Ad Area

महिनावारी स्वच्छता दिवसमा वक्तृत्वकला प्रतियोगिता


घोराही, १४ जेठ ।  महिनावारी स्वच्छता दिवसका अवसरमा महिनावारी हुँदा किशोरीहरुलाई चुनौति विषयक वक्तृत्वकला प्रतियोगिता गरिएको छ ।

महिनावारी मैत्री समाजका लागि सहकार्य नाराका साथ बुधबार मनाईएको महिनावारी स्वच्छता दिवसका अवसरमा घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाले घोराही १३ सेवार वनगाउँमा रहेको वाराहक्षेत्र माध्यमिक विद्यालयमा महिनावारी हुँदा किशोरीहरुलाई चुनौति विषयक वक्तृत्वकला प्रतियोगिता गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक ज्ञाननाथ योगीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्य एवम् जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख राधा पौडेलको विशिष्ट आतिथ्यमा आयोजित वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ र १० मा अध्ययनरत छात्राहरुले भाग लिएका थिए । जसमा संगीता वली प्रथम, शान्ति रोका द्वितीय, अनुजा पुन तृतीय र खुशी सुनार सान्त्वना हुनुभयो । विजेता छात्राहरुलाई नगदसहित पुरस्कृत गरिएको छ । वक्तृत्वकला प्रतियोगिताको निर्णायकमा शिक्षक छमा सुवेदी, कमला लम्साल र पत्रकार रञ्जिता अधिकारी रहनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि डिसीले महिनावारी स्वच्छता व्यवस्थापन हरेक महिलाका लागि अनिवार्य रहेको बताउनुभयो । सुरक्षित, स्वस्थ र गरिमामय महिनावारी सुनिश्चित गर्न राज्यका तीन तहका सरकारले पनि लगानी गर्दै आएको भन्दै महिनावारी स्वच्छता सबल बनाउन घरपरिवारबाट पनि साथ सहयोग आवश्यक रहेको बताउनुभयो ।

यसैगरी, उहाँले घोराही उपमहानगरपालिका बालमैत्री पालिका भईसकेको हुँदा बालबालिकाहरुका क्षेत्रमा पनि अहिले थुप्रै कार्यक्रमले निरन्तरता पाएको बताउनुभयो ।

जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख पौडेलले किशोरीहरुमा महिनावारी स्वच्छताका विषयमा सचेतना प्रदान गर्न र आत्मविश्वास जगाउन वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

महिनावारी स्वच्छता केवल स्वास्थ्यको विषय मात्रै नभई महिला अधिकार, शिक्षामा पहुँच र सामाजिक समानताको सवाल भएकाले हरेकले यो विषय आत्मबोध गर्नुपर्ने बताउनुभयो ।

महिनावारी स्वच्छताले महिनावारीलाई लाज नभई, गर्वको विषयको रूपमा लिने संस्कार विकास गर्न यस प्रकारका कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको विद्यालयका प्रधानाध्यापक योगीले बताउनुभयो ।

जनस्वास्थ्य शाखाका लुमाकान्त पोख्रेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण गोपीलाल वलीले गर्नुभएको थियो ।