शुभलक्ष्मी सहकारीको २० औं स्थापना दिवस तथा वार्षिक उत्सव सम्पन्न

घोराही, १२ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर – ६ गुरुवागाउँमा रहेको शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले सोमबार २० औं स्थापना दिवस तथा वार्षिक उत्सव मनाएको छ ।
सहकारी संस्थाका अध्यक्ष शरदकुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा १८ जना ज्येष्ठ शेयर सदस्यलाई सम्मान गरिएको छ । अध्यक्ष आचार्यले सहकारी अगाडि बढाउन सबै सदस्यहरुको साथ सहयोग रहेको बताउनुभयो । सहकारीलाई सकारात्मक सहयोग गरेर मार्ग निर्देशन दिन पनि उहाँले ज्येष्ठ सदस्यलाई आग्रह गर्नुभयो ।
संस्थाका वरिष्ठ सल्लाहकार एवम् संस्थापक अध्यक्ष बिमल अधिकारीले धेरै मेहनतका साथ स्थापना गरिएको सहकारी संस्थाले अहिले प्रगति गर्दै गएको बताउनुभयो । सबैको साथ सहयोग र सहकार्यले संस्थामा उल्लेख्य उपलब्धि हासिल सम्भव भएको उहाँको भनाई थियो ।
संस्थामा आर्थिक पारदर्शिता हुन सके मात्रै सहकारीले सबैको विश्वास आर्जन गर्न सक्ने हुँदा यसतर्फ शुभलक्ष्मी सहकारी अग्रसर रहेको बताउनुभयो ।
जिल्लाभरको सहकारी संस्थाहरुमा उत्कृष्ट सहकारीका रूपमा काम गरेको र आगामी दिनमा अझ राम्रो गरेर प्रदेशकै नमूना सहकारी बनाउन लाग्नु पर्नेमा जोड दिनुभयो ।
वरिष्ठ सल्लाहकार एवम् निवर्तमान अध्यक्ष श्रीधर शर्मा पौडेलले सहकारीको २ दशकको यात्रामा आर्थिकसँगै थुप्रै सामाजिक काम गरेको बताउनुभयो । कार्यक्रममा संस्थाका पूर्व सल्लाहकार भेषराज शर्माले सहकारीले ऋण परिचालन मात्रै नभई, आफ्ना सदस्यलाई अपनत्व दिलाउने काम गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा ज्येष्ठ सदस्यहरु एकराज शर्मा अधिकारी, चेतु पोखरेल, यज्ञप्रसाद जैसी, शिक्षा उपसमितिका सदस्य पूर्णबहादुर चौधरी, लेखा सुपरिवेक्षण समितिका सदस्य दलबहादुर वली लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
उपाध्यक्ष कुन्ताकुमारी सिजवालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव विष्णुप्रसाद अधिकारीले गर्नुभएको थियो । घोराही उपमहानगरपालिकाभित्रको उत्कृष्ट सहकारीका रुपमा काम गर्दै आएको शुभलक्ष्मी सहकारीमा हाल १५ सय बढी सदस्य संख्या रहेको र कुल पूँजी २० करोड बढी रहेको संस्थाका अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।