स्थानीय शासनका लागि युवा सशक्तिकरणमा जोड

घोराही, १३ जेठ । दाङ, सल्यान र कपिलबस्तुमा गठित युवा क्लबका सदस्यहरुलाई युवा नीति तथा कार्यक्रम, स्थानीय युवा परिषद गठनको उद्देश्य र आवश्यकताका विषयमा अभिमुखीकरण गरिएको छ ।
युवालयको आयोजना र आइएम स्वडिस डेभलपमेन्ट पार्ट्नरको आर्थिक सहयोगमा समावेशी स्थानीय शासनका लागि युवा सशक्तिकरण कार्यक्रम अन्तरगत दाङको घोराहीमा ३ दिने क्षमता अभिवृद्धिका लागि अभिमुखीकरण गरिएको हो ।
युवा नीति तथा कार्यक्रम, युवाको अवस्था, स्थानीय युवा परिषद गठनको उद्धेश्य र आवश्यकता बारे जानकारी लिएपछि युवा क्लवका सदस्यहरु स्थानीय तहमा आफुहरुको योजना माग गर्न सक्ने भएको बताएका छन् ।
युवा देशका कर्णधार भएकाले नीतिनिर्माणका बारेमा जानकारी राख्नुपर्ने सिकाइ भएको सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ७ का नवराज बिष्टले बताउनुभयो ।
तालिमले सीपसँगै आफुमा क्षमता विकास पनि भएको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ का पारस वलीले बताउनुभयो । आफ्नो पालिकामा आउने योजनाका बारेमा अब चासो लिने उहाँको योजना छ । घोराही उपमहानगरपालिका वडा ८ कि करुणा पौडेलले प्रभावकारी बैठक संचालन गर्न र माइन्युट लेखनका बारेमा सीप सिकेको बताउनुभयो ।
लमही नगरपालिका वडा नम्बर ४ गुर्जिहवाका दिपेन चौधरीले युवा र मार्गदर्शन, युवा जीवनको लक्ष्य निर्धारण कसरी गर्ने भन्ने विषयमा धेरै ज्ञान हासिल भएको बताउनुभयो । प्रदेश युवा परिषदका कार्यकारी सरोज खनालले युवा क्लबका माध्यमबाट सूचनाको हक र सरकारी स्तरबाट युवालाई प्रदान गरिने कार्यक्रम बारेमा युवालाइ मार्गनिर्देशन गरेको बताउनुभयो ।
सो अवसरमा, लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीले नीति निर्माणका बारेमा संसदमा कसरी कुरा गर्ने भन्ने बारेमा सहभागीसँग छलफल गर्नुभएको थियो । युवाले देश विकासमा भूमिका निभाउने हुँदा अहिलेदेखि नै सीप र क्षमता विकास गर्दैे नेतृत्व तहमा पुग्न सकिने बताउनुभयो ।
युवालयका कार्यक्रम संयोजक विद्या बिष्टले दिगो विकास र युवा लक्षित कार्यक्रममा युवालाई सीप सिकाउन तालिमको आयोजना गरिएको बताउनुभयो ।
युवालयका अध्यक्ष धर्मराज रिमालले युवालाई परिवर्तनको शक्ति बनाउन उनीहरूको क्षमता विकाससँगै अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने बताउनुभयो । तीन दिने तालिममा सल्यानका दुई पालिका, दाङका ३ पालिका र कपिलवस्तुका दुई पालिका गरि जम्मा सात पालिकाका युवा क्लबका २५ जनाको सहभागी रहेको थियो ।