Ad Area

घोराही बन्यो पूर्णखोप सुनिश्चिता तथा दिगोपना पालिका


छबि पुरी
घोराही, २१ जेठ । घोराही उपमहानगरपालिकालाई पूर्णखोप सुनिश्चिता तथा दिगोपना घोषणा गरिएको छ । घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाको आयोजनामा मंगलबार आयोजित घोषणा सभामा घोराहीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको प्रमाण पत्र जिल्ला खोप समन्वय समितिले हस्तान्तरण गरेको छ ।

राष्ट्रिय खोप तालिका अनुसार जन्मेदेखि ५९ महिनासम्मका बालबालिकालाई १३ प्रकारका रोग विरुद्धको खोप प्रदान गरिएको जेठ ९ गते सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । घोराहीमा पाँच जना शून्य डोज खोप लगाएका र ४५ जना ड्रपआउट भएका बालबालिका पहिचान गरि उनीहरुलाई पनि खोप लगाईएको छ । पालिकामा कुल ४ हजार ८ सय ३२ जना बालबालिकालाई पूर्ण खोप लगाईएको सुनिश्ति गरिएको छ ।

१६ देखि ५९ महिनासम्मका सबै बालबालिकाहरुलाई १५ महिनाभित्र पाउनुपर्ने सबै खोप दिलाई पूर्ण खोप लगाईएको सुनिश्चित गर्दा सबैले खोप लगाए नलगाएको पनि सुनिश्चित गरी छुटेकाहरुलाई खोज र खोप अभियानमार्फत खोप लगाउने काम भएको घोेराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख राधा पौडेलले जानकारी दिनुभयो ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षता तथा जिल्ला खोप समन्वय समिति संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा वक्ताहरुले घोराही उपमहानगरपालिकाले स्वास्थ्यका सुचक सुधारसँगै बालबालिकाहरुका क्षेत्रमा गर्दै आएको कामले सकारात्मक नतिजा दिएको बताउनुभयो । खोपको प्रभावकारिताले सर्ने रोगको जोखिम कम हुदै गएको अवस्थामा अब नसर्ने रोग न्यूनीकरणमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

जिल्ला समन्वय समिति प्रमुख शर्माले घोराही उपमहानगरपालिकाले खोप सुनिश्चिततामा उत्कृष्ट उपलब्धि हासिल गरेको बताउनुभयो । उहाँले नेपाल सरकारले लिएको लक्ष्यलाई पूरा गर्न सबै तह लाग्नुपर्ने बताउनुभयो । स्वस्थ शरीर नै व्यस्त जनशक्तिको मुख्य आधार भएको भन्दै उहाँले रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिन हरेक बालबालिकालाई खोप लगाउन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका कार्यालय प्रमुख तथा जिल्ला खोप समन्वय समितिका सदस्य सचिव किशोर आचार्यले शून्य खोप बालबालिका खोज्नु बालुवामा सुन खोज्नु सरह रहेको भन्दै घोराहीमा केही बालबालिका शुन्य खोप लगाएका भेटिनु खोप अभियान प्रभावकारी रुपमा सञ्चालन भएको प्रष्ट हुने बताउनुभयो । पालिकालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना गराउन जनप्रतिनिधिदेखि समुदायस्तरसम्म क्रियाशील स्वास्थ्यकर्मी, स्वयंसेवक सबैको सक्रियताले सम्भव भएको बताउनुभयो ।

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाले स्वास्थ्य क्षेत्रको नतिजामा सुधार ल्याउन सघाउने बताउनुभयो । उहाँले अब सुरक्षित मातृत्व र पोषण सुधारका क्षेत्रमा पनि काम गर्न जरुरी रहेको बताउनुभयो । नगर प्रमुख नरूलाल चौधरीले स्वास्थ्य क्षेत्रको विकासमा आफूहरूले विशेष प्राथमिकता दिएको बताउनुभयो । उहाँले सर्ने रोगको जोखिम कम गर्न यस प्रकारको अभियानले सघाएको भन्दै यसको दिगोपनाका लागि पालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो ।

उहाँले स्वस्थ नागरिक उत्पादनका लागि सामाजिक विकासका क्षेत्रमा काम भईरहेको र स्वास्थ्य सचेतनाका कार्यक्रम समुदाय स्तरमा प्रभावकारी रुपमा सञ्चालन गरिएको बताउनुभयो । महिलाहरुको पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर स्क्रिनिङदेखि स्वास्थ्य सचेतनाका कार्यक्रमलाई व्यापक बनार्ईएको बताउनुभयो । कार्यक्रममा घोराही १ काँडाखुटी शहरी स्वास्थ्य केन्द्रका बालाराम रोकाले सबैको प्रयासबाट घोराहीले समयमै यो वर्ष उपलब्धि हासिल गर्न सकेको बताउनुभयो ।

जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख राधा पौडेलको विषय प्रवेशबाट शुरु भएको कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरिक्षक बहारुलाल चौधरीले गर्नु भएको थियो ।जन्मेदेखि १५ महिनासम्मका बालबालिकाले बीसीजी, रोटा, पोलियो, एफआईपीभी, पीसीभी, डीपीटी, हेप–बी, दादुरा–रुवेला र जापानीज इन्सेफलाइटिस विरुद्धका विभिन्न चरणका खोप समय तालिकाभित्र प्राप्त गरेपछि पूर्ण खोप पाएको मानिन्छ ।

नेपालको संविधानको धारा ३५ र स्थानीय सरकार संञ्चालन ऐन, २०७४ ले नै प्रत्यक बालबालिकालाई पूर्ण खोप पाउनै पर्ने कानूनी व्यवस्था गरेको र विश्व स्वास्थ्य संगठनको प्रावधान अनुसार पनि वर्षेनि पूर्ण खोप सुनिश्चिता र दिगोपना घोषणा गर्ने गरिएको छ ।