Ad Area

अब जिल्लाका क्लब पनि ‘रेलिगेशन’मा, दाङमा मंसिर २६ गतेबाट जिल्ला फुटबल नकआउट


घोराही २३, मंसिर। दाङमा जिल्ला फुटबल नकआउट प्रतियोगिता हुने भएको छ । जिल्ला फुटबल संघ, दाङले एन्फाको कार्यक्रम अनुसार यही मंसीर २६ गतेदेखि पुस १ गतेसम्म जिल्ला फुटबल नकआउट प्रतियोगिता हुन लागेको हो ।

दाङमा जिल्ला फुटबल संघका महासचिव नरेन्द्र पुनका अनुसार जिल्लामा पहिलो पटक जिल्ला लिगका लागि तयारी स्वरुप नकआउट प्रतियोगिता हुन लागेको छ । फुटबलको स्तर सुधार गर्न, प्रतिभावान, क्षमतावान खेलाडी पहिचान गर्न तथा फुटबल क्लवहरुलाई क्रियाशील बनाउन एन्फाले नयाँ नीति बनाएसँगै प्रतियोगिता हुन लागेको हो । २६ गते दिउँसो १ बजेबाट शुरु हुने जिल्ला फुटबल नकआउट कहाँ खेलाईने भन्ने बारे टुंगो भने लागेको छैन ।

प्रतियोगितामा ७ वटा क्लबले भाग लिँदैछन् । दुई पोलमा विभाजन गरिएको छ । प्रतियोगितामा टरीगाउँ युवा क्लब, ज्ञानज्योति इनोभेटिभ एकेडेमी, सक्रिय युवा क्लब बबई, हापुरको अटल युवा क्लब, कपासीको मेघा स्पोर्ट्स युवा क्लब र घोराही १३ को बडहरा युवा क्लबले प्रतियोगितामा भाग लिएका छन् ।

उद्घाटन खेलमा बडहरा युवा क्लब र मेघा स्पोर्ट्स क्लब खेल्ने भएका महासचिव पुनले बताए । जिल्ला फुटबल नकआउट प्रतियोगितामा खेल्ने क्लबको संस्थाको प्यान नम्बर हुनुपर्ने, सम्बन्धित संस्थाको नवीकरण, बैंक खाता संचालन भएको र आर्थिक कारोबार बैंकबाट गरेको हुनुपर्ने प्रावधान रहेको महासचिव पुनले बताए । सोही आधारमा मापदण्ड पुगेका क्लबले यस पटक भाग लिएका उनले जानकारी दिए ।

जिल्ला फुटबल नकआउट प्रतियोगितामा उत्कृष्ट हुने २ वटा क्लबले जिल्ला फुटबल लिगमा स्थान बनाउने छन् । दाङमा जिल्ला फुटबल संघमा हाल १० वटा क्लब आवद्ध छन् । ती क्लवको स्तर अब जिल्ला लिगबाट निर्धारण हुने भएको छ । जिल्लामा दर्ता भएका क्लबहरुको स्तर जिल्ला लिगले निर्धारण गर्ने गरी एन्फाले नयाँ नियम बनाएकाले क्लबहरु अब सक्रिय हुने र खेलाडी उत्पादनमा केन्द्रित हुने अपेक्षा गरिएको महासचिव पुनले बताए ।

यसअघि निदाए जस्तै हुने जिल्लाका क्लबहरु अब जागेका छन् । ‘जिल्ला लिग खेल्नु पर्ने नियम बनेसँगै आफु रेलिगेशनमा झर्ने डरले क्लबहरु क्लबमा लगानी गर्ने, राम्रा खेलाडीलाई स्थान दिने, क्लबको कागजी प्रकृया चुस्त दुरुस्त राख्नेलगायत काममा ध्यान केन्द्रित हुन थालेका छन्,’ महासचिव पुनले भने, ‘यसले क्लबको गतिविधि बढ्ने मात्रै होईन फुटबल खेलाडी उत्पादनमा ठूलो भूमिका खेल्नेछ र ग्रास रुटमा राम्रा खेलाडी पहिचानमा सहज हुनेछ ।’

Blog Post Ad

जिल्ला नकआउट प्रतियोगिताबाट उत्कृष्ट भएका दुई क्लबले जिल्ला लिगमा स्थान बनाउनेछन् । जिल्लामा यस अघि नै १० वटा क्लव रहेकाले नकआउट प्रतियोगिता खेलेर आएका २ क्लबले लिगमा स्थान बनाउने हुँदा जिल्ला लिगबाट पुछारको क्लब रेलिगेशनमा जाने छ । ती क्बललाई जिल्ला नकआउटमा प्रतिष्पर्धा गर्नुपर्ने भएकाले यो पटकबाट जिल्लामा रहेका सबै क्लबहरुले क्लबका गतिविधिलाई चलायमान बनाउने गरी योजना तथा नीति बनाउन तल्लीन हुन थालेका छन् ।

महासचिव पुनका अनुसार जिल्ला लिगका लागि यसअघि रहेका १० वटा क्लबले एन्फाको कार्यक्रम अनुसार लिग खेल्नेछन् । जिल्ला नकआउट प्रतियोगिताबाट आएका क्लबहरुको हकमा भने जिल्ला फुटबल संघको बैठकले कतिवटा क्लबलाई रेलिगेशनमा राख्ने तथा बहुमत सदस्यको निर्णयबाट नकआउट चरण पार गरेर आएका क्लबहरुलाई के गर्ने भन्ने टुंगो लगाईने भएको उनले बताए । उनका अनुसार यसका लागि यही मंसीर २५ गते बस्ने बैठकले निर्णय गर्नेछ ।

यसैबीच, लुम्बिनी प्रदेश फुटबल महासंघका सहमहासचिव समीर वलीले एन्फाको पछिल्लो परिपत्र अनुसार जिल्ला नकआउट फुटबलबाट छनौट भईआएका क्बलहरुले पहिलो वर्षमै लिग खेल्न पाउने बताएका छन् । जिल्लामा रहेका १० क्बलसँग लिग खेल्दै उनीहरुले स्थान बनाउने उनको भनाई छ । रेलिगेशनमा जाने टोलीले पुनः नकआउट चरण पार गर्नुपर्ने हुँदा लिगमा सहभागी गराईने प्रावधान एन्फाले बनाएको उनले जानकारी दिए । ‘नकआउट चरण पार गरेर आएका २ क्लबले लिग खेल्न एक वर्ष कुर्ने होईन, पहिलो लिगमै ती क्लबले स्थान बनाउने छन् र लिग खेल्नेछन्,’ सहमहासचिव वलीले भने, ‘लिगको पुछारमा पर्ने क्लब रेलिगेशनमा जाने हो ।’

लुम्बिनी प्रदेशका ६ जिल्ला मात्रै हाल एन्फामा आवद्ध छन् । लुम्बिनीमा दाङ, रुपन्देही, नवलपरासी, पाल्पा, बाँके र बर्दिया जिल्ला एन्फामा आवद्ध छन् । पछिल्लो समय कपिलबस्तु र रोल्पाले पनि एन्फामा आवद्धता जनाउन कागजी प्रयास थालेको छ । देशभर ४८ जिल्लामा एन्फामा आवद्ध भएको जिल्ला फुटबल संघ रहेका छन् ।

Blog Post Ad Blog Post Ad