Ad Area

सरकार र यातायात व्यवसायीबिच सहमती,नियमावली स्थगन गरेपछि बन्द फिर्ता लिने


काठमाडौं,२० जेठ । यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिन सहमत भएका छन् ।

रातो नम्बर प्लेटका सवारी साधनलाई पनि यात्रु बोक्न अनुमति दिने गरी गण्डकी प्रदेश सरकारले ल्याएको नियमावली स्थगन गर्न प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई पत्राचार गर्न तयार भएपछि यातायात व्यवसायीहरु पनि देशव्यापी चक्काजामको कार्यक्रम फिर्ता लिन सहमत भएका हुन् ।

सोमबार राति सरकारी वार्ता टोली र सार्वजनिक यातायात व्यवसायीका प्रतिनिधिबीच भएको तेस्रो चरणको वार्तामा यो सहमति भएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले प्रधानमन्त्री कार्यालयले जति चाँडो गण्डकी प्रदेश सरकारलाई पत्राचार गरेर गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गर्छ, त्यति चाँडो आफूहरुले चक्काजामको कार्यक्रम फिर्ता लिने बताए ।

वार्ताका लागि गठन भएको कार्यदलले सहमति भएका विषय समेटेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्ने, मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई पत्राचार गर्ने, प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई पत्राचार गर्ने र गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गर्ने सहमति भएको स्वाँरको भनाइ छ । संघीय सरकारसँग सहमति भए पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात बन्द भने तत्काल फिर्ता नगर्ने जनाएको छ। महासंघका अध्यक्ष  स्वाँरले गण्डकी सरकारले नियमावली स्थगन गरेपछि मात्रै बन्द कार्यक्रम फिर्ता लिने बताएका छन्।

गण्डकी प्रदेशले ‘निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चारपांग्रे तथा दुईपांग्रे सवारीले सार्वजनिक सवारीसरह यात्रु ओसारपसार गर्न सक्ने व्यवस्था’ गरेकामा यातायात व्यवसायीले यातायातका साधन बन्द गरेर आन्दोलनमा उत्रिएका थिए । जसका कारण सोमबार छोटा, मध्यम र लामा दूरीका सार्वजनिक सवारी नचल्दा दिनभर यात्रुले सास्ती खेप्नुपरेको थियो ।