Ad Area

घोराही–बंगलाचुली जीर्ण सडक मर्मत गर्ने निर्णय


घोराही, १ जेठ । दाङको घोराहीदेखि बंगलाचुलीका विभिन्न स्थानहरु जोड्ने सडकहरुमा चल्ने सिमेन्ट उद्योगका टिप्पर तथा ट्रकहरुको अत्यधिक भारका कारण जीर्ण भएका सडकहरु मर्मत गर्ने निर्णय भएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङमा आज बसेको सरोकारवालाहरुको संयुक्त बैठकले यस अघि पटक पटक भएका निर्णयहरु कार्यान्वयनका लागि जीर्ण सडक तत्काल मर्मत गर्न उद्योगहरुवीच लागत साझेदारीमा काम गराउने निर्णय गरेको छ ।

जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्मा, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, जिल्लास्थित पालिकाका जनप्रतिनिधि, सिमेन्ट उद्योगका प्रतिनिधि, टिपर व्यवसायीका प्रतिनिधि बीच भएको संयुक्त बैठकले सिस्ने खोलादेखि पानीधारासम्म सोनापुर सिमेन्ट उद्योगले मर्मत तथा धुलो नियन्त्रण गर्न जिम्मेवारी दिईएकोमा मर्मत गरेको नपाईएकोले तत्काल मर्मत सुरु गरी १० दिन भित्र मर्मत सम्पन्न गर्ने निर्णय भएको छ ।

पानीधारादेखि छिर्नेटासम्म सम्राट सिमेन्ट उद्योगले १० दिन भित्र मर्मत सम्पन्न गर्ने, हर्नोकदेखि तापाचोकसम्म घोराही सिमेन्ट उद्योगले १० दिन भित्र मर्मत सम्पन्न गर्ने, छिर्नेटादेखि हर्नोकसम्म अग्नी सिमेन्ट उद्योगले१० दिन भित्र मर्मत सम्पन्न गर्ने र प्यूठान सडकको कटुवाखोलादेखि सिस्ने खोलासम्म सडक डिभिजनले मर्मत गर्ने निर्णय भएकोमा केही भाग मर्मत गरेको पाईएकोले बाँकी मर्मत तत्काल सुरु गरी १० दिन भित्र मर्मत सम्पन्न गर्ने निर्णय भएको छ ।

ती सडकहरुमा चल्ने टिप्पर तथा ट्रकहरुको अत्यधिक भार वहन क्षमता नियन्त्रणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय समेतले सरोकारवालाहरु समेतको सहयोगमा अनुगमन गर्ने निर्णय पनि भएको छ ।

प्रतिवद्धता अनुसार काम भए नभएको अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाका प्राविधिक प्रमुखहरु, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक, ट्राफिक प्रहरी प्रमुख र पत्रकार महासंघका अध्यक्ष सदस्य रहेको स्थलगत अनुगमन समिति गठन गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माले जानकारी दिनुभयो ।

घोराही– बंगलाचुली सडक खण्डमा उच्च भारवहनका चुना ढुंगा बोक्ने टिपरका कारण सडक जीर्ण बन्नुका साथै स्थानीयले धुलो खान बाध्य भएका छन् ।