Ad Area

राप्ती नदीमा फसेकी एक बालिकाको उद्दार


दाङ, ६ असार । दाङको राप्ती नदीमा बाढीले बगाएर ल्याएको दाउरा संकलन गर्ने क्रममा टापुमा फसेकी एक बालिकाको सुरक्षाकर्मीको टोलीले उद्दार गरेको छ ।

राप्ती नदीको भेलमा बगेर आएका दाउरा संकलन गर्ने क्रममा फसेकी राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोक निवासी १३ वर्षीया बालिका रेजिना खड्कालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो ।

राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोक नजिकै राप्ती नदीमा भाई शिशिर खड्कासंगै दाउरा संकलन गर्ने क्रममा नदीमा भेल बढेपछि उनी बीच टापुमा फस्न पुगेकी थिईन् । नदीको बीच टापुमा फसेको स्थानीयले प्रहरीलाई खबर गरेपछि सशस्त्र प्रहरी बल ज्वाला माई गण भालुवाङ र इलाका प्रहरी कार्यालय भालुवाङको टोलीले रेस्क्युबोटको सहायताबाट शुक्रबार तत्कालै उद्धार गरेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक पुष्करसिंह ऐरीले जानकारी दिनुभयो ।

नदीको बीच टापुमा बालिका फसेको जानकारी पाएलगत्तै खोज तथा उद्धार टोलीसहित आवश्यक सामग्री लिएर सो क्षेत्रमा पुगेर सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बल ज्वालामाई गण भालुवाङका प्रहरी उपरीक्षक मनोज धितालले बताउनुभयो । बिहान करिव ८ बजेतिर नदीमा पुगेकी बालिका १० बजेतिर एकाएक बाढी आएपछि टापुमा फसेपछि पौने ११ बजेतिर सुरक्षाकर्मीको टोलीले उनलाई उद्धार गरेको हो ।