कपिलवस्तुका महिला र किसान समूहलाई गड्यौला मल बनाउने तालिम

कपिलवस्तु, २ असार । वातावरण स्वच्छ सफा राख्न र घर भित्रको गल्ने फोहर व्यवस्थापन गर्न कपिलवस्तुका महिला र किसान समूहलाई गड्यौला मल बनाउने तालिम दिइएको छ ।
स्वच्छ सफा नेपालको आयोजना र दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको समन्वय तथा आइएम स्वीडिस डेभलपमेन्ट पार्टनरको सहयोगमा इन्टरसेक्शनल ग्रिन फ्युचर्सः एड्भान्सिङ क्लाइमेट जस्टिस फर अल परियोजना अन्तरगत आज कपिलवस्तुका कृषक समूहलाई तालिम प्रदान गरिएको हो । जलवायु परिवर्तनको असर रोक्न प्राङ्गारिक मल बनाउने बिधि सिक्न पाएकोमा स्थानीय कृषकहरु खुशी भएका छन् ।
स्वच्छ सफा नेपालका प्रशिक्षक करुणा थापाले गड्यौला मल बनाउने तरिका र यसबाट हुने फाइदा बारे जानकारी गराउनुभएको थियो । गड्यौला मल उत्पादन पछि त्यसको सही उपयोग गर्नुपर्ने बताउनुभयो ।
तरकारीको बोक्रा, घाँसपात र सागसब्जी गड्यौलाको आहारा भएको र सोही खानाबाट गड्यौलाले मल बनाउने भएकाले ध्यान दिनुपर्ने बताउनुभयो । गड्यौला मल बनाउने ठाउँमा नुन, अमिलो, पिरो भएका खानेकुरा, चिल्लो र माछा मासुजन्य बस्तु राख्न नहुने बताउनुभयो ।
स्वच्छ सफा नेपालका कार्यक्रम संयोजक कैलाशविक्रम शाहीले जलवायु परिवर्तन कम गर्न वातावरण स्वच्छ राख्न नागरिकले आफ्नो बानी र व्यवहारलाई परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले जलवायु परिवर्तनले मानिसमा पार्ने असर, यसलाई न्यूनीकरण गर्न सरोकारवालाको दायित्व, नागरिकको भूमिका विषयमा चर्चासमेत गर्नुभएको थियो । गड्यौला मल अर्गानिक भएकाले यसको प्रयोग स्वास्थ्यका लागि पनि फाइदाजनक हुने बताउनुभयो ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ४, ५, ८ र १२ का किसान, पशुपालन समूह, कृषक महिला समूहको सहभागिता रहेको थियो । तालिम पश्चात सहभागीलाई गड्यौला मल बनाउने गमला र गड्यौला बिउँपुजीको रुपमा वितरण गरिएको स्वच्छ सफा नेपालले जनाएको छ ।