नागेश्वर महादेव पार्वती मन्दिरमा श्रीमद्भागवत महापुराण सप्ताह हुने

दाङ, ३ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको नागेश्वर महादेव पार्वती मन्दिरमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञानविज्ञान महायज्ञ तथा शृङ्गारिक महाआरती हुने भएको छ ।
मन्दिरकोे समग्र भौतिक पूर्वाधार निर्माण तथा अक्षयकोष स्थापनाका लागि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञानविज्ञान महायज्ञ तथा शृङ्गारिक महाआरती गर्न थालिएको हो । महायज्ञ मुलआयोजक समितिले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएको हो । जेठ ६ देखि १३ गतेसम्म हुने मन्दिर व्यवस्थापन समितिको अध्यक्ष तथा महायज्ञ मुलआयोजक समितिका संयोजक झगलाल कुवँरले जानकारी दिए ।
मन्दिरकोे समग्र भौतिक पूर्वाधार निर्माण तथा अक्षयकोष स्थापनाका लागि बजेट नहुँदा महायज्ञ सञ्चालन गर्न थालेको उनले बताए । अहिले महायज्ञको तयारी तिव्र रूपमा अगाडि बढाइएको उनको भनाइ छ । महायज्ञको कथा वाचकमा परशुराम पाण्डेय रहेका छन् । महायज्ञ स्थल सम्याउने, मन्दिर परिसर सरसफाइ, उपसमिति निर्माण गर्ने र जिम्मेवारी तोक्ने काम भइरहेको आयोजकले जनाएको छ ।
दलित पुजारी भएको एक मात्र मन्दिरमा भौतिक संरचना अपुग भएकाले महायज्ञ आयोजना गरिएको बताइएको छ । सङ्कलित रकमले मन्दिरलाई पूर्णता दिने व्यवस्थापन समितिले जनाएको छ । महामयज्ञमा कथा वाचन भजन कीर्तन, देवीलीला झाँक्री तथा चेतनामूलक नाटक प्रस्तुत गरिने भएको छ ।
पत्रकार सम्मेलनमा घोराही उपमहानगरपालिका वडा नं १८ का वडाअध्यक्ष भरतमणि अर्यालले सामाजिक भावनाका साथ हुन थालेको कार्यमा सबैको सहयोग हुने उनले बताए । मन्दिरको विकाससँगै यस क्षेत्रको विकासमा सहयोग पुग्ने भन्दै यस कार्यमा लाग्न उनले आग्रह गरे । दलित महिला पुजारी भएको मन्दिर ऐतिहासिक रहेको समते अध्यक्ष अर्यालले बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मन्दिरले यस क्षेत्रको विकासमा भूमिका खेल्ने बताए । प्राकृति रूपमा समेत सन्दर रहेको स्थान रहेको ठाउँ पर्यटकीय क्षेत्र बन्न सक्ने उनको भनाइ छ ।
मन्दिर व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष ज्ञानबहादुर रायमाझीले २०७२ फागुन २७ बाट मन्दिर क्षेत्रमा नाग भेटिएसँगै मन्दिर निर्माण कार्य सुरु गरिएको उनले बताए । दाताहरूको सहयोगले अहिलेको अवस्थासम्म आइपुगेको र यसलाई थप व्यवस्थित गर्न आर्थिक सङ्कलन गर्न महायज्ञ सञ्चालन गर्न थालिएको उनको भनाइ छ । पत्रकार सम्मेलनको सहजीकरण मुलआयोजक समितिका सचिव प्रेम कँुवर क्षेत्रीले गरेका थिए ।
विभिन्न उपसमिति गठन
महायज्ञ सफल बनाउन विभिन्न समिति तथा उपसमिति गठन गरिएको छ । समिति तथा उपसमितिले कामलाई तीव्रता दिएका छन् । महायज्ञको आर्थिक समितिको संयोजकमा डिलाराम भुसाल, प्रचारप्रसार समितिको संयोजकमा लालमणि कुँवर, स्वयम्सेवक परिचालन समितिको संयोजकमा दण्डराम वली, कलश तथा शोभायात्रा समितिको संयोजकमा कमल गाउँले, ज्येष्ठ नागरिक समन्वय समितिको संयोजकमा दुर्गाप्रसाद ज्ञवाली, पूजा व्यवस्थापन समितिको संयोजकमा लीला थापा, भान्सा व्यवस्थापन समितिको संयोजकमा दिनामणि खनाल, सचिवालय संयोजकमा पूर्ण मल्ल र दाता पहिचान समितिको संयोजकमा भरतमणि अर्याल रहेका छन् । समितिको सल्लाहकारमा कुमान्द कुवर, नारायण अधिकारी, पञ्चाराम नेपाली, खुसलराज सुवेदी, कृष्ण केसी रहेका छन् ।