प्रदेश स्तरीय पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

घोराही, २३ जेठ । दाङमा शुक्रबारदेखि लुम्बिनी प्रदेश स्तरीय पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । जिल्लाको बेलझुण्डी रंगशालामा प्रदेशभरका रोल्पा बाहेक ११ जिल्लाका खेलाडीहरुको सहभागीतामा प्रतियोगिता शुरु भएको हो । जेठको २३, २४ र २५ गते तीन दिनसम्म चल्ने प्रतियोगिताको उदघाटन लुम्बिनी प्रदेशकी उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री सीता चौधरीले गर्नुभयो ।
उत्साहका साथ प्रतियोगितामा सहभागी हुन आएका खेलाडीलाई अनुशासित रुपमा खेल प्रदर्शन गरेर भोलिको दक्ष खेलाडी बन्ने आधार बनाउन सुझाव दिनुभयो । उहाँले खेलकुदको विकाससँगै युवाहरूलाई अनुशासित बनाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
खेलले पहिचान दिने महत्वपूर्ण क्षेत्र भएको हुँदा खेलका माध्यमबाट राष्ट्र चिनाउने दक्ष खेलाडी उत्पादन गर्न यस प्रकारका प्रतियोगिताले योगदान दिने तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले बताउनुभयो ।
प्रतियोगितामा भाग लिन खेलाडी, प्रशिक्षक र अफिसियल गरी करिब १ हजार ३ सय बढीको सहभागीता भएका प्रदेश खेलकुद परिषद, लुम्बिनीका सदस्य सचिव तिरनदाज गौतमले जानकारी दिनुभयो ।
प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कक्षा १२ सम्म अध्ययन गर्ने वा १८ वर्ष मुनिका बालबालिका सहभागी हुने भएकाले तल्लो तहबाटै दक्ष खेलाडी उत्पादनमा यो प्रतियोगिताले भुमिका खेल्ने उहाँको भनाई छ ।
विगत वर्षमा लुम्बिनीले देशभरमै उत्कृष्ट प्रदर्शन गर्दै पहिलो भएको हुँदा फेरि पनि इतिहास दोहोर्याउने गरी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भईरहेको प्रदेश खेलकुद परिषद, लुम्बिनीका सदस्य सचिव गौतमले जानकारी दिनुभयो ।
प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबलमा महिला-पुरुष, कवड्डीमा महिला-पुरुष, एथ्लेटिक्स तथा मार्सल आर्टमा उसु, कराँते र तेक्वान्डो गरी ६ विधाका प्रतियोगितामा खेलाडीले प्रतिष्पर्धा गर्ने लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य कैलाश राेकाले जानकारी दिनुभयाे ।
स्थानीय पालिकाहुँदै जिल्लामा प्रतिष्पर्धा गरेका तथा जिल्ला हुँदै प्रदेश स्तरीय प्रतियोगितामा प्रतिष्पर्धा गर्दै खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु यही जेठको २८, २९ र ३० गते काठमाडौको दशरथ रंगशालामा हुने प्रतियोगितामा भाग लिन पाउनेछन् ।
निर्णायकहरुका तर्फबाट चन्द्रबहादुर गुरुङ र खेलाडीहरुका तर्फबाट मनिषा खड्काले खेल सपथ ग्रहण गर्नुभएको थियो । लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य मुक्तिप्रसाद न्यौपानेको स्वागत मन्तव्यबाट शुरु भएको उदघाटन समारोहको सहजीकरण लक्ष्मण बस्नेतले गर्नु भएको थियो ।