गड्यौला मल बनाउने तालिम सम्पन्न

घोराही, ३० जेठ । जैविक विविधता संरक्षण गर्दै वातावरण स्वच्छ बनाउन गड्यौला मल बनाउने तालिमसँगै यसको प्रयोग बारे सरोकारवालालाई तालिम दिईएको छ ।
स्वच्छ सफा नेपालको आयोजना, मुक्त कमलरी विकास मञ्चको समन्वय र आइएम स्वीडिस डेभलपमेन्ट पार्टनरको आर्थिक सहयोगमा इन्टरसेक्शनल ग्रिन फ्युचर्सः एड्भान्सिङ क्लाइमेट जस्टिस फर अल परियोजना अन्तरगत दाङको घोराहीमा दुई दिने गड्यौला मल बनाउने तालिम दिइएको हो ।
कृषक समूह, पशुपालन समूहका महिलाहरु सहभागी तालिममा गड्यौला मल बनाउन र यसको प्रयोग बारे प्रशिक्षण गरिएको हो ।
घरको भान्सा र तरकारीका बोक्रा, पातपतिङ्गरको प्रयोग गरेर गड्यौला मल बनाउन सिकाईएको छ । गड्यौला मलको प्रयोगबाट तरकारी, फलफूल र अन्नबालीको उत्पादन राम्रो लिन सकिने माटोको उर्वराशक्ति बढाउन सकिने प्रशिक्षकको भनाई छ ।
स्वच्छ सफा नेपालका प्रशिक्षक करुणा थापाले गड्यौला मल बनाउने तरिका, यसको फाइदा र गड्यौलालाई बचाइराख्न अपनाउनुपर्ने तरिका बारे जानकारी गराउनुभएको थियोे ।
तरकारीको बोक्रा, घाँसपात र सागसब्जी गड्यौलाको खाने बस्तु रहेको र सोही खानाबाट गड्यौलाले मल बनाउने बताउनुभयो । सकिने गड्यौला मल बनाउँदा नुन, अमिलो, पिरो भएका खानेकुरा, चिल्लो र माछा मासुजन्य बस्तु राख्न नहुने बताउनुभयो ।
घोराही उपमहानगरपालिका वडा नम्बर १२ हापुर बिजौरीस्थित डाँफे पशुपालन समूहकी कोषाध्यक्ष फुलमानी चौधरीले गड्यौला मलको बारेमा सुने पनि खास जानकारी थिएन । तर तालिम लिएपछि गड्यौला मल बनाउने तरिका सिकेको र अब मल बनाएर तरकारीबारीमा प्रयोग गर्ने बताउनुभयो ।
घोराही उपमहानगरपालिका वडा नम्बर २ सुकेडाँगीस्थित जलजला महिला कृषि समूहकी कोषाध्यक्ष सन्तोषी चौधरीले तालिमपछि गल्ने फोहोर व्यवस्थापनबाट हुने फाइदा बारे जानकारी लिन पाएको बताउनुभयो । फोहर व्यवस्थापन पनि हुने र मल प्रयोग गर्न पाइने भएकाले तालिम उपलब्धिमुलक भएको उहाँले बताउनुभयो ।
स्वच्छ सफा नेपालका कार्यक्रम संयोजक कैलाशविक्रम शाहीले जलवायु परिवर्तनका कारण धेरै खालका असर सिर्जना भईरहेको भन्दै पर्यावरण स्वच्छ राख्न नागरिकले आफ्नो आनीबानी र व्यवहारलाई परिवर्तन गर्दै स्वस्थ बनाउने काममा खटिन आग्रह गर्नुभयो । उहाले जलवायु परिवर्तनले मानिसमा पार्ने असर, यसलाई न्यूनीकरण गर्न सरोकारवालाको दायित्व, नागरिकको भूमिका विषयमा छलफल गर्नुभयो । स्वच्छ वातावरण राख्न घर परिवारबाट सुरुवात गर्नुपर्ने बताउनुभयो ।
घोराही उपमहानगरपालिका सरसफाइ व्यवस्थापन शाखा प्रमुख लक्ष्मण अधिकारीले वातावरणमा स्वच्छ राख्न सबैले हालेमालो गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा घोराही उपमहानगरपालिका भित्रका २, ४, ८ र १२ वडाका पशुपालक समूह, कृषक महिला समूह २७ गरी जना महिलाको सहभागिता रहेको थियो । तालिमपछि सहभागीलाई गड्यौला मल बनाउने, गमला र साढे १ किलो गड्यौला बिउँपुजीको रुपमा हस्तान्तरण गरिएको छ ।