Ad Area

सार्वजनिक यातायात बन्दको घोषणा


तुलसीपुर, १८ जेठ । यातायात व्यवसायीले विभिन्न ७ बुँदे माग राख्दै सोमवारदेखि अनिश्चितकालिन दाङ बन्दको घोषणा गरेका छन् । निजी सवारीसाधनलाई यात्री बोक्ने सुविधासरह सञ्चालनको अनुमति दिने गरी सबै प्रदेश सरकारले नियमावली ल्याउन लागेको भन्दै यातायात व्यवसायी आन्दोलनमा उत्रिएका हुन ।

यातायात व्यवसायीले आइतवार तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर बन्दको घोषणा गरेका हुन । ‘संविधान विपरीत’ प्रदेश सरकारले ऐन बनाई कार्यान्वयन गर्दा सार्वजनिक यातायात विस्थापित हुने अवस्था सिर्जना भएकाले आन्दोलन गर्नुको विकल्प नभएको यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय सल्लाहकार सुरेश हमालले बताए ।

उनले देशव्यापी आन्दोलनअन्तर्गत दाङमा पनि यातायात बन्द गरेको बताएको छ । आन्दोलनका क्रममा अति आवश्यक एम्बुलेन्स, स्कुल बस, प्रेस, दमकल, पानी टयाङ्कर, कृषिका गाडी बाहेक सार्वजनिक यातायात बन्द गरिने बताएका थिए । यातायात व्यवसायीको थालेको आन्दोलन सम्पूर्ण व्यवसायी, मजदुर, कर्मचारी सबैको हितमा भएकाले अवज्ञा नगर्न आग्रह गरेका थिए ।

आन्दोलन सफल बनाउन तुलसीपुरमा यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय सदस्य पवनराज बुढाथोकी, घोराहीमा यातायात व्यवसायी भरतनाथ योगी र लमहीमा नारायण न्यौपानेलाई संयोजकको जिम्मेवारी तोकिएको छ ।