मसिना–मर्पेस–बोजपोखरा सडक : दुई वर्षमा सक्नुपर्ने काम चार वर्षमा ३५ प्रतिशत

लीलाधर वली÷हिमाल महरा
दाङ, २५ असार । दाङमा निर्माण व्यवसायीको लापरवाहीका कारण दुई वर्षमा स्तरोन्नति गरिसक्नु पर्ने सडक चार वर्ष बितिसक्दा करिब ३५ प्रतिशत मात्र सकिएको छ । घोराही–मसिना–मर्पेस–बोजपोखरा हुँदै प्युठानको स्वर्गद्वारी जोड्ने ग्रामीण सडक निर्माण व्यवसायीको लापरवाहीका कारण स्तरोन्नति हुन सकेको छैन ।
घोराही–मसिना–मर्पेस–बोजपोखरा हुँदै प्युठानको स्वर्गद्वारी जोड्ने सडक अन्तर्गत घोराही उपमहानगरपालिका–१८ सिस्ने खोला पुलदेखि बंगलाचुली गाउँपालिका–२ धिमधिमे लेकसम्मको करिब ११ किलोमिटर सडक स्तरोन्नति दुई वर्षभित्र सक्ने गरी २०७८ वैशाखमा स्वच्छन्द वर्डवाइड जेभी काठमाडौंसँग करिब १२ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार अहिलेसम्म पाँच करोड बराबर खर्च भएको छ । ठेक्का सम्झौता अनुसार २०८० वैशाख मसान्तभित्र सक्नुपर्ने काम अहिलेसम्म आधा पनि हुन सकेको छैन । जसले गर्दा उक्त सडक भएर स्वर्गद्वारी दर्शन गर्न जाने भक्तजनसँगै बंगलाचुलीवासीलाई घोराही आउन समस्या हुने गरेको छ ।
सडक पूर्वाधार विकास कार्यालय दाङका अनुसार निर्माण कम्पनीले अहिलेसम्म करिब ३० देखि ३५ प्रतिशत सडक स्तरोन्नतिको काम गरेको छ । उक्त सडक अन्तर्गत मसिनादेखि पाखापानीेसम्मको केही स्थानमा साँघुरो सडक विस्तार गर्नेदेखि नाला निर्माण, कल्भर्ट, ह्याम्पपाइप राख्ने, पहिरोको जोखिमयुक्त ठाउँमा वाल लगाउनेदेखि जाली राख्ने काम गरेको सडक पूर्वाधार विकास कार्यालय दाङका प्रमुख मनीष अर्यालले जानकारी दिएका छन् ।
ठेक्का सम्झौता अनुसार २०८० वैशाखसम्म सडक स्तरोन्नतिको काम नसकिएपछि कार्यालयले पहिलो पटक २०८१ फागुनसम्मका लागि म्याद थप गरेको थियो । उक्त समयमा निर्माण व्यवसायीले काम नगरेर सडक अलपत्र पारेको कार्यालय प्रमुख अर्याल बताउँछन् । समयमै काम सम्पन्न गर्न कार्यालयले पटक–पटक ताकेता गर्दा निर्माण व्यवसायीको बेवास्ताका कारण सडक निर्माणमा ढिलाइ भइरहेको भन्दै कार्यालय प्रमुख अर्यालले भने, ‘निर्माण व्यवसायीलाई काम गर्न भन्दाभन्दै हामी आजित भइसक्यौँ तर काम हुन सकेको छैन ।
ठेक्का तोडौँ भने बाटो झन समस्यामा फस्छ कि भन्ने लागेको छ ?’ उनका अनुसार म्याद थप गर्दा पनि सडकको काम नहुने अवस्था देखिएपछि अहिले म्याद थप भएको छैन । सडक निर्माणको जिम्मा पाएको स्वच्छन्द वर्डवाइड जेभीले काम नगरेर पेटी ठेकेदारका रूपमा जेएनबी कन्स्ट्रक्सन प्रालि काठमाडौंलाई सडक स्तरोन्नतिको जिम्मा दिएको थियो । उक्त निर्माण कम्पनीले सडक निर्माणमा ढिलाइ गरेकै कारण अहिलेको अवस्था सिर्जना भएको भन्दै सडक निर्माणको ठेक्का पाएको स्वच्छन्द वर्डवाइड जेभीले म्याद थप भए आफैँ काम गर्ने बताएको कार्यालय प्रमुख अर्याल बताउँछन् । कार्यालय प्रमुख अर्यालका अनुसार निर्माण कम्पनीले म्याद थपका लागि सडक पूर्वाधार कार्यालयमा निवेदन दिएको छ ।
सम्झौता मितिमा सडक स्तरोन्नतिको काम नसकिएपछि स्वच्छन्द वर्डवाइड जेभीले म्याद थपका लागि निवेदन दिएको तर कार्यालय म्याद थपको पक्षमा नरहेको बताउँछन । खरिद ऐनको १४ औँ संशोधन अनुसारको म्याद थपका लागि निर्माण व्यवसायीले आग्रह गरे पनि उक्त सडक निर्माणमा निर्माण व्यवसायीकै तर्फबाट ढिलाइ भएकाले अहिलेसम्म म्याद थपका प्रक्रिया अघि नबढाइएको बताएका छन् ।
स्तरोन्नतिमा ढिलाइ हुँदा वर्षादको समयमा सडकमा पहिरोसँगै खाल्डाखुल्डीका कारण सडक अवरुद्ध हुने भएकाले स्थानीयलाई घोराही बजार आउन, तीर्थयात्रीलाई प्युठानको स्वर्गद्वारी तथा स्युजामा रहेको उजा भगवतीको मन्दिर जान समस्या हुने गरेको बंगलाचुली गाउँपालिका–२ मर्पेस निवासी बलदेव मल्ल बताउँछन् । मल्लका अनुसार निर्माण व्यवसायीले काम नगरेर सडक अलपत्र पार्नेदेखि काम गरेका स्थानीयलाई पारिश्रमिक समेत नदिएर ठगेको बताए ।
‘सडकको अवस्था विजोग छ, वर्षाद्को पानीका सडकमै बग्दा सडकको कतिपय ठाउँमा बनाएको पक्की नालासमेत भत्किएका छन्’, स्थानीय मल्लले भने, ‘तर निर्माण व्यवसायीले बनाएको पक्की नालाबाट पानी बग्ने व्यवस्थापन समेत गर्न सकेको छैन ।’ वर्षा हुनुभन्दा पहिले नाला सफा गरेर सडकको पानी नालामा बग्ने अवस्था बनाउन सकेको भए नालासँगै बाटो संरक्षण हुने, स्थानीयलाई हिडडुल गर्न सहज हुने मल्ल बताउँछन् ।