Ad Area

टरीगाउँ विमानस्थलका लागि बजेट व्यवस्था गर्न नागरिक समाजले पहल गर्ने


घोराही, ८ असार । नागरिक समाज दाङले जिल्लाको तुलसीपुरस्थित टरीगाउँ विमानस्थल निर्माण तथा बिस्तारका लागि सरकारले यसअघि पटक पटक आश्वासन दिएर पनि बजेट नछुट्याएको भन्दै आवश्यक बजेट व्यवस्था गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने भएको छ ।

समाजको आईतबार घोराहीमा बसेको नियमित बैठकले आगामी आर्थिक वर्ष २०८२–०८३ मा विमानस्थल बिस्तारका लागि बजेट सुनिश्चितताका लागि नागरिक समाजको एक प्रतिनिधि मण्डल प्रदेश सरकार समक्ष डेलिगेशन जाने निर्णय गरेको छ ।

यसैगरी, नागरिकसँग जोडिएको जनसरोकारका विषयमा सेवा प्रवाह गर्ने निकायहरुको अवस्था बारे अध्ययन अनुगमन गर्ने निर्णय पनि गरेको समाजका सचिव नारायणप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

बर्खा लागेसँगै खेतीपातीको अहिले सिजन शुरु भएकाले किसानलाई रासायनिक मल, उन्नत बीउबिजन, किटनाशक औषधी, कृषि औजारलगायत सामग्री सहज र सुलभ रुपमा उपलब्ध हुने वातावरण सिर्जना गर्न पनि समाजले सरोकार कार्यालयको ध्यानाकर्षण गराएको छ ।

संघीय संसदमा पछिल्लो समय केही सांसदहरुबाट भईरहेको अवाञ्छित क्रियाकलाप प्रति नागरिक समाजको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपालको संविधान २०७२ अनुसार संसदीय मूल्यमान्यता अनुसार विधिपूर्वक संसद सञ्चालन गर्न पनि सचेत गराएको छ ।

यसैगरी, नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा गत वर्षको पुस महिनादेखि लागेको ताला खुलाउन जेठ ११ गते नागरिक समाजले गरेको वृहत अन्तरक्रियाले समस्याको निकास खोज्ने वातावरण तय गरेको भन्दै उक्त कार्यमा प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गर्ने सबै पक्षलाई धन्यवाद व्यक्त गरेको छ ।

लामो समयको तालाबन्दीका कारण विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक गतिविधि रोकिएको अवस्थामा नागरिक समाजले थालेको प्रयासबाट निकास निस्किएको भन्दै समाजका संयोजक नीमबहादुर थापा, कार्यक्रम संयोजक समाजका पूर्व संयोजक चन्द्रराज पन्त, आधारपत्र प्रस्तोता पूर्व संयोजक केबी मसाल, कार्यक्रम सहजकर्ता सुशील गौतम, अनिता पोख्रेल, टिपोटकर्ताहरु लक्ष्मी आचार्य, नारायण विवश तथा निष्कर्ष प्रस्तुतकर्ता हरिप्रसाद पाण्डेय, पद्मप्रसाद शर्मालगायत सबैलाई आभार प्रकट गरिएको छ ।

साथै, विश्वविद्यालय र आन्दोलनरत पक्षसँग भएको सहमति इमान्दारीपूर्वक अक्षरस कार्यान्वयन गर्न र आगामी दिनमा यस प्रकारका कुनै पनि परिस्थिति सिर्जना नहुने गरी काम गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको समाजका सचिव श्रेष्ठले जानकारी दिनुभयो ।