राप्ती प्रतिष्ठानको ओसिएमसी हिंसापीडितको सहारा बन्दै

छबि पुरी
घोराही, २२ जेठ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) हिंसापीडितहरुको सहारा बन्दै गएको छ । शारीरिक तथा मानसिक रुपमा विक्षिप्त भई ओसिएमसीमा उपचार र सेवा लिन आएका हिंसापीडितहरुले अभिभावकीय साथ पाउँदै समस्याको निदान पाउँदा नयाँ जीवन पाएको अनुभूति गर्ने गरेका छन् ।
हिंसापीडितलाई आवश्यक पर्ने स्वास्थ्य सेवा, मनोपरामर्शलगायतका सेवा एकै ठाउँबाट दिइरहेको ओसिएमसीले हिंसापीडितलाई चोटपटक लागेको भए निःशुल्क उपचार, औषधिको व्यवस्थापन, खाना, नास्ता, कपडा र आवश्यकताका आधारमा दूरी हेरेर यातायात खर्चसमेत दिने गरेको छ । साविक राप्तीका हिंसा पीडितहरुले ओसिएमसीबाट सेवा लिन पाउँदा नयाँ जीवन पाएको अनुभूति गर्ने गरेका हुन् ।
केही महिना अघि साथीको लहलहैमा लागेर दुव्र्यसनमा फसेकी दाङ, तुलसीपुरकी १६ वर्षीया एक बालिकाले दुर्व्यसनकै कारण दुई वर्षदेखि घर छाडेकी थिइन् । बस्ने कुनै ठेगान थिएन । साथीहरुको कोठामा बस्दा आफ्नै साथीबाट बलात्कृत हुन पुगिन् । दुव्र्यसनको नशामा बलात्कृत बालिकाले १६ वर्षमै राप्ती प्रादेशिक अस्पतालमा शिशुलाई जन्म दिइन् ।
सुत्केरी भएकी बालिकाको स्वास्थ्य अवस्था गम्भीर भएपछि २०८१ मंसिर ११ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नवजात शिशु र आमाको उपचार शुरु भयो । शिशुलाई एनआइसियु र आमालाई आइसियुमा राखेर लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) घोराहीले २६ दिनसम्म स्याहार गर्यो । विरामीको साक्षी, जमानी र अभिभावकको भूमिका निभाएको ओसिएमसीले स्याहार सुसार, औषधि, खाना र अस्पताल शुल्क गरी एक लाख बढी खर्च समेत गरेपछि शिशु र आमा दुबैले नयाँ जीवन पाए ।
मृत्युको मुखमै पुगेको अवस्थामा सुत्केरीलाई पुनर्जीवन दिएर ओसिएमसीले २०८१ पुस ६ गते स्थानीय सरकारलाई जिम्मा लगाएको ओसिएमसी फोकलपर्सन स्टाफ नर्स सुस्मिता पोख्रेलले जानकारी दिनुभयो । घोराहीकी एक महिला आफ्नै श्रीमानबाट हिंसामा परेपछि आफन्तको सहारामा पुगिन् । श्रीमानको हिंसामा परेपछि मानसिक समस्याबाट ग्रस्त हुन पुगेकी उनलाई ओसिएमसीमा पुर्याइयो । त्यसपछि उपचार र परामर्शपछि ती महिलालाई न्याय दिलाउने काम भयो । ओसिएमसीमा पुर्याइएपछि विशेषज्ञ चिकित्सक र मनोपरामर्शदाताको टोलीले उनको स्वास्थ्य परीक्षण तथा मानसिक अवस्थाको मूल्यांकन गरेको थियो । उपचारपछि महिलाको अवस्था सुधार भयो ।
पीडित महिलाले श्रीमानको निरन्तर मानसिक तथा शारीरिक यातनाले आफू गहिरो मानसिक समस्यामा परेको बताएकी थिईन् । ओसिएमसीमार्फत परामर्श, कानुनी जानकारी र आवश्यकताअनुसार सेवाहरू प्रदान गरिएपछि उनलाई न्याय पाएको अनुभूति भयो । सम्बन्धित निकायहरूले महिलाको गोपनीयता र सुरक्षालाई ध्यानमा राख्दै सेवा दिने गरेको छ । हिंसापीडितलाई यहाँ उपचार सम्भव हुन नसकेको अवस्थामा रिफर गर्नु परेमा एम्बुलेन्स सेवासमेत दिने गरेको छ भने कानुनी सेवाका लागि सरोकारवालासँग सहजीकरण, सुरक्षित आवासका लागि रिफर गर्ने काम पनि ओसिएमसीले गरिरहेको छ ।
तर जनशक्ति थोरै भएकाले सेवामा खटिने स्वास्थ्यकर्मी र प्रहरीलाई भ्याइ नभ्याइ हुने गरेको छ ।‘बलात्कार घटनाका पीडितको स्वास्थ्य परीक्षण तत्काल गर्नुपर्ने अवस्थामा सेवा दिन चुनौति हुने गरेको ओसिएमसी फोकलपर्सन स्टाफ नर्स पोख्रेलले बताउनुभयो । सेवा लिन आउनेहरु जुन सुकै समयमा आउने हुँदा पर्याप्त जनशक्ति अभावमा सेवा दिन रातको समयमा पनि आउनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
स्थापनाकालमा हिंसापीडितलाई सेवाका लागि बोलाउँदै हिड्नुपरेको अवस्थाबाट अहिले पूर्वाधारसहितको सेवामा सुधार भएको पनि उहाँले बताउनुभयो । उहाँले अहिले पीडितहरु सिधै ओसिएमसीमा आएर सेवा लिने वातावरण बनेको बताउनुभयो । ‘कतिपयले रातको २ बजे फोन गरेर रुँदै मलाई श्रीमानले कुट्यो भन्दै फोन गर्नुहुन्छ’ फोकल पर्सन पोख्रेलले भन्नुभयो ‘ अप्ठेरो पर्दा पीडितले ओसिएमसीलाई सम्झनु हाम्रो सेवाप्रतिको विश्वास पनि हो । हाम्रो कमाइ पनि यही हो भन्ने लाग्छ । सेवाका लागि हामी तत्कालै उपस्थित हुन्छौँ ।’
हिंसापीडितहरुले पनि निःशुल्क सेवा पाउँदा खुशी व्यक्त गरेका छन् । ‘कुटेर घाइते बनाउने घर परिवारका आफन्त नै हुन्छन्, उनीहरुले उपचार गर्ने पैसा दिने कुरा भएन, आफ्नो कमाउने र आउने ठाउँ केही हुदैन । यो ठाउँ नभएको भए कहाँ जाने हुन्थ्यो होला । औषधि उपचार र सेवाका लागि निकै सजिलो भएको छ’ एक हिंसापीडित महिलाले भन्नुभयो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र ९ओसिएमसी० को पछिल्लो तीन वर्षको तथ्यांक अनुसार सेवा लिन आउने हिंसापीडितहरु हरेक वर्ष दुई सय भन्दा बढी छन् ।
चालु आर्थिक वर्ष २०८१–०८२ को १० महिनासम्म २ सय ४१ जना पीडितलाई सेवा दिएको छ । गत आर्थिक वर्ष २०८०–०८१ मा २ सय ७० जना पीडितलाई ओसिएमसीले सेवा दिएकोमा अघिल्लो आर्थिक वर्ष २०७९–०८० मा २ सय ८६ जनालाई स्वास्थ्य तथा मनोपरामर्श सेवा दिएको तथ्यांक छ । आर्थिक २०८१–०८२ मा बलात्कारपीडित ७३ जना, यौनजन्य दुव्र्यवहारका ९ जना, शारीरिक दुव्र्यवहारका ८२, बालविवाह तथा जबरजस्ती विवाहका ८ जना, मानसिक दुर्व्यवहारका ५७ जना र अन्य १२ गरी २ सय ४० महिला र एकजना पुरुषले सेवा लिएका ओसिएमसी फोकलपर्सन पोख्रेलले जानकारी दिनुभयो ।
यसैगरी आर्थिक वर्ष २०८०–०८१ मा बलात्कारपीडित ८५ जना, यौनजन्य दुव्र्यवहारका ९ जना, शारीरिक दुव्र्यवहारका ५० जना, बालविवाह तथा जबरजस्ती विवाहका १४ जना, स्रोत साधन र अधिकारबाट बञ्चित एक जना, मानसिक दुव्र्यवहारका ८९ जना र अन्य २२ जना गरी २ सय ६९ महिला र एकजना पुरुषले सेवा लिएका छन् ।
आर्थिक वर्ष २०७९–०८० मा बलात्कारपीडित ८६ जना, यौन दुर्व्यवहार पीडित १९ जना, शारीरिक दुर्व्यवहारका ९४ जना, बालविवाहका १७ जना, स्रोत साधन र अधिकारबाट बञ्चित भएका ५ जना, मानसिक दुर्व्यवहार खेपेका ५६ जना र अन्य ९ जना गरी २ सय ८४ महिला र २ जना पुरुषलाई सेवा दिइएको ओसिएमसी फोकलपर्सन सुस्मिता पोख्रेलले जानकारी दिनुभयो ।
ओसिएमसीमा दक्ष जनशक्ति र सेवाको प्रभावकारीताका कारण सेवा लिने हिंसापीडितको यस प्रति विश्वास बढ्दै गएको पाईएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि प्रोत्साहन गरेर उपचारमा सहयोग गरिरहेको हुँदा सेवामा सहज भएको फोकलपर्सन पोख्रेलले बताउनुभयो । अस्पताललगायत सरोकारवालाको अग्रसरताले सेवा प्रभावकारीता बढ्दै गएको अवस्थामा ओसिएमसीका लागि आवश्यक बजेट घटेर आउँदा भने चुनौति हुने गरेको उहाँले बताउनुभयो ।
२०७२ सालदेखि शुरु भएको ओसिएमसी घोराहीमा हाल फरेन्सिक एक्सपर्ट डा। सुमी महर्जन, मेडिकल अफिसर डा। नवीनविक्रम पाण्डे, स्टाफ नर्स सुस्मिता पोख्रेल र प्रहरी हवल्दार रविना बुढा गरी चार जना जनशक्तिबाट सेवा प्रदान हुँदै आएको छ ।