वीपी मार्गको स्तरोन्नति, घुम्तीहरूमा ढलान

दाङ, ३० जेठ । दाङको भौगोलिक रूपमा विकट मानिने हाँसीपुर क्षेत्रलाई यातायातसँग जोड्ने वीपी मार्ग अंन्तर्गत स्वामीघाटदेखि हाँसीपुरसम्मको सडकका घुम्तीमा ढलान गर्न थालिएको छ ।
पहाडी क्षेत्रमा वर्षात्को समयमा पानीले सडक बिगार्ने भएपछि बंगलाचुली गाउँपालिका–८ अन्तर्गत पर्ने क्षेत्रमा सडकका घुम्तीमा आररसिसी ढलान भइरहेको छ । ढलान गर्दा सडक बलियो हुने र वर्षात्को समयमा पनि गाडीहरू सञ्चालन गर्न सकिने सडक पूर्वाधार विकास कार्यालय दाङका प्रमुख इन्जिनियर मनिस अर्यालले जानकारी दिएका छन् । उनका अनुसार लुम्बिनी प्रदेश सरकारको एक करोड बजेटबाट घुम्तीमा ढलान गर्ने काम जय सिताराम निर्माण कम्पनीले गरिरहेको छ ।
सडकको स्तरोन्नतिसँगै घुम्तीहरूमा ढलान गरेपछि वर्षात्को समयमा गाडी सञ्चालन गर्न सकिने भन्दै कार्यालय प्रमुख अर्यालले भने, ‘पहाडी क्षेत्रको उकालो सडक भएकाले पानीले सडक बिगार्ने भएपछि आरसिसी ढलान गर्न थालेका छौँ । ढलान भएपछि सडक बिग्रिँदैन ।’ उनका अनुसार अर्जुन खोला स्वामिघाटदेखि हाँसीपुरसम्मका करिब १०÷११ वटा घुम्तीमध्ये यो वर्ष सातवटा घुम्तीमा ढलान हुँदैछ । उक्त सडकखण्डका सबै घुम्तीमा आररसिसी ढलान गर्नुपर्ने भए पनि बजेट अभावका कारण सबै ठाउँमा ढलान गर्न नसकिएको कार्यालय प्रमुख अर्यालले बताएका छन् ।
चालु आर्थिक वर्षमा काम सक्ने गरी ढलानको काम भइरहेको भन्दै यो काम सकिएपछि वर्षातको समयमा यातायातका साधन हाँसीपुरसम्म जान सक्नेछन् । कार्यालय प्रमुख अर्यालका अनुसार बजेटले निरन्तरता पायो भने बाँकी घुम्तीमा ढलानसँगै पक्की नाला निर्माण आगामी वर्ष गरिने छ । सडकको अप्ठ्यारा ठाउँमा ढलान भएसँगै वर्षात्को समयमा पनि गाडी सञ्चालन गर्न सकिने बताउँछन् । ‘पहाडको उकालो ठाउँ भएकाले ग्राभेल गर्दा गिट्टी नअड्ने र बाटो बिग्रिने समस्या थियो’; बंगलाचुली गाउँपालिका–८ हाँसीपुर निवासी गोपाल पुनले भने, ‘यो वर्ष घुम्तीहरूमा ढलानसँगै सडक ग्राभेल भएको छ । यसले वर्षात्को समयमा पनि गाडी चल्छ कि भन्ने आशा पलाएको छ ।’
उनले प्रदेश सरकारले सडकको स्तरोन्नतिसँगै घुम्तीमा ढलान गरेर स्थानीयलाई सहज भएको भन्दै बंगलाचुलीको मुलाबारी र स्वामीघाटलाई जोड्ने अर्जुन खोला, घोराही उपमहानगरपालिका–१ र बंगलाचुली गाउँपालिका–४ लाई जोड्ने सुका खोला र वडा नं. ४ कै मुग खोलामा पुल आवश्यक रहेको बताए । सडकको अवस्थामा सुधार आए पनि खोलामा पुल नहुँदा वर्षात्मा समस्या हुने गरेको भन्दै पुल निर्माण भएपछि वर्षात्को समया दुःख बिरामीसँगै घरका लागि आवश्यक खाद्यन्नलगायतका सामग्री ल्याउन घोराही बजार जान सहज हुने बताउँछन् । प्रदेश राजधानी भालुबाङ क्षेत्रलाई घोराहीसँग जोड्ने वैकल्पिक सडकका रूपमा रहेको वीपी मार्गको घोराहीदेखि सिमलतारासम्मको सडक कालोपत्रे भइसकेको छ ।