Ad Area

ड्रागन फ्रुट खेतीबाट मनग्य आम्दानी


सुशीला वली
दाङ, २१ असार । लमही नगरपालिका–३ टिकुलीगढमा किसान तुलबहादुर पुन र भरतबहादुर बुढा मगरले ड्रागन फ्रुट खेतीबाट उत्साहजनक आम्दानी गरिरहेका छन् । उनीहरूले तीन बिघा जग्गा भाडामा लिएर विगत एक वर्षदेखि व्यावसायिक ड्रागन खेती गर्दै आएका छन् ।

३८ वर्षीय किसान बुढा मगरले सोचेभन्दा राम्रो आम्दानी भइरहेको बताउँछन् । गत वर्ष रोपेको ड्रागन फ्रुटले यो वर्षको असारमा उत्पादन दिन थालेको छ । उनीहरूले थोकमा प्रतिकिलो तीन सय ५० रुपैयाँ र फुटकरमा चार सय रुपैयाँका दरले फार्मबाटै ड्रागन फ्रुट बिक्री गर्दै आएका छन् ।

‘दैनिकजसो जिल्लाका धेरै ठाउँबाट माग आइरहन्छ’, बुढा मगरले भने, ‘माग भए काठमाडौंसम्म ड्रागन फ्रुट पठाउने तयारी गरिरहेका छौँ ।’ परम्परागत कृषि कर्मबाट अपेक्षित उपलब्धि हासिल नभएपछि ड्रागन फ्रुट खेती रोजेको बुढा मगर बताउँछन् । ५० लाख रुपैयाँ बढी खर्च गरेर दुई जना मिलेर ‘थुर्पा माडी बहुउद्देश्यीय कृषि, फलफूल तथा पशुपंक्षी फार्म’ दर्ता गरेर व्यावसायिक रूपमा खेती गर्दै आएको उनी बताउँछन् ।

‘अहिले पहिलो वर्ष हो, बिक्री राम्रो भइरहेको छ’, उनले भने, ‘देउखुरी क्षेत्रमा ड्रागन फ्रुट खेतीका लागि उपयुक्त हावापानी भएका कारण आम्दानी राम्रो भइरहेको छ ।’ एक सिजनमा १०० क्विन्टल उत्पादन गर्न सकिने आँकलन छ, जसबाट २५ लाख रुपैयाँ आम्दानी गर्न सकिने किसान बुढा मगरले बताए ।
ड्रागन फ्रुट उपभोग गर्ने उपभोक्ताको सङ्ख्या बढ्दै गएकाले बिक्रीमा समस्या नभएको अर्का किसान ४६ वर्षीय तुलबहादुर पुन बताउँछन् । अहिले जिल्लाको घोराही, तुलसीपुर, लमहीलगायतका ठाउँमा बिक्री भइरहेको छ भने काठमाडौं र नेपालगन्जबाट समेत माग आइरहेको उनी बताउँछन् ।

उनका अनुसार हाल दैनिक दुई क्विन्टल बढी बिक्री भइरहेको छ । ड्रागन फ्रुट खेतीबाट पर्याप्त आम्दानी हुन थालेपछि पछिल्लो समय जिल्लामा धेरै किसान आकर्षित भएका छन् । जिल्लामै उत्पादन बढ्दै जाँदा तीन÷चार वर्ष अघिसम्म प्रतिकिलो आठ सय ५० रुपैयाँमा बिक्री हुने ड्रागन फ्रुटको मूल्य बर्सेनि घट्दै गएको छ ।

विगतको तुलनामा दोब्बर मूल्यमा गिरावट भएको उनी बताउँछन् । ‘धेरै लगानी गरेर विदेश जाने र स्वदेशमा केही छैन भन्नेका लागि मिहिनेत गर्न सके ड्रागन खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ’, उनले भने । अन्य तरकारी र पशुपालनलगायतका कृषि व्यवसायमा मिहिनेत अनुसारको आम्दानी नहुने गुनासो आउने गरेको छ तर ड्रागन फ्रुट खेतीमा त्यो समस्या नरहेको किसानको भनाइ छ ।

‘दुःख नगरेर कृषिमा आम्दानी हुँदैन । आफैं खटेर काम गर्ने हो भने राम्रो आम्दानी लिन सकिन्छ’, किसान पुनले भने । एकपटक रोपेपछि लामो समयसम्म आम्दानी लिन सकिने र अन्य खेतीको तुलनामा मिहिनेत कम लाग्ने भएपछि पछिल्लो समय जिल्लामा धेरै किसान ड्रागन फ्रुटको खेतीमा व्यावसायिक रूपमा लागेका छन् ।

सिँचाइका लागि धेरै पानी आवश्यक नपर्ने र पहाडी भिरालो ठाउँमा पनि राम्रो आम्दानी लिन सकिने भएकाले धेरै किसान पछिल्लो समय ड्रागन खेतीमा लागेका हुन् । कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेका अनुसार जिल्लामा व्यावसायिक रूपमा ड्रागन फ्रुटको खेती गर्ने किसानको सङ्ख्या ३२ भन्दा बढी छ । जिल्लाको घोराही, लमही, तुलसीपुर, दंगीशरणलगायतका क्षेत्रमा ड्रागन फ्रुटको व्यावसायिक खेती हुने गरेको छ