पन्ध्रौँ प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डको सबै तयारी पूरा

घोराही, २२ जेठ । लुम्बिनी प्रदेश स्तरीय पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८१ को सबै तयारी पूरा भएको छ । भोलि शुक्रबारदेखि दाङको बेलझुण्डी रंगशालामा उदघाटन हुन लागेको प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक प्रदेश खेलकुद परिषद, लुम्बिनीले जनाएको छ ।
जेठको २३, २४ र २५ गते तीन दिनसम्म चल्ने प्रतियोगितामा रोल्पा जिल्लाबाहेक ११ वटै जिल्लाका खेलाडी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने प्रदेश खेलकुद परिषद, लुम्बिनीका सदस्य सचिव तिरनदाज गौतमले जानकारी दिनुभयो ।
रोल्पाले तयारी नपुगेको भन्दै सहभागी नहुने जनाए पनि अरु जिल्लाबाट खेलाडी, प्रशिक्षिक र अफिसियल गरी करिब १ हजार ३ सय बढीको सहभागीतामा प्रतियोगिता हुन लागेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार, प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबलमा महिला÷पुरुष, कवड्डीमा महिला÷पुरुष, एथ्लेटिक्स तथा मार्सल आर्टमा उसु, कराँते र तेक्वान्डो गरी ६ विधाका प्रतियोगिता समावेश गरिएको छ । उक्त प्रतियोगितामा कक्षा १२ सम्म अध्ययन गर्ने वा १८ वर्ष मुनिका बालबालिका सहभागी हुनेछन् ।
जसअनुसार, एथ्लेटिक्सका सबै खेलहरु बेलझुण्डी रंगशालामा, उसु र कराँतेका खेलहरु ओम शान्ति स्केट पार्कमा, तेक्वान्दोका खेलहरु प्रदेश तेक्वान्दो हल कृष्णमन्दिरमा गर्ने गरी तालिका तयार पारिएको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार, तेक्वान्दोका खेलहरु सेन्सर प्रणालीबाट हुने भएको छ । यसैगरी, कवड्डी प्रतियोगिता संस्कार पाठशालामा, भलिबलका खेलहरु अरनिको मैदानमा हुने भएको छ ।
स्थानीय पालिकाहुँदै जिल्लामा प्रतिष्पर्धा गरेका तथा जिल्ला हुँदै प्रदेश स्तरीय प्रतियोगितामा प्रतिष्पर्धा गर्दै खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु यही जेठको २८, २९ र ३० गते काठमाडौको दशरथ रंगशालामा हुने प्रतियोगितामा भाग लिन पाउनेछन् ।
खेलकुदको विकाससँगै युवाहरुलाई अनुशासित बनाउन प्रतियोगिताले भुमिका खेल्ने प्रदेश खेलकुद परिषद, लुम्बिनीका सदस्य कैलाश रोकाले बताउनुभयो । उहाँका अनुसार, प्रदेश स्तरीय पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उदघाटन भोलि बिहान ८ बजे हुने भएको छ । प्रतियोगिताको उदघाटन लुम्बिनी प्रदेशकी उर्जा जलस्रोत तथा सिंचाईमन्त्री सीता चौधरीले गर्ने तय भएको प्रदेश खेलकुद परिषदका सदस्य कैलाश रोकाले बताउनुभयो ।
यसअघि प्रदेश स्तरीय राष्ट्रपति रनिङशिल्ड छनोट प्रतियोगिता २०८० को उपाधि बाँके जिल्लाले चुमेको थियो । बाँकेले ९ स्वर्ण, ७ रजत तथा १५ कास्य जित्दै दोस्रो पटक च्याम्पियन बनेको थियो । कपिलवस्तु जिल्ला ९ स्वर्ण, ६ रजत र ८ कास्य जित्दै दोस्रो तथा बर्दिया जिल्ला ८ स्वर्ण, ८ रजत र १० कास्य पदक जित्दै तेस्रो भएको थियो ।