खेलकुद परिषदद्वारा लुम्बिनीका युवा क्रिकेटरलाई नगदसहित सम्मान

छवि पुरी
घाेराही, २६ असार । एसीसी मेन्स यु– १६ इस्टर्न जोन कप विजेता नेपाली युवा क्रिकेट टिमका महत्वपूर्ण सदस्य दाङका शुभम खनाल, कपिलवस्तुका रौनक श्रीवास्तव र दाङका सहायक प्रशिक्षक सञ्जु क्षेत्रीलाई अभिनन्दन गर्दै नगदसहित सम्मान गरिएको छ ।
खेलकुद परिषद लुम्बिनीले बिहीबार प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा एक कार्यक्रम गरी एसीसी मेन्स यु– १६ इस्टर्न जोन कप विजेता बनेका टोलीका सदस्यद्वय खनाल र श्रीवास्तवसहित सहायक प्रशिक्षक क्षेत्रीलाई सम्मान गरेको खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतमले जानकारी दिनुुभयो ।
उहाँका अनुसार, लमही ५ का शुभम खनाल र कृष्णनगर नगरपालिका १ का श्रीवास्तवलाई जनही १ लाख, सहायक प्रशिक्षक घाेराही उपमहानगरपालिका १३ का क्षेत्रीलाई ५० हजारसहित सम्मान गरिएको छ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै सम्पूर्ण देशबासीको शीर उँचो बनाएको भन्दै उपाधि जितेका खेलाडीको सम्मान स्वरुप लुम्बिनीबाट प्रतिनिधित्व गरेका खेलाडी र सहायक प्रशिक्षकलाई पुरस्कृत गरिएको उहाँले बताउनुुभयो ।
लुम्बिनी प्रदेशबाट सहभागी हुँदै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनेका रौनक श्रीवास्तव र कसिलो बलिङ गर्दै विपक्षी टीमलाई धरासयी बनाउन योगदान दिएका शुुभम खनाल तथा खेलाडीको मनोबल उच्च राख्दै प्रतियोगितामा शतप्रतिशत नतिजा ल्याउन भुमिका खेल्नुभएका सहायक प्रशिक्षक सञ्जु क्षेत्रीले यस क्षेत्रको पहिचान माथि उठाउन अतुलनीय योगदान दिएवापत पुरस्कृत गरिएको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य कैलाश रोका मगरले बताउनुुभयो ।
खेलाडीहरुको मनोबल उच्च राख्न र क्रिकेटको विकासका लागि प्रदेश खेलकुद परिषदले खेलाडी र प्रशिक्षकलाई सम्मान गरेर सराहनीय काम गरेको नेपाल क्रिकेट संघ क्यानका केन्द्रिय सदस्य तथा दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाँले बताउनुुभयो । नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको क्रिकेटको क्षमता उजागर गर्दै उपाधिसहितको नतिजा भित्र्याउँदा सिंगो देशले सम्मान गर्दा क्रिकेटमा लाग्न अझ जिम्मेवारी थपिएको खेलाडी खनालले बताउनुुभयो ।
ब्याटर रौनक श्रीवास्तव एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको सर्वाेत्कृष्ट खेलाडी बन्दा उहाँले १ शतक र १ अर्धशतकसहित २ सय ९६ रन बनाउनुुभयो । यसैगरी प्रतियोगितामा नेपालका शुभम् खनालले १२ विकेट लिनुुभयो ।
गत असार ८ गतेदेखि मलेसियामा भएको खेलमा २१ गते शनिबार नेपालले सिङ्गापुरलाई दुई विकेटले पराजित गर्दै उपाधि जितेको थियो । प्रतियोगितामा आयाेजक मलेसियासहित नेपाल, सिङ्गापुर, इन्डोनेसिया, भूटान, जापान, हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार सहभागी थिए । यसअघि नेपालले सन् २०१७, २०१९, २०२३ मा उपाधि जितेको थियो ।