विपन्न बालबालिकालाई समाज कल्याण केन्द्रकाे शैक्षिक सहयोग

घोराही, २ असार । समाज कल्याण केन्द्र नेपालले विपन्न तथा असहाय बालबालिकालाई सहयोग कार्यक्रम अन्तरगत घोराही १६ स्थित आधारभूत विद्यालय सानी अम्बापुरमा अध्ययनरत २ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।
समाज कल्याण केन्द्रकी अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष ताराबहादुर डिसीको प्रमुख आतिथ्यमा सोमबार एक कार्यक्रम गरी विद्यालयमा अध्ययनरत विपन्न असहाय तथा जेहेन्दार दुई जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको हो ।
सानी अम्बापुरमा कक्षा ३ मा अध्ययनरत झरना मल्ल र कक्षा ४ मा अध्ययरत समीर नेपालीलाई कापी कलम, झोला, ड्रेस प्रदान गरिएको छ । साथै, दुवै जना विद्यार्थीहरुलाई कक्षा १२ सम्म निशुल्क अध्ययन गराउने गरी समाज कल्याण केन्द्रले अभिभावकत्व पनि लिएको छ । कार्यक्रमका अवसरमा अन्य बालबालिकाहरुलाई पनि कापी कलम सहयोग गरिएको थियो ।
समाज कल्याण केन्द्रकी अध्यक्ष निर्मला गौतमले संस्थाले हालसम्म २० जना असहाय, विपन्न, जेहेन्दार तथा अभिभावक विहीन विद्यार्थीहरुलाई कक्षा १२ सम्म अध्ययन गराउने गरी अभिभावकत्व लिएको बताउनुभयो । जस मध्ये २ जनाले कक्षा १२ सम्मको अध्ययन पूरा गरी सकेका छन् भने २ जनाले हालै एसईईको परीक्षा दिएका उहाँले बताउनुभयो ।
कोही पनि शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर खुत्रुके अभियानमार्फत बालबालिकाको शिक्षामा लगानी गर्दै आएको समाज कल्याण केन्द्रकी अध्यक्ष गौतमले बताउनुभयो ।
मन्त्र जप्ने ओठ भन्दा सेवा गर्ने हात पवित्र हुन्छन् भन्ने मान्यताका साथ २०७३ सालदेखि संस्थाले बालबालिकाको शिक्षासँगै लागू औषध दुव्र्यसन विरुद्ध सचेतनाका कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो ।
वडा अध्यक्ष ताराबहादुर डिसीले असहाय र अनाथ बालबालिकाको निशुल्क शिक्षाका लागि खुत्रुके अभियानका माध्यमबाट समाज कल्याण केन्द्रले गर्दै आएको भुमिकाका कारण अहिले धेरै बालबालिकाहरुले शिक्षा पाउन सफल भएको बताउनुभयो ।
शिक्षित र असल नागरिक बनाउने अभियानका साथ काम गर्दै आएको समाज कल्याण केन्द्रले महिलाहरुलाई आत्मनिर्भर बनाउन विभिन्न प्रकारका सीपमुलक कार्यक्रम पनि सञ्चालन गरेर प्रशंसनीय काम गरिरहेको बताउनुभयो ।
आधारभूत विद्यालय सानी अम्बापुरका प्रधानाध्यापक गुरुप्रसाद डिसीले समाज कल्याण केन्द्रले विद्यार्थीहरुको भविष्य बनाउने संकल्पका साथ अभिभावकत्व लिएर १२ कक्षासम्म निशुल्क पढाउने वातावरण बनाई दिएको भन्दै खुशी व्यक्त गर्नुभयो ।
समुदायमा बढ्दो लागु औषध दुव्र्यसन नियन्त्रणका लागि सचेतनाका कार्यक्रम सञ्चालन गरेर समाज कल्याण केन्द्रले अनुकरणीय काम गरिरहेको निर्णय पुनस्थापना केन्द्रका व्यवस्थापक विष्णु वलीले बताउनुभयो ।
समाज कल्याण केन्द्र नेपालकी कोषाध्यक्ष सुमित्रा गौतमको विषय प्रवेश एवम् स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सदस्य पूजा योगीले गर्नुभएको थियो ।