Ad Area

विश्व वातावरण दिवसका अवसरमा सरसफाइ


घोराही, २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा पर्यावरणीय स्वच्छताका क्षेत्रमा क्रियाशील संस्थाको अगुवाईमा सरसफाइ गरिएको छ ।

स्वच्छ सफा नेपालको आयोजना, मुक्त कमलरी विकास मञ्चको समन्वय र आइएम स्वीडिस डेभलपमेन्ट पार्टनरको आर्थिक सहयोगमा इन्टरसेक्शनल ग्रिन फ्युचर्सः एड्भान्सिङ क्लाइमेट जस्टिस फर अल परियोजना अन्तरगत बिहीबार स्थानीय युवा क्लब, कृषक, महिला समूह, सहकारीका प्रतिनिधि, साझेदार संस्थाका प्रतिनिधि, प्रहरी र सामाजिक अगुवाहरुले उपस्थितीमा घोराही उपमहानगरपालिका वडा नम्बर २ को सुर्केडाँगी क्षेत्रमा वृहत सरसफाइ गरिएको हो ।

सरसफाइसँगै स्थानीय स्तरमा वातावरणमा परिरहेको असर कम गर्न अपनाउनुपर्ने उपाय र सुधार गर्नुपर्ने पक्षका बारेमा पनि जानकारी गराईएको छ । सो क्षेत्रमा रहेको चेपे ड्याम परिसर, सुर्केडाङी गाउँका विभिन्न टोलमा सरसफाइ गरिएको स्वच्छ सफा नेपालका कार्यक्रम संयोजक कैलाशविक्रम शाहीले जानकारी दिनुभयो ।

सरसफाइका क्रममा विभिन्न स्थानबाट डेढ क्वीन्टल भन्दा बढी संकलन भएको फोहोरलाई घोराही उपमहानगरपालिका वातावरण शाखाको समन्वयमा व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

उहाँले वातावरण सँधै सफा र स्वच्छ राख्न गाउँघरका सबै नागरिकको आनीबानीमा परिवर्तन ल्याउन र सचेतना फैलान आवश्यक रहेको बताउनुभयो ।

मुक्त कमलरी विकास मञ्चका परियोजना संयोजक सुबोध चौधरीले जलवायु परिवर्तनले मानिसमा पार्ने असर, यसलाई न्यूनीकरण गर्न सरोकारवालाको उत्तिकै दायित्व रहेको बताउनुभयो । स्वच्छ वातावरण राख्न यसको शुरुवात घरपरिवारबाट गर्नुपर्ने भन्दै यसमा समुदाय, संघसंस्था र राज्यको पनि दायित्व रहेको बताउनुभयो ।