ऐतिहासिक गढि किल्ला संरक्षणमा चासो बढ्दै

मधुसुदन गिरी
कमिरेचौर, १ जेठ । दाङको बंगलाचुली गाउँपालिका–४ मा रहेको ऐतिहासिक गढि किल्लाको संरक्षणप्रति पछिल्लो समय चासो बढेको छ। नेपाल एकीकरणअघि सल्ल्याण राज्यअन्तर्गत रहेको यो गढि किल्ला बाइसे–चौविसे राज्यकालमा सुरक्षाका लागि प्रयोग भएको मानिन्छ। हाल बंगलाचुली गाउँपालिकाले उक्त किल्लाको संरक्षण र प्रवर्द्धनका लागि चासो देखाएको हो।
यसै क्रममा पुरातत्व विभाग, नेपाली सेना, सञ्चारकर्मी, स्थानिय अगुवा र गाउँपालिका प्रतिनिधिहरूले संयुक्त रूपमा गढिलेकको अवलोकन गरेका छन्। जुम्लेपानी गढि सामुदायिक वन समूहका अध्यक्ष इन्द्रबहादुर बुढाका अनुसार गढिमा प्राचीनकालमा सेना खटाइएको जनश्रुति छ। यद्यपि, त्यसको ठोस लिखित प्रमाण भने फेला परेको छैन।
किम्वदन्तीअनुसार, पूर्वी नेपाल पृथ्वीनारायण शाहले एकीकरण गरेपछि उनका छोरा बहादुर शाहले पश्चिमी राज्यहरूलाई एकीकृत गर्ने क्रममा गढिलाई रणनीतिक रूपमा प्रयोग गरेका थिए। भारतबाट सम्भावित आक्रमण र गलत गतिविधिको नियन्त्रण गर्न कर्णेल कालु आलेको कमान्डमा त्यहाँ जगेडा सेना राखिएको भनाइ छ।
गढिमा प्रयोग भएको सालको काठ आज पनि अवशेषका रूपमा देख्न सकिन्छ। केही समयअघि त्यहाँ पानी संकलनका लागि प्रयोग भएको काठको डोण पनि फेला परेको जानकारी अध्यक्ष बुढाले दिएका छन्।
गढिलेकको अवलोकन कार्यक्रममा पुरातत्व विभागका अधिकृत हरिप्रसाद भुसाल, नेपाली सेनाका जर्नेल पदमबहादुर बुढा, कर्नेल कुमार खड्का, गाउँपालिका अध्यक्ष तुल्सिराम पुन, उपाध्यक्ष भक्तबहादुर जिसी, प्रवक्ता शोभाराज विश्वकर्मा, वडा अध्यक्ष डासबहादुर डाँगीलगायतको उपस्थिति थियो। सो अवसरमा अध्यक्ष पुनले गढिलाई ऐतिहासिक पर्यटकीय स्थलको रूपमा विकास गर्ने योजना रहेको बताउँदै, गाउँपालिकाले एक्लै काम गर्न कठिन हुने भएकाले पुरातत्व विभाग र नेपाली सेनाको सहयोग आवश्यक रहेको धारणा राखेका थिए ।