नेपाल परिवार नियोजन संघ दाङबाट १ लाख ४१ हजार ६ सय ७२ सेवा प्रदान

घाेराही, २१ असार । नेपाल परिवार नियोजन संघ दाङले सन् २०२४ मा १ लाख ४१ हजार ६ सय ७२ सेवा प्रदान गरेको छ । परिवार नियोजन संघमार्फत दाङसहित रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट र कपिलवस्तुमा सेवा पुर्याउँदै आएकोमा उल्लेख्य रुपमा सेवा प्रदान गरेको छ ।
जस अनुसार, परिवार नियोजन सेवा तथा परामर्श सेवा २६ हजार २ सय २५, स्त्रीरोगसँग सम्बन्धित सेवा तथा परामर्श सेवा २५ हजार ७ सय, एचआईभी एड्स सम्बन्धि परामर्श सेवा ११ हजार ४ सय ८२, गर्भवती तथा सुत्केरी पश्चातको सेवा तथा परामर्श सेवा १६ हजार ७३ सेवा प्रदान गरिएको नेपाल परिवार नियोजन संघ दाङ शाखा प्रबन्धक बसन्त खनालले जानकारी दिनुभयो ।
उहाँका अनुसार, यही अवधिमा नेपाल परिवार नियोजन संघबाट अन्य प्रजनन सेवा १४, बच्चाहरुको खोप तथा परामर्श सेवा १२ हजार ९ सय ७०, सुरक्षित गर्भपतन सम्बसेवा तथा परामर्श १ हजार ९ सय ८, विशिष्टिकृत सेवा ५ हजार ७ सय ४८, यौनरोगको उपचार तथा परामर्श सेवा २२ हजार ९ सय, बाझोपनको रोकथाम सम्बन्धि उपचार तथा परामर्श सेवा ३ सय २०, पिसाबजन्य रोगको उपचार तथा परामर्श ५ हजार ८ सय ७१, साधारण उपचार सेवा १२ हजार ४ सय ६१ सेवा प्रदान गरिएको छ ।
नेपाल परिवार नियोजन संघ दाङले आफ्ना सेवा केन्द्रहरु तथा दक्ष स्वास्थ्यकर्मीहरुमार्फत परिवार नियोजन सवा, सुरक्षित मातृत्व तथा शिशु स्याहार सेवा, सुरक्षित गर्भपतन सेवा, सुरक्षित मातृत्व सेवा, स्वेच्छिक परामर्श तथा परिक्षण सेवा दिँदै आएको जानकारी गराउनुभयो ।
पाठेघरको मुखको क्यान्सर परिक्षण सेवा र युवा सुचना केन्द्रहरुमार्फत किशोर किशोरी तथा युवा वर्गहरुका लागि प्रजनन स्वास्थ्य सेवा दिनुका साथै सुचना तथा शिक्षा सेवा र निशुल्क प्रजनन स्वास्थ्य घुम्ती शिविरहरु संचालन गरी ग्रामीण समदायका गरिव, दलित, पिछडिएका जाति जनजातिहरुको स्वास्थ्य सेवामा पहुँच बढाई सेवा प्रदान गर्दै आएको उहाँले बताउनुभयो ।
विभिन्न चेतनामुलक कार्यक्रमहरु, सुचना शिक्षा सामग्री तथा सञ्चार माध्यमको सहयोगले यौन तथा प्रजनन स्वास्थ्य सेवा अधिकारको प्रत्याभूति, अधिकारको उपयोग गर्न सक्षम बनाई स्वस्थ, जागरुक, उत्पादक तथा सबल नेतृत्वदायी जनशक्तिको निर्माण गर्ने शाखाले उद्देश्यका साथ नेपाल परिवार नियोजन संघले सेवा दिँदै आएको बताउनुभयो ।
दाङ, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट र कपिलवस्तुमा शाखाले सेवा पुर्याउँदै आएको नेपाल परिवार नियोजनले लक्षित समदाय अन्तरगत महिला, बालबालिका, किशोरकिशोरी, विपन्न वञ्चित वर्ग तथा परिवार नियोजनका सेवा दिँदै आएको बताउनुभयो । नयाँ सेवाका रुपमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर अपरेशन कल्पोस्कोपी तथा थर्माेकोगुलेटर सेवा बिस्तार गरेको र यसको प्रभावकारीता बढ्दै गएको बताउनुभयो ।
४६ औँ वार्षिक साधारणसभा सम्पन्न
नेपाल परिवार नियोजन संघ दाङ शाखाको ४६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । दाङ शाखा सभापति भरतराज देवकोटाको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य राजु खनालको प्रमुख आतिथ्यमा शनिबार घोराहीमा साधारण सभा भएको हो ।
साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि खनालले लुम्बिनी प्रदेशमा मातृ शिशु मत्यु दर धेरै भएको जिल्ला दाङ रहेको भन्दै सुरक्षित मातृत्वका लागि परिवार नियोजन संघले खेल्दै आएको भूमिका अझ प्रभावकारी बनाउन सबै क्षेत्रले सहकार्य गरेर काम गर्न ध्यान दिनुपर्ने बताउनुभयो ।
स्वास्थ्य क्षेत्र सुधारका लागि सहकार्य जरुरी रहेको औँल्याउँदै उहाँले दिगो विकास लक्ष्य पूरा गर्न स्वास्थ्यका सूचक सुधारमा अब सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो । युवा पुस्तामा लागू औषध दुव्र्यसनमा फस्दै गएको, यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्र चुनौति थपिँदै गएको हूँदा सचेतनाका कार्यक्रम केन्द्रित गरेर समुदायमा पुग्नुपर्ने बेला आएको बताउनुभयो ।
यसैगरी, नेपाल परिवार नियोजन संघकी पूर्व केन्द्रीय उपाध्यक्ष अनिता देवकोटाले महिलामैत्री र युवामैत्री सेवा प्रदान गर्दै आएको परिवार नियोजन संघको सेवा प्रभावकारी बनाउन लाग्नुपर्ने बताउनुभयो ।
नेपालमा प्रजनन स्वास्थ्य सेवालाई मौलिक हकका रुपमा स्थापित गर्न परिवार नियोजन संघले खेलेको महत्वपूर्ण रहेको बताउनुभयो । केन्द्रीय निवर्तमान उपाध्यक्ष निर्मला गौतम रेग्मीले परिवार नियोजन सेवा विकेन्द्रीकरण गरेर लैजान, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सेवा बिस्तार गर्न, स्वस्थ र योग्य नागरिक तयार पार्न यौन तथा प्रजनन स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्थानीय सरकारसँग सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख राधा पौडेल, परिवार नियोजन संघका पूर्व केन्द्रीय सदस्य गणेशराज श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका वरिष्ठ उपाध्यक्ष भरतमणि पाण्डे, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, संघका सदस्य बासुदेव रिजाल, आजीवन सदस्य गोविन्द प्रसाद न्यौपानेलगायतले धारणा राख्नु भएको थियो ।
वक्ताहरुले संस्थाको सेवाको प्रभावकारीता बढाउन सबैले साथ दिनुपर्नेमा जोड दिनुभयो । संस्थालाई दातृ निकायबाट आउने सहयोगका स्रोत कमजोर हुँदै गएको बेलामा आन्तरिक स्रोतबाट अधिकतम सेवा दिन तीन तहका सरकारसँग समन्वय र सहकार्य गर्नुपर्ने बताउनुभयो ।
साधारण सभाले संस्थाले सन् २०२४ मा गरेका कामको प्रगति विवरण तथा आगामी योजना प्रस्तुत गरिएको थियो । शाखा प्रबन्धक बसन्त खनालले नेपाल परिवार नियोजन संघ दाङबाट सन् २०२४ मा १ लाख ४१ हजार ६ सय ७२ सेवा प्रदान गरिएको बताउनुभयो ।
उहाँले जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरी घुम्ती शिविर र २ वटा सामुदायिक क्लिनिक र १ परिवार स्वास्थ्य सेवा केन्द्रमार्फत नियमित रुपमा सेवा प्रदान गर्दै आएको जानकारी गराउनुभयो ।
संस्थाको कार्य समितिमा महिला सदस्य तर्फ बालिका लम्साल, डा. शारदा गौतम, विशेषज्ञ सदस्य खुला कानुनतर्फ किरण पौडेल, अर्थ विशेषज्ञ तर्फ भेषबहादुर बिसी, स्वास्थ्य विज्ञतर्फ सदस्य रेणु श्रेष्ठ निर्वाचित हुनुभएको छ । कार्य समिति सदस्य किरण पौडेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण कोषाध्यक्ष माया पोख्रेलले गर्नु भएको थियो ।