दाङका १० पालिकाको बेरुजु २८ करोड

घोराही, ३ जेठ । दाङका १० पालिकाको बेरुजु करिब २८ करोड पुगेको छ । पालिकाहरुको बेरुजु वर्षेनी बढ्दै गएको छ । महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुधबार पेश गरेको ६२ औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०–०८१ मा जिल्लाका सबै पालिकाको बेरुजु २७ करोड ९७ लाख ६० हजार रुपैयाँ पुगेको छ ।
दाङका १० वटा पालिका मध्ये सबै भन्दा बढि बेरुजु तुलसीपुर उपमहानगरपालिकाको देखिएको छ । महालेखा परीक्षकको कार्यालयले प्रतिवेदन अनुसार तुलसीपुर उपमहानगरपालिका जिल्लाको सबै भन्दा बढि बेरुजु भएको पालिका बनेको छ भने सबै भन्दा कम राप्ती गाउँपालिका रहेको छ । सबै भन्दा बढि रहेको तुलसीपुर उपमहानगरपालिकाको बेरुजु २ दशमलव १९ प्रतिशत रहेको छ । ४ अर्ब ७ करोड ७४ लाख रकमको लेखा परीक्षण भएकोमा ८ करोड ९४ लाख १६ हजार बेरुजु देखिएको छ । त्यस्तै सबै भन्दा कम भएको राप्ती गाउँपालिकाको बेरुजु २१ लाख ४५ हजार छ ।
१ अर्ब ५६ करोड ७० लाखको लेखा परीक्षण भएकोमा सोही बराबर बेरुजु भएको हो । जुन ० दशमलव १४ प्रतिशत हो । यसैगरी, घोराही उपमहानगरपालिकाको बेरुजु ६ करोड ७८ लाख २८ हजार, लमही नगरपालिकाको बेरुजु २ करोड ५१ लाख ४१ हजार रहेको छ । जिल्लाको राजपुर गाउँपालिकाको बेरुजु २ करोड ७ लाख ३९ हजार, शान्तिनगर गाउँपालिकाको बेरुजु १ करोड ४३ लाख ६६ हजार, बंगलाचुली गाउँपालिकाको बेरुजु १ करोड ४० लाख २० हजार, गढवा गाउँपालिकाको बेरुजु १ करोड ९१ लाख ४९ हजार र बबई गाउँपालिकाको बेरुजु १ करोड २२ लाख २३ हजार रहेको महालेखा परिक्षकको प्रतिवेदनले देखाएको छ । आफैंले बनाएका नीतिनियम पालना नगरी जथाभावी रुपमा बजेट खर्च गरेका कारण बेरुजु बढ्ने क्रम भइरहेको छ ।