सामाजिक उद्यमी महिला सहकारी संस्थाकाे कामकाे अनुगमन

छवि पुरी
घाेराही, ५ असार । दाङमा सञ्चालित सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले गरिरहेका काम र उनीहरुले गरिरहेका अभ्यास बारे बिहीबार जिल्ला स्तरीय अनुगमन गरिएको छ ।
सामाजिक उद्यमी महिला सहकारीले संस्थाकाे
उद्देश्य अनुसार गरिरहेका कामबाट प्राप्त गरेका उपलब्धि र आगामी याेजना बारे जानकारी लिने काम भएको हाे ।
ग्रामीण महिला उत्थान केन्द्र दाङ र हेफर ईन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित तरकारीको मुल्य श्रृंखलामा नवप्रर्वद्धनमार्फत ग्रामीण महिलाहरुको प्रतिस्पर्धात्मक क्षमता विकास परियोजना आईएएलभिसीले सामाजिक उद्यमी महिला सहकारीहरुमा गरिएकाे सहयाेगले निकै राम्रो प्रगति गरेकाे पाईएकाे छ ।
लमही नगरपालिका ७ कप्तानगञ्जमा रहेकाे दिपन सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडकी अध्यक्ष पुनम घर्ती मगरले आफ्नो सहकारी २५ जनाबाट शुरु भएर अहिले करिव १२ सय शेयर सदस्य संख्या पुर्याउँदै सहकारीकाे कुल पूँजी ६ कराेड ७६ लाख २१ लाख जाेड्न सफल भएको बताउनुभयो ।
सहकारीमा आवद्ध महिलाहरुले तरकारी खेती, पशुपालनलाई व्यावसायिक बनाउँदै आत्मनिर्भर बन्न सफल भएको बताउनुभयाे । अहिले सहकारीमा आवद्ध सदस्यहरुले दैनिक सयाैँ किलाे तरकारी उत्पादन गर्ने गरेको बताउनुभयाे । उत्पादित तरकारी सहज बजारीकरणका लागि व्यवस्थित सङ्कलन केन्द्र निर्माण गरेर बजारीकरण गर्न पूर्वाधार निर्माणकाे काम अन्तिम चरणमा पुगेको बताउनुभयाे।
साे सहकारीमा आवद्ध राप्ती कृषक सहयाेगी समूहकी अध्यक्ष रुविया चाैधरीले ग्रामीण महिला उत्थान केन्द्र र हेफरले व्यावसायिक तरकारी खेती बारे ज्ञान दिएपछि तरकारी खेतीबाट वार्षिक १६ लाख बढी आम्दानी गर्न सफल भएको बताउनुभयो ।
यस्तै, उहाँले तरकारी खेती गर्दा विषादीकाे प्रयाेग कम गर्न आफै घरेलु रुपमा तयार पारेकाे वायुजन्य विषादी, ट्राईकाेडर्मा झाेल, गाेबर मलकाे प्रयाेगमा जाेड दिएको बताउनुभयो । उहाँले घरमै गड्याैला मल बनाउन थाल्नु भएको छ ।
लमही नगरपालिका वडा नम्बर २ केरुनियास्थित समुन्नति सामाजिक उद्यमी महिला सहकारीकी अञ्जु चाैधरीले महिलाहरुले सञ्चालन गरेकाे सहकारीलाई विश्वास गरेर काम गर्ने वातावरण बनाई दिँदा अहिले कराेडाैँकाे काराेबार गर्न सक्ने भएको बताउनुभयो ।
सहकारीमा आवद्ध कृषक महिलाहरुले व्यावसायिक तरकारी खेती बारे ज्ञान लिएपछि दैनिक २ टन तरकारी उत्पादन गर्न सफल भएको बताउनुभयो ।
उहाँले निकट भविष्यमा समुन्नति सामाजिक उद्यमी महिला सहकारीले तरकारी प्रशाेधन केन्द्र सञ्चालन गर्न थालेकाे हुँदा यसबाट धेरै लाभान्वित हुने बताउनुभयो । तरकारी प्रशाेधन केन्द्रकाे भवन निर्माणका लागि १ कराेड संघ सरकारले बजेट विनियोजन गरेर पूर्वाधार निर्माणका काम भईरहेकाेे छ । उक्त प्रशाेधन केन्द्र सञ्चालन गर्न उपकरण खरिद गर्न १ कराेड रुपैयाँ आईएएलभिसी परियाेजनाले सहयाेग गर्ने भएको छ । प्रशाेधन केन्द्र सञ्चालनमा आएमा जिल्लास्थित सामाजिक उद्यमी महिला सहकारीहरुका सदस्यले उत्पादन गर्ने तरकारी प्रशाेधनसँगै बजारीकरणमा नयाँ आयाम थपिने विश्वास गरिएको छ ।
अहिले पनि संस्थाबाट प्राविधिक सहयाेग, सामग्री सहयाेग गर्दै आएकाे हुँदा आफुहरुमा काम गर्न आत्मविश्वास जागेको बताउनुभयाे ।
लमही १ सुन्डबरीस्थित निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष सीता पाैडेलले १ दशकअघि ५१ जनाबाट शुरु गरेकाे सहकारीमा करिव १५ सय बढी शेयर सदस्य पुगेको बताउनुभयो ।
सहकारीले वचत तथा ऋण, पशुपालन, दूध सङ्कलन, बजारीकरणलगायत काम गर्दै आएकाे बताउनुभयो ।
दैनिक २ हजार लिटर दूध सङ्कलन गरेर बजारीकरण गर्नुका साथै दुग्धजन्य बस्तु दही, घिउ, पनिर, कुल्फी, खुवालगायत उत्पादन गरेर बिक्री गर्दै आएकाे बताउनुभयो ।
अनुगमनमा सहभागी जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माले महिलालाई उद्यमी बनाउँदै आत्मनिर्भर बनाउन गरिएको प्रयासले सार्थकता पाएकाे बताउनुभयाे ।
उहाँले महिलाहरूमा आत्मविश्वास जगाउने कामले छाेटाे समयमा पनि कराेडाैँकाे काराेबार गरेर आर्थिक तथा सामाजिक विकासमा याेगदान दिएकाे देख्दा निकै खुशी लागेकाे बताउनुभयो ।
कार्यक्रममा हेफरका वरिष्ठ कार्यक्रम अधिकृत महेशकुमार आचार्यले तरकारीको मुल्य श्रृंखलामा नवप्रर्वद्धनमार्फत ग्रामीण महिलाहरुको प्रतिस्पर्धात्मक क्षमता विकास परियोजना आईएएलभिसीले महिलाहरुलाई आत्मनिर्भर बनाउन उद्यमशीलतालाई प्राथमिकता दिएकाे बताउनुभयो ।
विषादी घटाउँदै हरित उत्पादनमा जाेड दिएकाे,
गुणस्तरीय तरकारी फलाउन प्राङगारिक तरकारी विशेष प्राथमिकतामा राखेर काम गरिरहेकाे हुँदा हाल ३ कट्ठामा तरकारी फलाउने किसान परियाेजना समापन हुने बेलासम्म ६ कट्ठामा तरकारी फलाउन सक्ने बनाउनेे लक्ष्यका साथ काम भईरहेकाे बताउनुभयो ।
ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चाैधरीले महिला उद्यमी सहकारीको समग्र उत्पादनलाई एकद्वार प्रणालीमार्फत उत्पादन र बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको परियोजनाबाट सहकारीमा आवद्ध किसानले अपेक्षा गरिए अनुसार काम गरिरहेकाे बताउनुभयो ।
उहाँका अनुसार, तरकारी उत्पादनको क्षेत्रमा नेपालमै पहिलो पटक ग्रामीण महिला उत्थान केन्द्र दाङ र हेफर ईन्टरनेशनल नेपालको पहलमा दाङमा प्रशोधन केन्द्र स्थापना गरि कार्यान्वयन गर्न थालिएको हुँदा यसले भाेलिका दिनमा कृषि क्षेत्रमा ठूलाे सम्भावना तयार पार्ने बताउनुभयो ।
अनुगमनमा ग्रामीण महिला उत्थान केन्द्र, हेफर, जिल्लास्थित पत्रकारलगायतकाे सहभागीता रहेकाे थियाे ।