परिक्षणको दायरा बढ्दा, बढ्दै सिकलसेलका बिरामी

छवि पुरी
घोराही,३ जेठ । परिक्षण र स्क्रिनिङको दायरा बढ्दै जाँदा दाङमा सिकलसेल एनिमियाका बिरामीको संख्या थपिँदै गएका छन् । मानव रगतमा पाइने रातो रक्तकणिकाको स्वरूप विकृत भएपछि लाग्ने सिकलसेल एनिमिया रोगका बिरामी पहिचान गर्दा यो संख्या बढ्दै गएको पाईएको हो ।
पहिचान भएकाहरुमध्ये घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३ सय जना सिकलसेल रोग लागेका बिरामीले नियमित उपचार सेवा लिँदै आएका छन् । उपचार गराईरहेका मध्ये अहिलेसम्म चारको मृत्यु भईसकेको छ । विशेष गरेर थारु समुदायमा देखापरेको यो रोग दाङमा भने एकजना गैरथारु समुदायका व्यक्तिमा समेत देखापरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
समुदाय स्तरमा गरिएका नमूना परिक्षणबाट थारू समुदायका करिव ११ प्रतिशतमा सिकलसेल भएको अध्ययनले देखाएको छ । समुदाय स्तरमा सिकलसेल पहिचानका लागि परिक्षण वृहत रुपमा हुन नसके हुँदा कति व्यक्तिमा सिकलसेल एनिमिया छ भन्ने यकिन भने हुन सकेको छैन । शुक्रबार दाङको घोराहीमा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालयद्वारा आयोजित हेमोग्लोबिनोप्याथी सिकलसेल÷बिटाथालेसिमिया÷हेमोफिलियालगायत बारे स्वास्थ्यकर्मीहरु र सरोकारवालाहरुको अभिमुखीकरणमा पहिचान गरिएका सिकलसेलका बिरामीको उपचार व्यवस्थित गरिएको भएपनि जिल्लामा कति जना सिकलसेलका बिरामी छन् भन्ने कुराको यकिन तथ्यांक नहुँदा उपचारका लागि योजना बनाउनसमेत समस्या हुने गरेको बताईएको छ ।
जिल्लाको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिकलसेल एनिमियाका बिरामीको उपचार हुँदै आएको छ भने तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सिकलसेल एनिमिया÷थालसिमिया रोगको परिक्षण हुँदै आएको छ । अहिलेसम्म यसको खास तथ्यांक व्यवस्थित नहुँदा जिल्लामा सिकलसेलका बिरामीको संख्या यकिन गर्न कठिन भईरहेको चिकित्सक बताउँछन् । राप्ती प्रादेशिक अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा। रविन गौतमले हेमोग्लोबिनोप्याथी सिकलसेल÷बिटाथालेसिमिया÷हेमोफिलियाका बारेमा बिस्तृतमा जानकारी गराउँदै समुदाय स्तरमा परिक्षणको दायरा पुर्याउन नसक्दा उपचार प्रभावकारी बनाउन कठिन भईरहेको बताउनुभयो ।
उहाँले विभिन्न संघसंस्था तथा कार्यालयहरुको कार्यक्रममार्फत स्क्रिनिङ गरिएकाहरुबाट पहिचान भएकाहरुको उपचार प्रभावकारी भएपनि समुदायमा सिकलसेलका कति बिरामी छन् भन्ने यकिन गर्न नसकिएको बताउनुभयो । जिल्लास्थित राप्ती प्रादेशिक अस्पताल, निजि अस्पताल तथा स्वास्थ्य संस्था, नेपाल परिवार नियोजन संघ, ग्रामीण महिला उत्थान केन्द्र, नेपाल रेडक्रस सोसाईटी, स्वास्थ्य कार्यालयका प्रतिनिधि तथा चिकित्सकको उपस्थिती भएको कार्यक्रममा सिकलसेलका बिरामीको उपचार सहज बन्दै गएको भएपनि बिरामी पहिचान र अभिलेख एकीकृत हुन नसक्दा समस्या हुने गरेको बताउनुभयो ।
जिल्लाका सिकलसेलका बिरामी कति छन् भन्ने ठोस आधारसहितको तथ्यांक छैन । ‘यो काम हुनुपर्ने हो तर रेकर्ड कसैले राखेको छैन । तर, थारू समुदायमा सिकलसेलका बिरामी बढी छन् भन्ने प्रक्षेपण छ’ डा। गौतमले भन्नुभयो थारु समुदायमा यो समस्या छ भन्दैमा उनीहरुमा मात्रै यो समस्या हुन्छ भन्ने होईन । यो समस्या अरु समुदायमा पनि हुन सक्छ । पहिचानका लागि परिक्षणको दायरा बढाउन जरुरी छ ।’
विगतमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत थारु समुदायको स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिँदै सिकलसेल एनिमिया स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । ती अध्ययनले थारु समुदायमा यो समस्या धेरै देखाएको छ । ‘विगतमा गरिएको परिक्षणसहितको अध्ययनले थारु समुदायको कुल जनसंख्याको करिब ११ प्रतिशतमा यस्तो रोग देखापरेको भनी प्रतिवेदन निकालिएको छ । हामीले त्यसैलाई नै आधार मानिरहेका छौँ’ उहाँले भन्नुभयो ।
पहिचान भएका सकलसेल एमिनियाका बिरामीहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट नियमित औषधी सेवन गर्दै आउनुभएको छ । प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईका अनुसार, सरकारले बिरामीका लागि उपलब्ध गराउँदै आएको फोलिक एसिड, हाईड्रोक्सिेरिया दिने गरिएको छ । सिकलसेलका बिरामीलाई औषधीसहितको उपचार सेवा दिनुपर्ने अवस्था भएकाले जतिबेला पनि सेवाका लागि तत्परता लिने गरिएको बताउनुभयो । स्वास्थ्य कार्यालय दाङले जिल्लाको ७ पालिकाको विभिन्न स्थानमा गत वर्ष २ हजार ५ सय ८५ जनाको रगत परिक्षण गर्दा ४ सय १८ जनामा सिकलसेल एनिमिया तथा थालसेमिया पहिचान गरेको थियो ।
रक्तजन्य वंशाणुगत रोग सम्बन्धि स्क्रिनिङ गर्दा ७ जना सिकलसेलका लक्षणसहितका बिरामी, २ सय ४१ जना सिकलसेलका जिवाणु भएका अर्थात ट्रेट, ७ जना थालसेमियाका लक्षणसहितका बिरामी, १ सय ३७ जना थालसेमियाका जिवाणु भएका अर्थात ट्रेट, थालसेमिया रोग र थालसेमिया माइनर ३ जना, थालसेमिया ट्रेट र थालसेमिया माइनर २३ जना पहिचान भएका स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यले जानकारी दिनुभयो ।
यसअघि २०७९ मा स्वास्थ्य कार्यालय दाङको समन्वयमा ७ वटा पालिकाहरु घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, गढवा, राजपुर, राप्ती र दंगीशरण गाउँपालिकामा पनि सिकलसेल बिरामी पहिचानका लागि रगत परीक्षण गरिएको थियो । जसमा दुई हजार ८ सय २ जनाको परिक्षण गर्दा ३ सय २८ जनामा सिकलसेल एनिमिया पुष्टि भएको थियो । अहिले धेरै जनाको ‘स्क्रिनिङ’ नै हुनसकेको छैन । यसले गर्दा पनि खास यस्ता रोगीहरूको पहिचान हुनसकेको छैन ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा स्क्रिनिङका लागि मेसिन रहे पनि उल्लेख्य मात्रामा मानिस नआउने गरेका अस्पतालका मेडिक सुपरिटेण्डेन्ट पदमराज अधिकारीले बताउनुभयो । अस्पतालहरुबाट सिफारिस भईआएका बिरामी तथा शिविरमार्फत संकलन भएका नमूनाको परिक्षण गर्ने काम हुँदै आएको बताउनुभयो । ईलेक्ट्रोफोरोसिसमार्फत परिक्षण गरेर सिकलसेलका बिरामी पहिचान गर्ने काम हुँदै आएको बताउँनुभयो ।
लुम्बिनीमा प्रमुख स्वास्थ्य समस्याका रुपमा रहेको सिकलसेल एनिमिया रोगको समस्या निदानका लागि साझा धारणा बनाएर काम गर्न आवश्यक रहेको स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्य बताउनुहुन्छ । उहाँले रोग निवारणका लागि तीन तहका सरकारबाट नीति निर्माण गरेर रोकथामको उपाय बारे सचेतनाका कार्यक्रम समुदाय स्तरमा पुर्याउनु पर्ने बताउनुभयो ।
‘समयमा रोगको पहिचानसँगै बेलैमा उपचार भएन भने समस्या बढ्दै जाने अवस्था छ । सिकलसेल रोग लागेकाहरुको विवाह कुण्डली बनाएर विवाह गर्ने वातावरण बनाउन जरुरी छ’ उहाँले भन्नुभयो ‘यसका लागि सबैभन्दा पहिले परिक्षणको दायरा फराकिलो बनाउँदै समुदायमा सचेतनाका कार्यक्रम लैजानुपर्छ ।’
समयमा रोगको पहिचान हुन नसक्दा बिरामीले आर्थिक भार व्यहोर्नुपर्ने अवस्था रहेको हुँदा शारिरीक, मानसिक समस्या झेल्न बाध्य बिरामीको उपचारसँगै समुदायमा सचेतना फैलाउन सरोकार सबै लाग्नुपर्ने बताउनुभयो । अहिले सिकलसेल रोग पहिचान भएका बिरामीहरुको निशुल्क स्वास्थ्य बिमा हुने गरेको भन्दै स्वास्थ्य बिमाको दायरामा ल्याउन सके उपचारमा सहज हुने बताउनुभयो । उहाँले उक्त बिमाका माध्यमबाट परिवारका सबै सदस्यले स्वास्थ्य बिमा सेवा पाउने पनि बताउनुभयो ।
उसो त, सरकारले पनि सिकलसेल एनिमियाका बिरामीलाई १ लाख रुपैयाँसम्म उपचार खर्च दिने व्यवस्था गरेको छ । अस्पतालले सिकलसेल एनिमिया भएको भनी प्रमाणित गरेको कार्डसहित स्वास्थ्य कार्यालयमा आएमा कार्यालयले एक लाख बराबरको निःशुल्क उपचारका लागि सिफारिस गर्ने गरिएको छ ।
सरकारले ‘सिकलसेल एनिमिया’ भएका बिरामीको उपचारका लागि आवश्यक पर्ने रगत परीक्षण गर्ने मेसिन खरीद, स्वास्थ्यकर्मीका लागि तालिम, जनचेतना अभिवृद्धिका लागि गाउँ तहमा सचेतना कार्यक्रम गर्न आवश्यक रहेको स्वास्थ्य कार्यालय दाङका प्रमुख आचार्यले बताउनुभयो ।
‘के कुरामा ध्यान दियो भने उनका सन्तानमा सिकलसेल सर्दैन भनेर परिवारमा राम्रोसँग जानकारी दिनुपर्छ’, कार्यालय प्रमुख आचार्यले भन्नुभयो ‘सचेतनाका लागि महिला स्वास्थ्य स्वयंसेविका, समाजका अगुवा, विद्यालय, स्वास्थ्य चौकी जस्ता संयन्त्रलाई परिचालन गर्न सकिन्छ ।’ तर, सिकलसेल एनिमिया रोग परिचान भएको एक दशक भइसके पनि परीक्षण व्यापक नभएकाले यसका बिरामी कति छन् भन्ने सरकारसँग यकिन तथ्यांक छैन ।
के हो सिकलसेल एनिमिया ?
चिकित्सा विज्ञानका अनुसार सिकलसेल एनिमिया एक किसिमको रगतसम्बन्धी वंशाणुगत रोग हो । मानिसको रगतको कोशिकामा क्रोमोजोम हुन्छ र त्यसमा जिन हुन्छ । जीन धेरै प्रकारका हुन्छन् । तिनमा खराबी आएमा सिकलसेल एनिमिया हुन्छ । यो रोग आमाबाबु दुवैमा भए सन्तानमा पनि संक्रमित हुने धेरै सम्भावना रहन्छ । तर आमा वा बाबु कुनै एक जनामा मात्र छ भने सन्तानमा देखिने सम्भावना न्यून हुन्छ । सिकलसेल एनिमिया रगतको रातो रक्तकोषभित्र रहने र हेमोग्लोविनलाई असर पार्ने वंशाणुगत रोग हो । रातो रक्तकोषको आकार परिवर्तन भई सिकल अथवा हँसियाको रूप लिने हुनाले यसलाई सिकलसेल एनिमिया भनिन्छ ।
स्वस्थ व्यक्तिमा रक्तकोष गोलो आकारको हुन्छ भने सिकलसेल एनिमिया भएका व्यक्तिको हँसिया आकारको हुन्छ । सामान्यतया सेलको आयु एक सय २० दिनको हुन्छ, तर सिकल भएको हँसिया आकारको सेलको आयु २१–२२ दिनको हुन्छ । त्यसकारण शरीरमा अक्सिजन र पोषण नपुग्दा मांशपेसी र जोर्नीमा धेरै पीडा हुन्छ । कतिपय बिरामीको रोग पहिचान गर्न नपाउँदै मृत्यु हुने जोखिम हुन्छ ।