रुपमा प्रस्तुत गरेर समाजका लागि बाँकी समयको योगदान दिन सुझाव दिनुभयो ।

स्थानीय सरकारले ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र स्थापनासँगै सेवा सुविधा पनि बिस्तार गर्दै लगेको र आगामी दिनमा थप प्रभावकारीता बढाउन ध्यान दिने बताउनुभयो ।

वडा सदस्य श्रेष्ठले ज्येष्ठ नागरिकलाई दिवा सेवा केन्द्र सुखदुख साटासाट गर्ने थलो मात्रै नभई मन भुलाउने आधार पनि बनेको बताउनुभयो । कार्यक्रममा दिवा सेवा केन्द्रको सांगठनिक तथा आर्थिक प्रतिवेदन सचिव पार्वती रानाले प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतिवेदन साधारण सभाले पारित गरेको छ ।

सहसंयोजक दधीराम खनालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा टोपाराम खनालले दिवा सेवा केन्द्रले आफु जस्ता ज्येष्ठ नागरिकको जीवनमा निकै राम्रो प्रभाव पारेको बताउनुभयो ।

हिजोका दिनमा दिन काट्न कठिन हुने अवस्थाबाट अहिले आफु जस्तै साथीहरुसँग दिन काट्न र मन भुलाउन निकै सजिलो भएको बताउनुभयो । साधारण सभा तथा अधिवेशनमा सहभागी सबैलाई दिवा सेवा केन्द्रका सदस्य पद्मप्रसाद शर्माले धन्यवाद व्यक्त गर्दा कार्यक्रमको सहजीकरण सचिव पार्वती रानाले गर्नुभएको थियो ।