आमा समूहसँग जलवायु न्याय सम्बन्धि छलफल

घाेराही, १२ जेठ । दाङको घोराहीमा आमा समूहसँग जलवायु न्यायका सम्बन्धि छलफल गरिएको छ। स्वच्छ सफा नेपालको आयोजना, मुक्त कमलरी विकास मञ्चको समन्वय तथा आइएम स्वीडिस डेभलपमेन्ट पार्टनरको आर्थिक सहयोगमा इन्टरसेक्शनल ग्रिन फ्युचर्स: एड्भान्सिङ क्लाइमेट जस्टिस फर अल परियोजना अन्तरगत साेमबार
घोराही उपमहानगरपालिका वडा नम्बर ४ र १२ का आमा समूहसँग जलवायु न्यायका सम्बन्धि छलफल गरिएको हाे ।
छलफलमा घोराही उपमहानगरपालिका वडा नम्बर ४ सुनपुरकी ४७ वर्षीया इन्द्रा चौधरीले जलवायु परिवर्तनका कारण बालीनालीमा रोगकिराको प्रकोप बढेको बताउनुभयो । उहाँले रैथाने बीउ मासिँदै गएको र उन्नत जातका बीउ प्रयोग गर्दा बढी रोगकिरा लाग्ने गरेको अड्कल गर्नुभयो । पहिलेकाे तुलनामा मानिसलाई रोग पनि बढी लाग्ने गरेको र त्यसमा पनि नसर्ने रोग धेरै लाग्ने अवस्था बढेको पाईएकाे बताउनुभयो । प्लास्टिकको धुवाँले मानिस र पृथ्वीलाई धेरै असर गर्ने रैछ भन्ने कुरा दुई दिनको छ्लफलबाट प्रष्ट भएको उहाँले बताउनुभयो ।
आफ्नै आनीबानी र अस्वस्थ जीवनशैलीले मानिस रोगी हुने अवस्था सिर्जना भएको भन्दै असल जीवनशैली र व्यवस्थित जीवनका लागि आफुबाट शुरुवात गर्ने र घर परिवार तथा समुदायलाई पनि सचेतना फैलाउने प्रतिवद्धता जनाउनुभयो।
घोराही उपमहानगरपालिका वडा नम्बर १२ डाडागाउँका ४० वर्षीया कमला चौधरी सुनौलो पशुपालन महिला समूहकाे सदस्य हुनुहुन्छ । उहाँको अनुभवमा पहिले गर्मी कम हुन्थ्यो । तर, अहिले जाडो र गर्मी दुबै बढ्दै गएकाेे बताउनुभयो । प्लास्टिकको प्रयोग बढेको र जथाभावी जलाउने, जहाँतहीँ फाल्नाले वातावरण दुषित भएको कार्यक्रममा सहभागी भएपछि प्रष्ट भयाे ।
उहाँले आफ्नो तर्फबाट वातावरण सफा राख्ने र समुदायलाई पनि वातावरण सफा राख्न प्रेरित गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
स्वच्छ सफा नेपालका परियोजना संयोजक कैलाश विक्रम शाहीले वातावरणलाई स्वच्छ राक्न अपनाउनु पर्ने विषय र नागरिकको भूमिका बारेमा छ्लफल गरिएको बताउनुभयो । वायु प्रदुषणका कारण,असर र रोकथामका बारेमा गाउँघरका महिलाहरु विभिन्न समूहमा आवद्ध भएको हुँदा समूहमार्फत जनचेतनामूलक काम गर्न सजिलो हुने हुँदा महिला समुहलाई कार्यक्रममा समावेश गरिएको बताउनुभयो ।
छलफलमा स्वच्छ सफा नेपालका पैरवी तथा अभियान सल्लाहकार प्रेमप्रकाश नेपालीले जलवायु परिवर्तन र चुनौतीका बारेमा जानकारी गराउनुभएको थियोे ।
हरित गृह ग्यास उत्सर्जनका स्रोतहरु, पानी र खाद्य सुरक्षा कसरी सुनिश्चित गर्ने, स्वच्छ वातावरणका लागि नागरिकको मौलिक अधिकारलगायत विषयमा जानकारी गराउनु भएको हो । उहाँका अनुसार, स्वच्छ सफा नेपालले वातावरण कसरी स्वच्छ बनाउने विषयमा दाङको घोराही उपमहानगरपालिकामा विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आएको छ ।