गार्मेन्ट उद्योगबाट आम्दानी गर्दै महिला

दाङ, १९ जेठ । राप्ती गाउँपालिका–८ पिपरी निवासी केशरा गुरुङ सामान्य गृहिणी महिला हुन् । बिहान–साँझ घरको काम गर्ने गुरुङको दिउँसो समय फुर्सदमै बित्ने गरेको थियो । त्यही खाली समयलाई सदुपयोग गर्दै गुरुङले अहिले पिपरीमा गार्मेन्ट उद्योग सञ्चालन गर्दै आएकी छिन् । आपूmजस्तै १० जना महिलासँग मिलेर दुई वर्ष अघिदेखि पिपरीमा राप्ती महिला उद्यमी गार्मेन्ट उद्योग सञ्चालन गर्दै आएकी गुरुङले उद्योगबाट महिनामा डेढदेखि दुई लाखसम्मको कारोबार गर्ने गरेको बताउँछिन् ।
एक्लै व्यवसाय सञ्चालन गर्न आर्थिक अभावसँगै बजारको ज्ञान नहुँदा दिदीबहिनीहरूसँग मिलेर व्यवसाय सञ्चालन गरेको भन्दै सञ्चालक गुरुङ भन्छिन्, ‘घरको कामपछि दिनभर केही काम थिएन, साथीहरूसँग सल्लाह गरेर गार्मेन्ट उद्योग सञ्चालन गरेका हौँ ।’ कटाइ सिलाईको कामसँगै विद्यालयबाट ट्राउजर, भेस्ट र जर्सीलगायतका सिलाइ काम गर्ने गरेको उनले बताइन् ।
महिलाले मात्र सञ्चालन गरेको उद्योगमा सिलाइसम्बन्धी सम्पूर्ण काम महिलाले नै गर्दै आएका छन् । गार्मेन्ट उद्योग सञ्चालनका लागि कटाइ सिलाइसम्बन्धी तालिमसँगै मेसिन राप्ती गाउँपालिका र ८ नम्बर वडा कार्यालयले सहयोग गरेको थियो । उद्योग सञ्चालनका लागि राप्ती गाउँपालिका ८ नं. वडा कार्यालयबाट चारवटा सिलाइ, एउटा इन्टरलक र अर्काे छपाइसम्बन्धी मेसिन र राप्ती गाउँपालिकाबाट एउटा टाँकघर बनाउने र एउटा सिलाइ मेसिन सहयोग भएपछि आपूmहरूले १०÷१० हजार रुपैयाँ लगानी गरेर करिब एक लाख रुपैयाँबाट कपडा किनेर उद्योग सञ्चालन गरेको उनले बताइन् ।
कटाइ सिलाइसम्बन्धी आधारभूत ज्ञान पहिलै भएको भन्दै उनले गार्मेन्टसम्बन्धी तालिम भने राप्ती गाउँपालिकाको लालमटियामा गएर दुई महिना आपूmहरूले सिकेको गुरुङ बताउँछिन् । सुरुमा कसैले विश्वास नगर्दा उद्योग सञ्चालन गरेको कोठा भाडा तिर्नै मुस्किल भएको भन्दै उद्योगकी कोषाध्यक्षसमेत रहेकी गुरुङले भनिन्, ‘सुरुमा केहीले त हामीलाई रमाइलो गर्न मात्र गार्मेन्ट थालेको भने, आज तिनै कपडा सिलाउन आउँछन् । हिजो नपत्याउनेले आज विश्वास गर्दा खुसी लाछ ।’ उनका अनुसार उद्योग सञ्चालन गरेबापत मासिक १० हजार रुपैयाँ भाडा तिर्दै आएका छन् ।
महिला दिदीबहिनीहरू मिलेर सामूहिक रूपमा काम गर्दा सिपको आदानप्रदानसँगै उद्योग सञ्चालनमा सहज भएको अर्की सञ्चालक उत्तम चौधरी बताउँछिन् । दुई वर्षदेखि नियमित रूपमा उद्योग सञ्चालन भएपछि दाङसहित प्युठानबाट समेत स्कुलका कपडा सिलाउनका लागि अर्डर आउने गरेको भन्दै समूहकी उपाध्यक्षसमेत रहेकी चौधरी बताइन् । ‘अहिले गाउँघरका मात्र नभई प्युठानबाट पनि अर्डर आउने गरेको छ । विद्यालयका पोसाकदेखि खेलकुदका टिसर्ट, हाफ पाइन्ट, जर्सीसम्म सिलाउने गरेका छौँ ।’
उनका अनुसार उद्योगमा काम गर्ने उद्योगका लागि आवश्यक रकम छुट्याएर महिनामा १५ देखि २० हजार रुपैयाँसम्म तलवका रूपमा लिने गरेका छन् । उद्योग सञ्चालन गर्नेमा केशरा, उत्तमसँगै छवि गुरुङ, सुमित्रा गुरुङ, सिमा चौधरी, मिना चौधरी, हेमकला रोका, कल्पना पुन, प्रतीक्षा विक र अनु श्रेष्ठ रहेका छन् ।
महिलाले सिलाउनेदेखि बजार व्यवस्थापनसम्मको सम्पूर्ण काम आफैँ गरेर पालिकामा नमुना काम गरेको राप्ती गाउँपालिका उपाध्यक्ष कमलापति चौधरी बताउँछिन् । गार्मेन्ट उद्योग सञ्चानका लागि चाहना गरेर सहयोग मागेपछि महिलालाई उद्यमीका रूपमा विकास गर्नका लागि गाउँपालिकाले उद्योग सञ्चालनका लागि आवश्यक सिलाइ मेसिन सहयोग गरेको भन्दै उपाध्यक्ष चौधरीले त्यही सहयोगबाट राम्रो व्यवसाय सञ्चालन गरेर उदाहरणीय काम गरेको बताउँछिन् ।