वायु प्रदुषण रोक्न आनीबानी सुधारमा ध्यान दिनुपर्नेमा जोड

घोराही, १४ जेठ । वायु प्रदुषण रोक्न आनीबानी सुधार गर्नुपर्ने घोराहीमा आयोजित सहभागीहरुको जोड दिएका छन् ।
स्वच्छ सफा नेपालको आयोजना र मुक्त कमलरी विकास मञ्चको समन्वय र आइएम स्वीडिस डेभलपमेन्टको आर्थिक सहयोगमा इन्टरसेक्शनल ग्रिन फ्युचर्सः एड्भान्सिङ क्लाइमेट जस्टिस फर अल परियोजना अन्तरगत बुधबार घोराहीमा आयोजित कार्यक्रममा युवा क्लब, कृषक समूह, सहकारीका प्रतिनिधि, साझेदार संस्थाका प्रतिनिधि, मुक्त कमलरी विकास मञ्चका पदाधिकारी र कर्मचारीले जलवायु न्याय सम्बन्धि छलफलका सहभागीले जलवायुका विषयमा सबै गम्भीर बन्नुपर्ने बताएका हुन् ।
घोराही उपमहानगरपालिकाका वडा नम्बर २, ४, ८, १२, १५, १६ र १७ का नेतृत्वकर्ताको सहभागीतामा गरिएको वृहत छलफलमा वातावरण स्वच्छ राख्न आनीबानीमा सुधारसँगै पर्यावरणमैत्री व्यवहार अवलम्बन गर्नु अहिलेको प्रमुख दायित्व रहेको निष्कर्ष निकालिएको छ ।
जलवायु न्याय सम्बन्धि छलफलमा सहभागी हुनु भएकी घोराही उपमहानगरपालिका वडा नम्बर १२ हापुरकी कमला चौधरीले जलवायु प्रदुषणका कारण मानिसमा विभिन्न रोग लाग्ने गरेको बताउनुभयो ।
घर तथा समुदाय वरपर सरसफाइ गर्ने, महिनामा एक दिन टोल सरसफाइ गर्ने घोराही उपमहानगरपालिका वडा नम्बर २ सुनपुरका मनोहरी चौधरीले बताउनुभयो ।
स्वच्छ सफा नेपालका कार्यक्रम संयोजक कैलाशविक्रम शाहीले नागरिकलाई जलवायु परिवर्तन न्यूनीकरण गर्दै वातावरण स्वच्छ राख्न अपनाउनु पर्ने विषयमा जानकारी गराएको बताउनुभयो ।
उहाँले जलवायु परिवर्तनले मानिसमा पार्ने असर, यसलाई न्यूनीकरण गर्न सरोकारवालाको दायित्व, नागरिकको भूमिका बिषयमा छ्लफल गरिएको बताउनुभयो ।
स्वच्छ सफा नेपालका पैरवी तथा अभियान सल्लाहकार प्रेमप्रकाश नेपालीले जलवायु परिवर्तन र चुनौतीका बारेमा जानकारी गराउनुभयो । स्वच्छ सफा नेपालले पर्यावरण जोगाउँदै वातावरण स्वच्छ बनाउने विषयमा दाङको घोराही उपमहानगरपालिकामा गठित आमा समूह, युवा क्लबमार्फत कार्यक्रम गर्दै आएको छ ।