फोहोर व्यवस्थापन गर्न घोराहीलाई बिन हस्तान्तरण

दाङ, ६ असार । वायु प्रदुषण न्यूनीकरण गर्दै वातावरण स्वच्छ बनाउन सार्वजनिक स्थलहरूमा फोहर व्यवस्थापन गर्न थालिएको छ । पर्यावरण स्वच्छ राख्न तथा फोहोर व्यवस्थापन गर्न घोराही उपमहानगरपालिकालाई चार वटा धातुको केज–प्रकारको फोहोर बिन हस्तान्तरण गरिएको छ ।
स्वच्छ सफा नेपालको आयोजना, मुक्त कमलरी विकास मञ्चको समन्वय र आइएम स्वीडिस डेभलपमेन्ट पार्टनरको आर्थिक सहयोगमा इन्टरसेक्शनल ग्रिन फ्युचर्सः एड्भान्सिङ क्लाइमेट जस्टिस फर अल परियोजना अन्तरगत सहयोग हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले नगरभित्रको सार्वजनिक स्थल सफा र हरियाली राख्न गरिएको सहयोग प्रति धन्यवाद दिनुभयो । घोराही उपमहानगरपालिका स्वच्छ सफा राख्न सबैको साथ सहयोग आवश्यक रहेको बताउनुभयो ।
विरित बिनहरूले खुला डम्पिङ घटाउन, फोहोर छुट्याउन प्रोत्साहित गर्न र फोहोर विसर्जन सही ठाउँमा गर्ने बानी प्रवद्र्धन गर्न मद्दत पुग्ने बताउनुभयो ।
स्वच्छ सफा नेपालका कार्यक्रम संयोजक कैलाशविक्रम शाहीले जताततै फोहोर हुँदा मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले सार्वजनिक स्थलमा हुने फोहोर ब्यवस्थापनका लागी फोहर संकलन डस्टबिन हस्तान्तरण गरिएको बताउनुभयो ।
वातावरण स्वच्छ राख्न हरेक नागरिकले आफ्नो बानी ब्यवहारलाई परिवर्तन गर्दै फोहरमैला व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो । घोराही उपमहानगरपालिका सरसफाइ व्यवस्थापन शाखा प्रमुख लक्ष्मण अधिकारीले वातावरण स्वच्छ राख्न सबैले हालेमालो गर्नुपर्ने बताउनुभयो । सार्वजनिक स्थलको फोहोर व्यवस्थापन गर्न गरिएको सहयोग प्रति उहाँले स्वच्छ सफा नेपाललाई धन्यवाद दिनुभयो ।