Ad Area

दाङमा डेंगु संक्रमित बढे, सचेतना जरुरी


घोराही, २२ असार । दाङमा डेंगु संक्रमित बढ्दै गएका छन् । उपचारका लागि अस्पतालमा आउने बिरामीदेखि परिक्षण गराउनेहरु पनि थपिँदै गएका छन् । मनसुनजन्य गतिविधि सक्रिय भएको बेला सरकारी स्वास्थ्य संस्था र स्थानीय तहले सचेतनाका कार्यक्रमलाई पनि तीब्रता दिएका छन् ।

पछिल्लो सरकारी तथ्यांकअनुसार दाङको घोराही र तुलसीपुरमा सबैभन्दा धेरै संक्रमित देखिएका छन् । दाङका ६ पालिकामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । सरकारी र निजी क्षेत्रको समेत गरी जेठ मसान्तसम्म १ हजार ६ सय ९८ जनामा डेंगु संक्रमण देखिएको छ । असारमा पनि संक्रमित बढेको कार्यालयले बताएको छ । जेठसम्मको रेकर्डअनुसार सबै भन्दा धेरै तुलसीपुर उपमहानगरपालिकामा ७ सय ८८ र घोराही उपमहानगरपालिकामा ४ सय ९१ जनामा डेंगु संक्रमण देखिएको छ ।

यसैगरी लमही नगरपालिकामा २ सय ४८, राप्ती गाउँपालिकामा ८३, दंगीशरण गाउँपालिकामा १९, गढवा गाउँपालिकामा ६९ जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय दाङका निमित्त कार्यालय प्रमुख उज्वल पौडेलले जानकारी दिनुभयो । जिल्लाको बबई, राजपुर, शान्तिनगर गाउँपालिका र बंगलाचुली गाउँपालिकामा भने विरामी नदेखिएको कार्यालयले जनाएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती प्रादेशिक अस्पताल, लमही अस्पताल तथा स्वास्थ्य केन्द्रमा डेंगुका बिरामी उपचारका लागि आउने क्रम बढ्दै गएको छ । राप्ती प्रादेशिक अस्पतालमा डेंगु संक्रमणका विरामी बढ्न थालेको अस्पताल प्रशासनले जनाएको छ । मनसुन शुरु भएसँगै विरामी बढ्न थालेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिनुभयो । ‘वैशाखमा एकजना मात्रै संक्रमित भेटिएका थिए, त्यसयता पानी परेसँगै विरामी बढ्न थालेका छन्’ उहाँले भन्नुभयो ‘झन असार लागेपछि बिरामी बढ्दो क्रममा रहेको देखिन्छ ।’ प्रतिष्ठानमा अहिले दैनिक जसो डेंगुका बिरामी देखिन थालेको जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७९–०८० मा दाङमा समुदायमै डेंगु फैलिदा २ हजार चार सय ५ जना विरामी परेका थिए । त्यस वर्ष एकजनाको ज्यान पनि गएको थियो । गत आर्थिक वर्ष २०८०–०८१ मा करिब ६ सयमा डेंगु संक्रमण भएको स्वास्थ्य कार्यालय दाङको तथ्यांक छ । आर्थिक वर्ष २०७८–०७९ मा जिल्लामा ६ जनामा मात्रै डेंगु संक्रमण देखिएको र आर्थिक वर्ष २०७७–०७८ मा ९ जना पुरूष र ६ जना महिला गरी १५ जनामा डेंगु संक्रमण देखिएको थियो । स्वास्थ्य कार्यालय दाङले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७६–०७७ मा ४१ जना पुरूष र ३० जना महिलामा गरी त्यस वर्ष दाङमा ७१ जनामा डेंगु संक्रमण देखिएको थियो । अहिले पनि डेंगुको जोखिम रहेकाले समुदाय स्तरमा सचेतनाका कार्यक्रम जारी राखिएको फोकल पर्सन कमल चन्दले बताउनुभयो ।

विशेषगरी बजार क्षेत्रमा जोखिम बढी रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । लमही, घोराही, तुलसीपुरलगायतका बजार क्षेत्रमा तथा सफा पानी जम्मा हुने गमला, पानी टंकी, टायर, टिन जस्ता ठाउँमा डेंगु संक्रमण गराउने लामखुट्टे पाइने भएकोले पानी जम्न नदिन कार्यालयले सबैमा आग्रह गरेको छ । ‘धेरैजसो शहरबजार क्षेत्रमा यसको प्रभाव हुन्छ’– स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख पौडेलले भन्नुभयो ‘रिपोर्टले पनि त्यस्तै देखाएको छ । तुलसीपुर, घोराही र लमहीको बजार क्षेत्रमा बढी प्रभाव परेको देखिएको छ ।’

अस्ति मात्रै घोराहीको अटो भिलेजमा सर्च एण्ड डिस्ट्रोय अभियान चलाएको उहाँले बताउनुभयो । स्वास्थ्य कार्यालयसँगको समन्वयमा गत वर्ष बढी डेंगु देखिएका बजारका ५ क्षेत्रमा खोज र नष्ट गर अभियान थालिएको छ । जसअन्तर्गत तुलसीपुरस्थित विद्युत कार्यालय क्षेत्र, खानेपानी, टेलिकम तथा राप्ती प्रादेशिक अस्पताल क्षेत्र, तुलसीपुर ६ र ९ नं. वडामा पर्ने अटोभिलेज क्षेत्र, बसपार्कको माथिल्लो घना वस्ती क्षेत्र र तुलसीपुर–६ मा पर्ने त्रिसिद्धेश्वरी मन्दिर परिसर तथा आसपासको क्षेत्रमा काम गरिएको छ ।

स्वास्थ्य कार्यालयले लमही र घोराहीमा पनि ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान चलाएको जनाएको छ । जोखिम मानिएको बजार क्षेत्रमा कार्यक्रम सञ्चालन शुरु भएको उहाँले बताउनुभयो ।

गत वर्ष साउनदेखि असोजसम्म सञ्चालन गरिएको यो अभियान यो वर्ष वर्षात शुरु भएसँगै वैशाखबाटै थालनी गरिएको उहाँले जानकारी दिनुभयो । असोज यता संक्रमण न्यून भएपछि अभियान रोकिएको थियो । अहिले वर्षा शुरु भएसँगै सबै क्षेत्र डेंगुको उच्च जोखिममा रहेको हुँदा ती क्षेत्रमा पुगेर डेंगुबारे सचेतना दिंदै लामखुट्टेका लार्भाहरु नष्ट गरिरहेको बताउनुभयो ।

उता, डेंगु संक्रमण भए कडा किसिमको ज्वरो आउने, जिउ दुख्ने, टाउको दुख्ने, आँखाको पछाडि पट्टी भाग दुख्ने, हड्डी दुख्ने जस्ता लक्षण देखिने र जटिल हुँदै जाँदा विभिन्न जटिलताहरु पनि देखिने भएकोले समयमै सचेत हुन चिकित्सकले सुझाव दिएका छन् ।

जटिल लक्षणमा शरीरमा रक्तचाप कम हुने, सेतो रक्तकोष कम हुने पनि भएकोले समयमै सचेत हुन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका फिजिसियन डा. रमेश कँडेल आग्रह गर्नुहुन्छ । ‘जमेको पानीमा डेंगु सार्ने एडिस प्रजातिको लामखुट्टेको टोकाइबाट जोगिए डेंगीबाट जोगिन सकिन्छ ।

मनसुनको समयमा नेपालमा डेंगुको प्रकोप बढी देखिन्छ’ उहाँले भन्नुभयो ‘लामखुट्टेबाट बच्न झुलमा सुत्ने, घरमा गमला, ओभरहेड, अन्डरग्राउण्ड ट्याङ्की, कुलर, एसी जस्ता पानी जम्मा हुन सक्ने ठाउँमा लामखुट्टे हुने भएकोले त्यस्तो पानी जम्मा हुने अवस्था सिर्जना नगर्ने तथा बजारमा टायर वा प्लाष्टिकजन्य वस्तुमा पानी जम्न दिनु हुँदैन ।’ डेंगु संक्रमण बढीरहेको यो बेलामा ज्वरो आएका बिरामीले डाक्टरको सल्लाहबिना औषधि सेवन गर्न नहुने उहाँ बताउनुहुन्छ ।