Ad Area

एसीसी यु–१६ कप विजेता खेलाडी र प्रशिक्षकलाई दाङ क्रिकेट संघद्वारा सम्मान


घोराही, २६ असार । दाङ जिल्ला क्रिकेट संघले एसीसी मेन्स यु–१६ इस्टर्न जोन कप विजेता टोलीका सदस्य र सहायक प्रशिक्षकलार्ई घोराहीमा विजयी र्यालीसहित भव्य रुपमा सम्मान गरेको छ ।

जिल्ला क्रिकेट संघले विजेता टोलीका महत्वपूर्ण सदस्य दाङको लमही नगरपालिका वडा नम्बर ५ निवासी शुभम खनाल र टोलीका सहायक प्रशिक्षक घोराही उपमहानगरपालिका वडा नम्बर १३ निवासी सञ्जु क्षेत्रीलाई घोराहीमा विजयी र्यालीसहित भव्य रुपमा सम्मान गरेको हो । जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाको अध्यक्षता तथा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतमको प्रमुख आतिथ्यमा बिहीबार घोराही बजारमा विजयी र्यालीसहित खेलाडी र प्रशिक्षकलाई भव्य रुपमा सम्मान गर्दा जिल्लास्थित खेल सम्वद्ध व्यक्ति, शुभेच्छुकलगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव गौतमले खेलाडीको हौसला बढाउन र खेल भावनाको विकास गर्न खेलाडीहरुको सम्मान आवश्यक रहेको बताउनुभयो । नेपालमा पछिल्लो समय निकै रुचाईएको क्रिकेटको विकासमा उमेर समुहका खेलाडीको ठूलो योगदान रहने बताउँदै दाङ पनि क्रिकेटको राम्रो सम्भावना बोकेको जिल्ला बन्दै गएको प्रमाणित भएको विश्वास व्यक्त गर्नुभयो ।

घोराही उपमहानगरपालिका नगर खेलकुद विकास समितिका संयोजक नरेन्द्र पुनले खेलको समग्र विकासका लागि सबैको साथ आवश्यक पर्ने बताउनुभयो । खेलबाट सकारात्मक नतिजा हासिल गर्न धेरै कुराको लगानी चाहिने भन्दै लगानी गर्ने सवालमा राज्य अझै उदार बन्न नसकेको बताउनुभयो ।

दाङमा क्रिकेटको पूर्वाधारसँगै खेलाडी उत्पादनको राम्रो सम्भावना बोकेको जिल्लाका रुपमा उदाउँदै गएको देख्दा आफुलाई निकै गर्व महसुस भईरहेको जिल्ला अध्यक्ष मजगैयाले बताउनुभयो । दाङबाट प्रतिनिधित्व गर्दै उमेर समुहका खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर प्रभावशाली प्रदर्शन गरेर देशकै शीर ठाडो बनाउँदा यसले धेरै कुराको सम्भावना उजागर गरेको बताउनुभयो ।

दाङले पनि अवसर पायो भने प्रमाणित गर्न सक्छ भन्ने गतिलो उदाहरण शुभम बनेको भन्दै आगामी दिनमा जिल्लाको क्रिकेट विकासका लागि आफु केन्द्रिय सदस्यको हैसियतले पहल अझ सहज भएको बताउनुभयो । दाङकाे नाम राख्दै देशका लागि खेल्न याेग्य खेलाडी बनाउन भुमिका खेल्ने सबैलाई उहाँले स्मरण पनि गर्नुभयाे ।

सहायक प्रशिक्षक क्षेत्रीले आफुले पाएको जिम्मेवारीलाई निर्वाह गर्दै देशकै ईज्जत माथि उठाउन सफल भएको भन्दै सहयोग गर्ने सबैलाई सम्झनुभयो । अभिनन्दन तथा सम्मान कार्यक्रममा शुभम खनालका अभिभावक, खेलाडी, दाङ क्रिकेट संघका पदाधिकारी, खेल सम्वद्ध व्यक्तिलगायतको भव्य सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण किशोरचन्द्र गौतमले गर्नुभएको थियो ।

गत असार ८ गतेदेखि मलेसियामा भएको खेलमा २१ गते शनिबार नेपालले सिङ्गापुरलाई दुई विकेटले पराजित गर्दै उपाधि जितेको थियो । प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, सिङ्गापुर, इन्डोनेसिया, भूटान, जापान, हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार सहभागी थिए । यसअघि नेपालले सन् २०१७, २०१९, २०२३ मा उपाधि जितेको थियो ।