दाङमा जनवरीदेखि हालसम्म १ सय १४ वटा मानव अधिकार सम्बन्धी घटना

दाङमा अंग्रेजी वर्ष २०२५ को जनवरीदेखि हालसम्म १ सय १४ वटा मानव अधिकार सम्बन्धी घटना भएका छन् ।
अनौपचाारिक क्षेत्र सेवा केन्द्र इन्सेकले शुक्रबार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि दाङमा अभिलेख गरिएका घटनाहरुको प्रकाशन पूर्व अर्धवार्षिक समिक्षा कार्यक्रममा सार्वजनिक गरेको तथ्यांक अनुसार, जिल्लामा विभिन्न प्रकृतिका १ सय १४ वटा मानव अधिकार सम्बन्धी घटना अभिलेख हुँदा १ सय १५ जना पीडित भएका छन् ।
जसमा ५६ जना महिला, २० जना पुरुष र ३९ जना बालबालिकाहरु रहेका छन् । उक्त घटनामा १ सय २१ जना पीडित रहेका इन्सेक जिल्ला प्रतिनिधि जेएन सागरले जानकारी दिनुभयो ।
मानव अधिकार सञ्जालका सदस्य विनोद केसीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा इन्सेक प्रतिनिधि जेएन सागरले मानव अधिकार सम्बन्धी सबैभन्दा धेरै घरेलु हिंसाका ४३ वटा घटना भएका बताउनुभयो । बलात्कारका ३३, हत्याका ८, कुटपीटका ७ वटा घटना अभिलेख भएका उहाँले बताउनुभयो ।
उहाँका अनुसार, अभिलेख भएका घटना मध्ये राज्य पक्षबाट ७ वटा, यौन दुव्र्यवहार, दुव्र्यवहारका समान ५–५, हत्या प्रयासका ४ वटा घटना अभिलेख भएका छन् । गैरराज्य पक्षबाट १ सय ५ र अज्ञात पक्षबाट २ वटा घटना भएका हुन् ।
यसवर्ष राजनीतिक अधिकार भन्दा आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारमा उल्लेख्य सुधार हुन सकेको पनि इन्सेकले बताएको छ ।
वातावरण प्रदुषण, विपद, सडक पूर्वाधार, सार्वजनिक सेवा, शिक्षा, स्वास्थ्यका अधिकारबाट नागरिक बञ्चित भएको तथा महिना दिनसम्म विद्यालय भएको, पाँच महिनासम्म विश्वविद्यालयमा तालावन्दी हुनुका साथै सडक स्तरोन्नति नहुँदा सवारी दुर्घटना र धुलो, धुँवा प्रदुषणका कारण नागरिकले समस्या झेल्नु परेको बताईएको छ ।
घरेलु हिंसा, बालिका बलात्कार, भ्रुण हत्या, पारिवारिक हत्या, अमानवीय व्यवहार, जनप्रतिनिधिमाथि दुव्र्यवहार, शिक्षक, विद्यार्थी र महिलामाथि दुव्र्यवहारजस्ता थुप्रै घटना हुनुले मानवअधिकारको सवलीकरणमा अझै धेरै काम गर्नुपर्ने देखिएको अधिकारकर्मीहरुको भनाई छ ।
कार्यक्रममा प्रमुख अतिथि डिसीले हुमा डिसी कुनै पनि काम गर्दा बल प्रयोग गरेर नभई विवेकले काम गर्ने वातावरण बनाउन सके मात्रै मानव अधिकार सम्बन्धी घटनामा कमी आउने बताउनुभयो ।
उहाँले शून्य सहनशीलताको अवधारणालाई पालना गर्न तथा लैंगिक हिंसा निवारणका लागि सबै पक्ष संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो । जनताको आशामा राज्यले निराशा भर्न नहुने भन्दै समाज सुधार्न सबैको प्रयाससँगै सहकार्य हुनुपर्ने बताउनुभयो ।
सो अवसरमा, नागरिक समाजका पूर्व संयोजक केबी मसाल, चन्द्रराज पन्त, समाजका सचिव नारायणप्रसाद श्रेष्ठ, नेपाली कांग्रेस घोराही नगर सभापति तिलक रावत, जनमोर्चाका मेघराज भट्टराई, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक रामकुमार केसी, महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष अनिता पोख्रेल, मानव स्वास्थ्य समाजका कार्यक्रम संयोजक जुनु चौधरी, दाङ महिला जेसीजकी पूर्व अध्यक्ष सुशीला पौडेल, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका अध्यक्ष कमल गौतम, पूर्व प्रहरी खुमा खड्कालगायतले मानव अधिकार सम्बन्धी घटना न्यूनीकरणका लागि सामाजिक सचेतना अभिवृद्धि गर्न सामुहिक प्रयास हुनुपर्ने बताउनुभयो ।