Ad Area

राप्ती राजमार्गमा परेका खाल्डाखुल्डी पुरिँदै


दाङ, २१ असार । राप्ती राजमार्ग अन्तर्गत अमिलियादेखि खौलापास (रुकुम पश्चिम–सल्यान सिमाना) सम्मको सडकखण्डमा परेका खाल्डाखुल्डी पुर्ने काम सुरु भएको छ । राप्ती राजमार्ग अन्तर्गत करिब एक सय ३६ किलोमिटर सडकखण्डका विभिन्न स्थानमा सडक जीर्ण भएर सवारीसाधन सञ्चालनमा समस्या भएपछि सडकका खाल्डाखुल्डी पुर्ने काम सुरु भएको हो ।

राप्ती राजमार्ग अन्तर्गत अमिलियादेखि लाहुरेचौर, खारखोलादेखि श्रीनगर र श्रीनगरदेखि मोखलासम्मको सडक ठिक भए पनि अन्य सडकखण्डको अवस्था जीर्ण छ । जसले गर्दा गाडी सञ्चालनमा समस्या हुनुका साथै यात्रुले दैनिक सास्ती व्यहोर्नु पर्ने अवस्था भएपछि सडक मर्मत भइरहेको सडक डिभिजन कार्यालय दाङका प्रमुख इन्जिनियर दीपेन्द्रबहादुर विष्टले जानकारी दिएका छन् । उनका अनुसार सडक अन्तर्गत सोलाबाङ मोड, मोखला, कालाखेत, बंगेलाकुरी, पेदिखोला, जलेखर्क, सिमखोली, पहाडी मोड, खौलापासलगायतका स्थानमा सडकमा खाल्डाखुल्डी परेर बिग्रिएकाले मर्मतको काम भइरहेको छ ।

बजेट अभावका कारण सडक मर्मतमा समस्या भए पनि सडक डिभिजन कार्यालय दाङमा उपलब्ध मानव स्रोत, साधन र यान्त्रिक कार्यालय दाङको प्राविधिक सहयोगमा सडक मर्मत सुरु भएको भन्दै कार्यालय प्रमुख विष्टले भने, ‘वर्षाका कारण सडकमा परेका खाल्डाखुल्डी गहिरिँदै गएपछि मोखला, कालाखेत, बंगेलाकुरी, पेदिखोला क्षेत्रका सडकका खाल्डाखुल्डी पुर्न सुरु गरिएको छ ।’

सडक डिभिजन कार्यालय दाङका प्रमुख इन्जिनियर विष्टका अनुसार राप्ती राजमार्ग अन्तर्गत राम्रीदेखि कपुरकोटसम्मको करिब चार किलोमिटर, बागचौरदेखि रारेचौरसम्म चार किलोमिटर, हर्नेटीदेखि राम्री कपुरकोटसम्मको एक किलोमिटर र सम्भीमोडदेखि खारखोलासम्मको करिब १० किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया भइसकेको छ । ठेक्का लागिसकेको सडक खण्डमा चाँडै निर्माण कार्य सुरु गर्ने गरी तयारी भइरहेको छ । राप्ती राजमार्ग अन्तर्गत अन्य सडकखण्डमा भने अहिलेसम्म ठेक्का लाग्न सकेको छैन । उक्त सडकखण्डमा सडकको क्षमताभन्दा बढी भारवहनका सवारी सञ्चालन हुने भएकाले सडक जीर्ण अवस्थामा पुगेको छ ।