Ad Area

लुम्बिनी प्रदेशमा ‘फिल्म नगरी’ बनाउन सम्भाव्यता अध्ययन हुँदैछ-मुख्यमन्त्री केसी


घोराही २३, मंसीर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको कला संस्कृति संरक्षण सम्वर्द्धनमा प्रदेश सरकार गम्भीरतापूर्वक लागि परेको बताएका छन् । दाङको घोराहीमा बुधबार भएको उत्सर्ग संगीत अवार्ड २०७८ लाई सम्बोधन गर्दै उनले प्रदेशमा रहेका कला संस्कृतिको पहिचान र संरक्षण सम्वर्द्धनमा प्रदेश सरकारले थुप्रै योजना कार्यान्वयनमा ल्याएको र अरु प्रकृया रहेको बताए ।

पहल नेपाल र उत्सर्ग नेपालको आयोजनामा भएको अवार्ड कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका मुख्यमन्त्री केसीले प्रदेश कला साहित्य संगीत, रीतिरिवाज, भाषा, धर्म संस्कृति र प्राकृतिक रुपले भरिपूर्ण रहेको हुँदा यहाँको सम्पदालाई विश्व बजारमा पुर्याउन फिल्म नगरी बनाउने गरी काम हुन थालेको बताए । उनले भने, ‘लुम्बिनी आफैमा सुन्दर प्रदेश हो, यहाँ विविधतामा अनेकता छ । हरेक जिल्लाको आआफ्नै विशेषता छन् । त्यसैले लुम्बिनी प्रदेशमा फिल्म नगरी बनाउने गरी सम्भाव्यता अध्ययन प्रकृया अघि बढाइएको छ ।’

उनका अनुसार अध्ययन टोलीको प्रतिवेदनलाई सार्थक बनाउन प्रदेश सरकारले बजेटको सुनिश्चितता गर्ने र यहाँको पर्यटन क्षेत्रको विकासमा कोशेढुंगा सावित हुनेछ । यसैगरी, उनले प्रदेशमा भाषा, कला, संस्कृतिमा आधारित सांस्कृतिक डबलीहरु निर्माण भईरहेको र केही जिल्लामा निर्माण भईसकेको जनाउँदै प्रदेशका समृद्धिमा स्थानीय सरकारसँग समन्वय गरी अघि बढिने बताए ।

यसैगरी, कला, संस्कृति, भाषा, पहिचानको संरक्षण र सम्वर्द्धनमा लामो समयदेखि क्रियाशील कलाकारहरुको जीवन वृत्तिका विषय पनि प्रदेश सरकारले सम्बोधन गर्ने नीति बनाउन लागेको बताए । कलाकारको बिमा गर्ने नीति पनि अघि सारिएको बताए । यसैगरी, कलाकारको पक्षमा प्रदेश सरकारले वृहत योजना बनाउँदै कला संस्कृति संरक्षण प्रतिष्ठान गठन गरी एकीकृत रुपमा काम गर्ने गरी कला संस्कृतिमा समृद्ध प्रदेश बनाउने योजनामा आफु रहेको बताए । उनले दाङ, बाँके, बर्दियामा थारू संस्कृतिसँग जोडिएका ग्रामहरू निर्माण हुने, प्यूठान, अर्घाखाँची र गुल्मी, क्षेत्री बाहुन (खसआर्य) संस्कृति, परम्परा र रितिरिवाजसँग जोडिएका ग्रामहरू निर्माण गरिने बताए । पाल्पा, रूकुम, रोल्पामा मगर ग्राम, रूपन्देहीमा बहुसाँस्कृतिक ग्राम, कपिलवस्तु अवध साँस्कृतिक ग्राम र नवलपरासीमा भोजपुरी साँस्कृतिक ग्राम निर्माण हुने छन् ।

पहिलो चरणमा छवटा साँस्कृतिक ग्रामहरू निर्माण गरिने योजना रहेको बताउँदै उनले पहिलो चरणमा ६ साँस्कृतिक ग्राम निर्माण भएपनि भाषा, संस्कृति, परम्परा, रितिरिवाज, खानपानको प्रवर्द्धन विकासका लागि समेत थप बजेट व्यवस्थापन गरेर मन्त्रालय अघि बढेको जानकारी गराए ।

Blog Post Ad

उत्सर्ग संगीत अवार्डका संयोजक केएल पीडितको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले कला, संस्कृति, भाषा संरक्षणमा सरकारले अपनत्व लिनुपर्ने बताए । देशको पहिचान यिनै सांस्कृतिक विविधतामा रहेको बताउँदै सभामुख घर्तीले कलाकारहरुको पेशागत मुल्यमान्यतालाई जीवन्त बनाउन संस्कृति प्रतिष्ठानका माध्यमबाट धेरै काम गर्न सकिने हुँदा अब लुम्बिनी प्रदेश सरकारले यो विषयलाई गम्भीरताका साथ कार्यान्वयन गर्न लाग्नु पर्ने बताउनुभयो । प्रदेशमा रहनुभएका हजारौँ कलाकार, उनीहरुको योगदान र यहाँको कला, संस्कृति, विविधता, पहिचानलाई उजागर गर्न प्रतिष्ठानको माध्यमबाट सहज हुने र यहाँको सम्पदा बजारीकरणमा टेवा पुग्ने बताए ।

उत्सर्ग संगीत अवार्ड २०७८ मा राप्ती क्षेत्रमा गाइने लोकभाका, रुपान्तरण एवं राष्ट्रिय भावधाराका गीतहरु, मातृभाषाका गीतहरु, आधुनिक, पप, गजल तथा म्युजिक भिडियो विधामा ५० जनाभन्दा बढीलाई अवार्ड प्रदान गरिएको छ । जसमा राप्ती क्षेत्रका स्रष्टाहरुलाई दीर्घसाधना सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार नेपाली गीतसंगीतको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै स्रष्टाहरु दामोदर बटुवा, डा. गोविन्द आचार्य, चन्द्रकला शाह, कोमल वली, अर्जुन श्रेष्ठ, सन्तोष श्रेष्ठ, कुलानन्द गिरी, चन्द्र शर्मा, सीता आचार्य, चुल्ह्या चौधरी, झलक संगीतम्, बेझलाल चौधरी, मोहलाल चन्द आधारलगायतलाई दीर्घसाधना सम्मान प्रदान गरिएको छ । यसैगरी, अवार्ड वितरण कार्यक्रममा स्वर्गीय प्रेमप्रकाश मल्ल, स्वर्गीय जंगबहादुर गन्धर्व, स्वर्गीय मधुबाबु थापा, स्वर्गीय नारायण पाण्डे र स्वर्गीय मथुरा प्रसाद श्रेष्ठलाई मरणोपरान्त सम्मान गरिएको छ ।

त्यसैगरी लुम्बिनी प्रदेशका सभामुख एवं जनवादी कवि, गीतकार एवं संगीतकार पूर्णबहादुर घर्ती मगरलाई २५ हजार राशीको उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । यसैगरी, भाषागत तथा विधागत रुपमा पनि विभिन्न श्रष्टाहरुलाई विशेष सम्मान गरिएको आयोजकले जनाएको छ । अवार्ड तथा सम्मान कार्यक्रममा विभिन्न सांंस्कृति, सांगितिक प्रस्तुति देखाइएको थियो । यस क्षेत्रका अग्रज दिग्गज तथा श्रष्टा कलाकारहरुको उल्लेख्य उपस्थिती रहेको अवार्ड वितरण कार्यक्रमको सहजीकरण गायक चन्द्र शर्माले गरेका थिए ।

Blog Post Ad Blog Post Ad